कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

सिरहा — नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विष्णुपुर गाउँपालिका-३, राजपुरका विजयकुमार यादवसँग नापी सर्वेक्षक जितेन्द्रकुमार ठाकुरले कित्ताकाटकै लागि ४० हजार रुपैयाँ घूस मागेका छन् । तर, आर्थिक रूपले विपन्न विजयले घूस रकम तिर्न नसक्दा उनको कामै भएको छैन ।

अदालतमा अंश मुद्दामा मिलापत्र भएपछि कित्ताकाटका लागि उनी एक महिनादेखि नापी कार्यालयमा धाइरहेका छन् । बुधबार नापी कार्यालयमा रिपोर्टिङका लागि गएका कान्तिपुरकर्मीले कर्मचारीले हाकाहाकी घुस मागेको भिडियो नै रेकर्ड गरेका छन् ।

भिडियोमा पीडित सेवाग्राहीले आफू गरिब भएको र त्यति रकम तिर्न नसक्ने भनेपछि कर्मचारीले कम्तीमा २० हजार लाग्ने बताएका छन् । सेवाग्राहीले २० हजारभन्दा पनि कम गरिदिन आग्रह गर्छन् । तर, कर्मचारीले भने त्योभन्दा कम हुँदै नहुने भनेका छन् । र, उनलाई जतिबेला पनि २० हजार लिएर आउनु अनि काम गराउनु भनेका छन् ।

घूस मागेको भिडियो रेकर्ड भइसकेपछि यसरी घुसबाट उठाउने पैसा आफैंले राख्ने गरेको कि बाँडफाँट गर्ने गरेको भन्ने हाम्रो प्रश्नमा ती कर्मचारी कार्यालय प्रमुख विशालकुमार झाको मुखतिर हेर्दै केही पनि भनेन् । यस विषयमा प्रतिक्रिया माग्दा कार्यालय प्रमुख झाले कारबाही नै सबैकुरा नहुने भन्दै गल्ती स्वीकार्दै समाचार रोकिदिन आग्रह गरेका थिए।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने घूस लेनदेनको विषय अख्तियारसँग सम्बन्धित विषय भएको र आफ्नो क्षेत्राधिकारको विषय नभएको प्रतिक्रिया दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले यस विषयमा उजुरी आए अनुसन्धान र आवश्यक कानुनी कारबाही हुने प्रतिक्रिया दिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×