कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मिडिया सम्मेलनको निष्कर्ष : 'सञ्चार गृहभित्र हतियारसहित सुरक्षाकर्मीको प्रवेश अनुचित'

लक्ष्मी गौतम

पाँचथर — नियमित काममा बाधा पर्ने गरी कुनैपनि सञ्चार गृहमा सुरक्षाकर्मीको प्रवेश हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत हुने निष्कर्ष फिदिममा आयोजित मिडिया सम्मेलनले निकालेको छ ।

मिडिया सम्मेलनको निष्कर्ष : 'सञ्चार गृहभित्र हतियारसहित सुरक्षाकर्मीको प्रवेश अनुचित'

नियमित कार्यमा बाधा पुग्ने गरी सञ्चार गृहमा सुरक्षाकर्मी प्रवेश गरि त्रासको वातावरण सिर्जना गर्ने, सञ्चार माध्यम र सञ्चारकर्मी माथि भइरहेका भौतिक आक्रमणले अझैपनि नेपाली प्रेस सुरक्षित र स्वतन्त्र हुन नसकेको भन्दै मिडिया सम्मेलनले यस्ता हर्कत विरुद्व सशक्त आवाज उठाउँदै सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

मिडिया सम्मेलनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसँगै न्युनतम पारिश्रमिकलाई व्यवहारिक बनाउन पनि माग गरेको छ । सम्मेलनपछि जारी घोषणा पत्रमा स्थानीय सञ्चार माध्यमको प्रवर्धन गर्न तीन तहकै सरकारले स्थानीय र प्रादेशिक सञ्चार गृहहरुलाई समानुपातिक विज्ञापन उपलव्ध गराउनुपर्ने, स्वरोजगारमुलक साना र मझौला सञ्चारगृहको प्रवर्धनमा सरकारी नीति स्पष्ट हुनुपर्ने र पत्रकार स्वयम पनि मर्यादित पत्रकारितामा जिम्मेवार भएर लाग्नुपर्ने लगायतका ११ बुँदा समेटिएका छन् ।

पत्रकारिताका नयाँ आयाम र प्रयोगबारे छलफल गर्न पत्रकार महासंघ पाँचथरले फिदिममा मिडिया सम्मेलन आयोजना गरेको थियो । सोही अवसरमा अबको पत्रकारिता, मोफसलको पत्रकारिता र पत्रकारितामा प्रविधिको उपयोग लगायतका ३ वटा सत्रमा छलफल गरिएको थियो ।

मिडियो सम्मेलनकै अवसर पारेर वरिष्ठ पत्रकार सुरेश आचार्यसहित जिल्लामा क्रियाशील तीन जना पत्रकारलाई पुरस्कार वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघका पुर्व सभापति समेत रहेका आचार्यलाई ३३ हजार ३ सय ३३ रुपैंया राशीसहितको स्वतन्त्रता सेनानी सम्मानसहित पुरस्कृत गरिएको हो ।


स्वतन्त्रता सेनानी सम्मान पत्रकार महासंघ पाँचथरले प्रत्येक वर्ष एकजना अग्रज पत्रकारलाई अर्पण गर्दै आएको छ । यो सम्मानबाट यसअघि पत्रकार महासंघका पुर्व सभापतिहरु विष्णु निष्टुरी, किशोर नेपाल, हरिहर विरही, धर्मेन्द्र झा, शिव गाउँले र महेन्द्र विष्टलाई अर्पण गरिसकेको महासंघले जनाएको छ ।

यो सँगै २५ हजार रुपैंया राशीको फिदिम नगर विकास पत्रकारिता पुरस्कारबाट रेडियो मितेरी पाँचथरका स्टेशन म्यानेजर खबिन लुइटेल, १० हजार राशीको स्वर्गीय हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकी पाँचथर सम्बादाता दुर्गा खनाल तथा १० हजार राशीको स्वर्गीय प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट रेडियो नेपालकै शन्देस सुब्बालाई प्रदान गरिएको छ ।

पत्रकारहरुलाई कोशी प्रदेश सभा सांसद मैया श्रेष्ठ लावती, जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्वे र फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्ले लगायतले सम्मान र पुरस्कार प्रदान गरे ।

प्रकाशित : जेष्ठ १६, २०८१ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×