इटहरीमा पेस्तोल र लागूऔषधसहित तीन जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित जनता टोलबाट प्रहरीले पेस्तोल र लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने १९ वर्षीय धनबहादुर राई, २७ वर्षी टीका राई र इटहरी–५ बस्ने २८ वर्षीय धनबहादुर राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लेबल नभएको लागूऔषध २४ एम्पुल र मेडइन यूएसए लेखिएको १ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन बरामद गरेको जनाएको छ ।

पेस्तोल बोकेका युवाहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर सोमबार मात्र सार्वजनिक गरेको हो ।

प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार उनीहरूमाथि हातहतियार सम्बन्धी र लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

चुईगम, चकलेटदेखि फलफूल र गेडागुडीसम्म अन्तःशुल्क बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विभिन्न वस्तुको अन्तःशुल्क बढाएको छ । आर्थिक विधेयक २०७९ मार्फत् विभिन्न आयातित वस्तुहरूमा अन्तःशुल्क बढाएको हो ।

पिउने पानी र सबै प्रकारका माछामा १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था राखिएको छ । आरु, पैयुँ आयातमा अन्त:शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । ससेज, मासुजन्य वस्तुमा १० प्रतिशत अन्तःशुल्क लाग्दै आएको १५ प्रतशित पुर्‍याइएको छ । त्यस्तै, चुईगममा १० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा १५ प्रतिशत पुर्‍याइएको छ । क्रिस्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुटहरू, चकलेट र कोको मिसाईएका अन्य खाद्य वस्तुको अन्तःशुल्क ५ प्रतिशतबाट १५ प्रतिशत भएको छ ।

च्याउ, काँक्रो र गोलभेडा, फ्रेन्चफ्राइज र आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुनजस्ता गेडागुडीमा १० प्रतिशत रहेकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । त्यसैगरी, बदाम, मम्फली, भुटेको चना, भुटेको काजु, पेस्ता, भुँइकटहर, अमिला फलफूल, नास्पाती, खुर्पानी, पैयुँ, आरु, स्ट्रबेरीजस्ता फलफलको अन्तःशुल्क ५ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको छ ।

बाँस, बैस, निगालो र पानको पातमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुँगुरको मासुजन्य पदार्थमा १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । पर्फ्युम, नङ पालिस, लिपस्टिक, सन्स्क्रिमजस्ता मेकअपका सामान, स्याम्पु, मेहन्दीजस्ता वस्तुमा ५ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याइएको छ । काठमा ५ प्रतशित अन्तःशुल्क लगाइएको छ । काठका फल्याक, प्लाइउड, चिरेको काठ, काठका गोलियामा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

मोटरको पिकआवर २ सय किलोवाटभन्दा बढी भएको तर ३ सय किलोवाट ननाँघेका जीप र भ्यानका लागि ४५ प्रतिशत र पिकपावर ३ सय मेगावाटभन्दा बढी भएका कार, जीप, भ्यानका लागि ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×