कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हुलाकी मार्गमा खाल्डैखाल्डा

लक्ष्मी साह

बारा — मधेसको ‘लाइफलाइन’ मानिने पुर्व-पश्चिम हुलाकी मार्ग जीर्ण बनेको छ । नियमित मर्मतसम्भार र स्तरोन्नतिको काम नहुँदा सडकमा खाल्डैखाल्डा छन् । कालोपत्रे भएको पाँच वर्ष नपुग्दै महागढीमाई नगरपालिकाको बरियार इनर्वा चोकदेखि सिम्रौनगढ नगरपालिका-११ अन्तर्गत पर्ने लक्षमीनिया टोलको अरुवा खोल्लासम्मको १७ किमि सडकमा कालोपत्रे उप्किएर खाल्डैखाल्डा बनेको छ ।

हुलाकी मार्गमा खाल्डैखाल्डा

त्यो बेला झन्डै ४० करोडको खर्चमा उक्त मार्गमा कालोपत्रे गरिएको थियो । हुलाकी मार्ग आयोजना वीरगन्जका एक अधिकारीकाअनुसार रमण/लोकवीर निर्माण कम्पनीले चार वर्ष लगाएर कालोपत्रे गरेको थियो । यही सडकले रौटहटको गौर र बाराको कलैयासहित वीरगन्ज सडक जोडेको छ । अति व्यस्त यी मार्गमा पर्ने थलही र तियर खोलामा निर्मित पुलमासमेत चिरा परेर ‘पीसीसी’ को भित्री फलामका डन्डीहरु देखिन थालेको छ ।

१७ किलोमिटर दुरीसम्मैको यो मार्गमा छेउ र बीचमा ठुला, लामा र गहिरा खाल्डा परेकाले सवारी दुर्घटनासमेत दैनिकरुपमा हुने गरेको छ । जीर्ण यो मार्गमा ज्यानको जोखिम मोलेर सवारी चलाउनु परेको सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका अशोक जयसवाल बताउँछन् । ‘यही मार्गबाट मधेस प्रदेशका मुख्यमन्त्री आफ्ना गृह नगर आउजाउ गर्नुहुन्छ । संघीय मन्त्रीहरु पनि आवागमन भइरहन्छ । तर जीर्ण सडक टाल्ने गराउने तर्फ पहल वा निर्देशनतिर ध्यान दिनुहुन्न,’ उनले भने ।


प्राविधिकहरुकै शब्दमा कालोपत्रेको ‘डिजाइन’ नै कमजोर ‘क्वालिटी’ को भएकोले छिट्टै जीर्ण भएको हो । कम खर्चमा छिट्टो निर्माण गरिसक्ने नीतिअन्तर्गत लामो समयसम्म टिकाउ हुन नसक्ने ‘डिभीएसटी’ नामको कमजोर प्रविधिको कालोपत्रे गरिएकोले भत्किरहेको हुलाकी मार्ग आयोजना वीरगन्जका सुचना अधिकारी इन्जिनियर संजयकुमार ठाकुरले बताए ।

उनकाअनुसार ५ करोड ८० लाखमा मरम्मतसहित एक ‘लेयर’ कालोपत्रे थप्ने ठेक्का भइसकेको छ । तर कार्य सुरु हुन बाँकी छ । ‘आउँदो असारसम्म यी कार्य पूरा हुन्छ,’ उनले भने । उनका अनुसार जीर्ण हुनुकाे मुख्यकारण नै कमसल सामाग्री प्रयोग र कमजोर डिजाइन हो । ‘जीर्ण हुनुको मुख्य कारण नै कमसल सामाग्री प्रयोग र कमजोर ‘डिजाइन’ तथा ‘इस्टीमेट’ हो, त्यसैले कालोपत्रे फुटने/ चर्किने समस्या स्वभाविक हो,’ उनले भने, ‘सडक विभागले चाँडै ‘सरफेस ‘ड्रेसिङ’ गर्ने तयारी गरेको छ ।’


लामो समयको प्रतिक्षापछि बहुउपयोगी यो मार्गमा कालोपत्रे गरिएको थियो । तर समयमा टालटुल नगर्दा मार्गको दुरावस्थाले अहिले आहोरदोहोर गर्न कठिन भएको उनी स्वयंम स्विकार्छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×