कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपरिचितले दिए विस्थापितलाई दसैं खर्च

‘विस्थापित एक वर्षदेखि झुत्रे पालमै’ समाचार प्रकाशितपछि सहयोग
कान्तिपुर संवाददाता

सुनसरी — पहिरोका कारण विस्थापित भएपछि एक वर्षदेखि पालको भरमा बसेका धरान–२० विष्णुपादुकास्थित चिहानडाँडाका ६ घर परिवारले दसैं–तिहार खर्च पाएका छन् ।

अपरिचितले दिए विस्थापितलाई दसैं खर्च

साताअघि कान्तिपुरमा ‘विस्थापित एक वर्षदेखि झुत्रे पालमै’ समाचार प्रकाशित भएपछि एक अपरिचित दाताले उनीहरूलाई दसैं–तिहार खर्च भनेर मंगलबार ७५ हजार रुपैयाँ पठाइदिएका थिए ।

कान्तिपुरको सम्पर्कमा आएका मनकारी दाताले आफूले समाचारमा तस्बिरसहित विस्थापितहरूको नाजुक अवस्थाबारे जानकारी पाएपछि दसैं–तिहार खर्च पठाएको बताए । उनले आफ्नो परिचय गोप्य राख्न अनुरोध गर्दै भने, ‘मैले नामका लागि व्यक्तिगत रूपमा ती विस्थापितहरूलाई सहयोग गरेको होइन । समाचारमा देखेर उनीहरूले पनि दसैं–तिहार राम्ररी मनाऊन् भनेर खर्च पठाइदिएको हो ।’

विस्थापित नन्दलाल यादव र दीपासरी राईले आफूहरूले ती अपरिचित दाताबाट ७५ हजार रुपैयाँ प्राप्त गरेको बताए । यादवले भने, ‘हामीले नगद सहयोग पायौं । एक वर्षदेखि पालमा बसेको र यो दसैं–तिहार कसरी टार्ने भनेर चिन्तामा थियौं । तर ती अपरिचित हाम्रा लागि मनकारी बनेर पैसा पठाए ।’

उक्त रकम ६ घरले दामासाहीले १२ हजार ५ सयका दरले बाँडेको दीपासरी राईले बताइन् । उनका अनुसार उक्त रकमले दसैं–तिहारमा आवश्यक खाद्य, नुनतेल, बालबालिकाका लागि लत्ताकपडा, जुत्ताचप्पल किन्ने र फाटेको पाल टाल्नेमा सदुपयोग गर्ने बताइन् । विस्थापितका लागि सुरुमा केही गैरसरकारी संस्था र धरान उपमहानगरले सहयोग गरे पनि स्थायी बसोबासका लागि हालसम्म कुनै व्यवस्था नगरेकामा चिन्तित बनेका छन् ।

गत वर्ष असोज ३ गते दिउँसो विष्णुपादुकाको आँपटारको बस्ती जमिन धसिएर पहिरो जाँदा ७ घर विस्थापित भएका थिए । तीमध्ये एक घर आर्थिक रूपमा आत्मनिर्भर भए पनि बाँकी ६ घर भने झुत्रे पालको भरमा बसेका छन् । विस्थापितहरूमा सवालमान राई, वीरकुमार राई, रामबहादुर याक्खा, रामबहादुर राई, बस्तीलाला राई, नन्दलाल यादव छन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?