कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

हलेसीमा खुल्यो कृषि मार्ट

डम्बरसिं राई

खोटाङ — हलेसीमा कृषि मार्ट सञ्चालन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याइएको हो ।

हलेसीमा खुल्यो कृषि मार्ट

कृषि मार्ट हलेसी तुवाचुङ नगरपालिकाको गत र चालु आर्थिक वर्षको बजेटबाट निर्माण गरिएको हो । गत आर्थिक वर्षको १८ लाख ४४ हजार र चालु आर्थिक वर्षको १९ लाख ९४ हजार आठ सय ३१ रूपैयााको लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । उक्त मार्ट आइतबारदेखि सञ्चालनमा आएको हो ।

नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिजन्य उत्पान मार्टमा राखेर बिक्री सुरु गरिएको छ । मार्टमा बिक्री हुने कृषिजन्य वस्तुको मुल्य समेत निर्धारण गरिएको छ । नगरपालिकाभित्रका कृषक र होटल व्यावसायीहरुबीच छलफल गरेर कृषिजन्य वस्तुको मूल्य निर्धारण गरिएको छ । यसअघि बाहिरबाट कृषिजन्य वस्तु ल्याइने तर स्थानीयले उत्पादन गरेको कृषि उपज त्यत्तिकै खेर जाने गरेकाले होटल व्यवसायीहरूसंगको छलफलपछि स्थानीय उत्पादनलाई प्रबर्द्धन सुरु गरिएको राईले बताइन् ।

अहिले नगरपालिकाका करिब तीन सय घरधुरी किसानले उत्पादन गरेको आलु, साग, धनिया, कोभी, मुला लगायतका तरकारी तथा कृषिजन्य वस्तु कृषि मार्टमा बिक्री सुरु भएको राईले सुनाइन् । यसअघि हलेसीस्थित होटल व्यवसायीहरुले जिल्लाबाहेक अन्यत्रबाट ल्याइएका कृषिजन्य वस्तु उपयोग गर्दै आएका थिए ।

अन्यत्रको कृषिजन्य वस्तु उपयोग गर्दा नगरको रकम बाहिर जाने गरेको थियो । ‘हलेसीमा उपयोग गरिने तरकारी तथा कृषिजन्य वस्तु बाहिरबाट ल्याउदा नगरको पैसा त बाहिर जान्थ्यो नै त्यसका साथै नगर क्षेत्रभित्रका किसानको आयआर्जनमा समेत टेवा पुगोस् भनेर मार्ट स्थापना गरिएको हो,’ राईले भनिन्, ‘यसले युवा रोजगारीमा पनि टेवा पुग्नेछ भन्ने आशा गरेका छौं ।’

प्रकाशित : फाल्गुन २१, २०८० १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×