कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकिस्त भएपछि अस्पताल

संक्रमणको लक्षण देखिएका धेरैजसो औषधि पसल तथा निजी क्लिनिकको भरमा घरघरमै

सर्लाही, पर्सा — कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी सर्लाहीका घरघरमा देखिएका छन् । उनीहरू औषधि पसल तथा निजी क्लिनिकको भरमा छन् । संक्रमणको लक्षण देखिए पनि परीक्षण गराएका छैनन् । सिकिस्त भएपछि मात्र अस्पताल जाँदा जिल्लाका चार जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

सिकिस्त भएपछि अस्पताल

यहाँ ५० जना सक्रिय संक्रमित छन् । अस्पताल तथा निजी क्लिनिकमा यतिबेला उच्च ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ । उच्च ज्वरो आउनु, घाँटी खसखस हुनु, रुघाखोकी लाग्नु, जीउ कटकट खानुलगायत कोरोनाको लक्षण पनि हुन् । कविलासी, हरिवन, लालबन्दी, मलंगवालगायतका नगरपालिकाका बस्तीमा यी लक्षणका बिरामी थुप्रै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कविलासी नगरपालिका–७ का ४३ वर्षीय पुरुषलाई उच्च ज्वरो र रुघाखोकी लागेको एक साताभन्दा बढी भइसक्यो । तर पनि उनी अझै घरमै छन् । त्यहींका अर्का एक ३६ वर्षीय पुरुषलाई पनि उच्च ज्वरो र रुघाखोकी लागेपछि नजिकको क्लिनिकमा गए । ‘निजी क्लिनिकमा चिकित्सकले दुईवटा निडल लगाइदिए, अझै पनि आराम छैन, अब त कोरोनाको लक्षणजस्तै अनुभूति भइरहेको छ, त्यसैले घरमै आफू आइसोलेटेड भएको छु,’ उनले भने । कोरोना जाँच गर्ने स्थान नजिक नभएकाले नगराएको उनले बताए ।

यस्तै हरिवन नगरपालिका–८ का एक ३५ वर्षीय पुरुष पनि एक सातादेखि ज्वरोले थलिएका छन् । उनी पनि निजी क्लिनिकमा उपचार गराएपछि घरमै बसिरहेका छन् । हरिवनकै ३८ वर्षीय एक महिला पनि ज्वरो र रुघाखोकीले थलिएको साता बितिसक्यो । तर निको हुन सकेको छैन । घरमै आइसोलेट भएर बसेको उनले बताइन् । ‘निजी क्लिनिकबाट पाएको औषधि सेवन गर्दा निको भएन,’ उनले भनिन्, ‘सिटामोल र एकान्तबासमा बसेपछि अलि सहज महसुस भइरहेको छ, ज्वरो पनि कम हुँदै गएको छ ।’ उनका अनुसार घरका अन्य सदस्यमा भने कुनै पनि लक्षण देखिएको छैन ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि मौसमी रोग भनेर स्थानीयले लापरबाही गर्दै आएका छन् । निजी क्लिनिकका सञ्चालक डा. देवेन्द्र झाले क्लिनिकमा ९० प्रतिशतभन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी दिनहुँ आउने गरेको बताए । जसमध्ये अधिकांश कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी रहेको उनको भनाइ छ । ‘सिकिस्तलाई तुरुन्त रेफर गरेर बाहिर पठाउने गरेका छौं,’ उनले भने ।

जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जीव सिंहले लक्षण देखिएका व्यक्ति सिकिस्त भएर मात्र उपचार गराउन आउने प्रवृत्ति बढेको बताए । उनले यसमा पालिकाका स्वास्थ्य शाखाहरूले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘कोरोनाको जाँच हुन नसकेपछि बिरामी सिकिस्त भएपछि मात्र अस्पताल पुग्ने गरेका छन्, यसमा स्थानीय तहको स्वास्थ्य शाखाको पनि महत्त्वपूर्ण भूमिका हुनुपर्छ,’ उनले भने । घर घरै ज्वरो र रुघाखोकीका बिरामी भए पनि पालिकाहरूले जाँचको प्रबन्ध मिलाउन सकेको छैन ।

अधिकांश कर्मचारीलाई पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय, नापी तथा मालपोत कार्यालयको कामकाज ठप्प पारिएको छ । यी कार्यालयहरू सेवाग्राहीको अत्यन्त भीडभाड हुने स्थल हो । कविलासी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सञ्जय झाले अधिकांश बस्तीमा उच्च ज्वरो र रुघाखोकीको बिरामी भए पनि जाँच हुन नसकेको बताए । उनका अनुसार पालिकाबाट टेस्ट गर्ने निर्णय हुन सकेको छैन । पालिकाको प्रत्येक वडामा कम्तीमा पनि ५० जनाको सेम्पल लिएर टेस्टिङ गर्ने योजना रहेको झाले सुनाए ।

थप ३ संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणको कारण थप ३ को मृत्यु भएको छ । उनीहरूको उपचारको क्रममा बिहीबार र शुक्रबार नारायणी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार, बिहीबार वीरगन्ज ३ की ४७ वर्षीया महिला, बारा जितपुर सिमरा उपमहानगरपालिका २४ का ७७ वर्षीय पुरुष र शुक्रबार वीरगन्ज १६ नगवाकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो । हालसम्म अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये २३ संक्रमितको मृत्यु भएको डा. दासले बताए । शुक्रबार दिउँसो १ बजेसम्म नारायणी अस्पतालमा ४२ कोरोना संक्रमित उपचारार्थ भर्ना रहेको उनले जानकारी दिए । तीमध्ये ८ जना शुक्रबार नै भर्ना भएका नयाँ बिरामी हुन् । सबैलाई अस्पतालमा अक्सिजन दिएर उपचार गरिँदै छ ।

सीमामा ८ संक्रमित

वीरगन्जस्थित नेपाल भारत सीमास्थित हेल्थ डेस्कमा शुक्रबार गरिएको एन्टिजेन परीक्षणबाट ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५८ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो । भारतबाट नेपाल प्रवेश गरेका उनीहरू सबै नेपाली हुन् । संक्रमितमध्ये ४ पर्साका, ३ बाराका र १ सर्लाहीका छन् ।

चैत २३ यता शुक्रबार मध्याह्न १२ बजे सम्म भारतबाट आएका कूल १ हजार २ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको छ । सीमास्थित हेल्थ डेस्कका एक ल्याब टेक्निसियनमा बिहीबार कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणले एकै दिनमा १ सय ७५ कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : वैशाख १८, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?