कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

खुन डाका मुद्दाका तीन फरार अभियुक्त पक्राउ

डम्बरसिं राई

खोटाङ — खुन डाका मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २०६८ चैत ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका मनराज सुनुवारको हत्यामा संलग्न केपिलासगढी गाउँपालिका–७ सुङ्देलका ५७ वर्षीय भीमबहादुर राई, ५८ वर्षीय चमारसिंह राई र ४३ वर्षीय ताराबहादुर राईलाई आइतबार पक्राउ गरी सोमबार जेल चलान गरिएको हो ।

खुन डाका मुद्दाका तीन फरार अभियुक्त पक्राउ

२०६८ चैत ४ गते सुङ्देलका दानबहादुर राईको घरमा डाका गरी गरगहना, पुरातात्विक सामान लुटेर निस्कने क्रममा दानबहादुर राईकै घरमा कटेरो बनाई बस्ने सुनुवारले थाहा पाई होहल्ला गर्दा घटनास्थलमै हत्या गरी करिब ५० मिटर पर लगेर फालेका थिए ।

प्रहरीका अनुसार उनीहरुले दानबहादुरसहित श्रीमती जानकी राई र भदौनी संगीता राई सुतिरहेको अवस्थामा प्रवेश गरी ८५ हजार रूपैयाँ नगद, शंख दुई थान, गौलचन एक थान, शिवलिङ्ग दुई थान, शालीग्राम एक थान, सुनको रिङ एक जोर र सुनको सौभाग्य एक थान गरी दुई तोला सुन लिएर बाहिर निस्कने क्रममा सनुवारले थाहा पाएपछि होहल्ला गर्दा उनीमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

उनीहरूलाई २०६८ चैत १२ गते पक्राउ गरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनीहरूलाई कारागार चलन गरेको थियो । तर २०७३ भदौ २० गते पुनरावेदन अदालत राजविराजले उनीहरू डाका गरेको कसुरमा ६ वर्ष कैद र जनही एक लाख ३० हजार पाँच सय रूपैयाँ फैसला सुनाएपछि छुटेका थिए ।

फेरि २०७९ माघ १५ गते सर्वोच्च अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएपछि भएका उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । अदालतले उनीहरूमध्ये भीमबहादुर राईलाई १४ वर्ष, चमारसिंह राईलाई १४ वर्ष र ताराबहादुर राईलाई १३ वर्ष ११ महिना १४ दिन जेल सजायको फैसला सुनाएको छ । ‘डकैती मुद्दामा पनि केही समय जेल भुक्तान गरेका थिए,’ खड्काले भने, ‘बाँकी जेल भुक्तानका लागि आज जेल चलान गरिएको हो ।’

प्रकाशित : जेष्ठ १४, २०८१ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×