कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

डीडीसीले दिएन दूधको मूल्य, किसान मर्कामा

धनकुटा — दुग्ध विकास संस्थान (डीडीसी) ले विगत सात महिनादेखि दुधको भुक्तानी नगर्दा धनकुटा र तेह्रथुमका सयौं दुग्ध उत्पादक किसान प्रभावित बनेका छन् । डीडीसीले गत भदौदेखि हालसम्म यहाँका १ हजार १ सय किसानबाट संकलन गरेको दुधको १३ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ ।

डीडीसीले दिएन दूधको मूल्य, किसान मर्कामा

डीडीसीको लापरवाहीले गर्दा दैनिक जीवनयापन गर्न समेत समस्या परेको किसानको गुनासो छ । हिले बजारमा रहेको डीडीसीको संकलन केन्द्र र छथर जोरपाटी गाउँपालिकाको सिधुवास्थित सगरमाथा दुग्ध सहकारी मार्फत् डीडीसीले दैनिक ३ हजार लिटर बढी दुध संकलन गर्दै आएको छ । जसअन्तर्गत् कृषकलाई हिलेस्थित डीडीसीको संकलन केन्द्र मार्फत् १० करोड र धनकुटा र तेह्रथुमको सीमाक्षेत्र चित्रेस्थित संकलन केन्द्रबाट ३ करोड भुक्तानी गर्न बाँकी रहेको दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाका सचिव रोम बाजिम्पाकले जानकारी दिए ।

गत साउन मध्यदेखि हालसम्मको दुधको भुक्तानी नगर्दा कृषकमाथि ज्यादति भएको उनले बताए । कृषकले गाइपालनको लागि बैंकबाट लिएको लाखौं रुपैयाँ ऋण डुब्ने अवस्थामा रहेको उनको भनाइ छ ।

‘जिम्मेवार निकाय डीडीसीले कृषकलाई भुक्तानी नगरेर ज्यादति गरेको छ’, उनले भने, ‘बैंकको ऋण तिर्न र परिवारको गुजारा गर्नै मुश्किल अवस्था भएको छ ।’ जिल्लाको मुर्तिढुंगा, मारेककटहरे, परेवादिन र तेह्रथुमका फुलेक, दाँगपा, बसन्तपुर, आङ्दिम, सुक्रबारे, म्याङ्लुङ लगायतका कृषक यसबाट बढी प्रभावित बनेका छन् ।

डीडीसीले दुध खरिद गर्ने भएपछि झन्डै डेढ दशकदेखि कृषकहरु दुध उत्पादनतर्फ आकर्षित बनेका थिए । उनीहरुले १० देखि ५० लाख रुपैयाँको लगानीमा उन्नत जातको गाई पालन गर्दै आएका छन् । अधिकांशले बैंकबाट ऋण लिएर व्यवशाय गर्दै आएको कृषक प्रेमबहादुर दर्लामीले बताए । महालक्ष्मी ९ का कृषक भीम महताराले डीडीसीको कारण सकसपूर्ण जीवन बिताउनु पर्ने अवस्थामा रहेको गुनासो पोखे ।

उता, दुग्ध विकास संस्था विराटनगर स्रोतले दुग्धजन्य परिकार बिक्री नभएका कारण गोदाममा थन्किएकोले भुक्तानी गर्न कठिनाइ भएको दाबी गरेको छ । उत्पादित दुधको परिकार बिक्री नभएकोले भुक्तानी दिन मुश्किल भएको संस्थाका प्रमुख प्रमेश्वर चौधरीले बताए । उनले भने, 'दुध बढी संकलन भएको छ, तर उत्पादित परिकार बिक्री नभएर थन्किएपछि भुक्तानी गर्न मुस्किल भएको हो ।'

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा स्रोतका अनुसार जिल्लामा १ सय २५ वटा गाइ फर्म रहेका छन्। यस्तै, ८४ वटा दुग्ध संकलन केन्द्र सञ्चालित छन् । दैनिक ४४ हजार ९८ लिटर दुध उत्पादन हुने गर्छ । जसमध्ये ३२ हजार १ सय लिटर बिक्रीको लागि बजारमा जाने गर्छ । दुधबाट दैनिक १ करोड ७६ लाख ५ हजार ५ सय रुपैयाँको कारोबार हुने गरेको केन्द्रका अधिकृत पुष्पराज दाहालले जानकारी दिए ।

महिनौँसम्म दुधको भुक्तानी नगरिएको भन्दै कृषकहरुले आन्दोलनको समेत घोषणा गरेका छन् । उनीहरुले विभिन्न प्रकारका माग सहित चरणबद्ध आन्दोलन आव्हान गरेको जनाएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×