१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पक्षपाती हिसाबले योजना बाँडेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका स्थानीयले सडक अवरुद्ध गरेका छन् । वडाध्यक्ष रुद्रकुमार राईले पक्षपाती तरिकाले योजना बाँडेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

पक्षपाती हिसाबले योजना बाँडेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

च्यास्मिटार कुर्ले हर्बेनी सडक खण्डअन्तर्गत बाहुनीडाँडाको झापा निङ्लाम क्षेत्रमा खनिएको सडक स्थानीयले अवरुद्ध पारेका हुन् । उक्त सडक खन्दा वडाध्यक्षको प्रतिबद्धताअनुसार स्थानीयले उठाएको रकम फिर्ता नगरेको, चालु आर्थिक वर्षमा वर्षे पानी सङ्कलन गर्न प्लास्टिक पोखरीका लागि सिलपोलिन (टनेल/प्लास्टिक) वितरणमा पक्षपात गरेको लगायत माग राखी सडक बन्द गराएको स्थानीय दयाबहादुर राईले बताए ।

च्यास्मिटार कुर्ले हर्बेनी सडक खण्डअन्तर्गत बाहुनीडाँडाको झापा निङ्लाम क्षेत्रमा स्थानीयले रकम उठाएर सडक खनेका हुन् । उक्त रकम स्थानीयलाई नै फिर्ता गर्ने वचन दिए पनि अहिलेसम्म उपलब्ध नगराएकाले सडक अवरुद्ध गर्नु परेको राईको भनाइ छ । करिब ११ लाख रुपैयाँ संकलन गरेर सडक खनेका हुन् ।

त्यस्तै बाहुनीडाँडाकै धर्मशालादेखि लिङ्लाम गुर्दुम गाउँसम्म स्थानीयले खनेको सडकको रकम पनि फिर्ता गर्छु भनेर आश्वासन दिएको र अहिलेसम्म फिर्ता नगरेको राईले बताए । उक्त सडक स्थानीयले १४ लाख ६० हजार रुपैयाँ सङ्कलन गरेर खनेका हुन् ।

उक्त सडकहरूको रकम २०७४ को स्थानीय तहको चुनावमा जिताए फिर्ता गर्ने भनेर आश्वासन दिएको तर दुईचोटी चुनाव जित्दा पनि फिर्ता गर्ने छाँट नदेखाएपछि सडक अवरुद्ध गरेको स्थानीयको गुनासो छ ।

यसबाहेक वर्षाको पानी सङ्कलनका लागि सिलपोलिनसमेत नदिएकाले पनि सडक अवरुद्ध गर्न बाध्य भएको स्थानीय संगीता राईले बताइन् । उनका अनुसार कसैलाई कागजात नपुगेको भन्दै त्यसै फर्काएको र कसैलाई निवेदनबिना नै घरघरै पठाएकाले पक्षपाती तरिकाबाट सिलपोलिन वितरण गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

‘प्लास्टिक पोखरीका लागि टनेलको आवश्यकता थियो ।’ राईले भनिन्‚ ‘तर‚ पक्षपात गरेर वितरण गरेपछि हामीले सडक अवरुद्ध गरेका हौं ।’

वडाध्यक्ष रुद्रकुमार राईले भने पक्षपाती ढङ्गले नभई माग निवेदनको आधारमा वितरण गरेको बताए । कार्यवाहक वडाध्यक्ष शिव कार्कीले सिफारिस गरेअनुसार वितरण गरेको वडाध्यक्ष राईको भनाइ छ । वडाध्यक्ष राई अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष थिए । यो चुनावमा पनि वडाध्यक्षको उम्मेदवारी दिन वडाध्यक्षबाट राजीनामा दिएपछि वडा सदस्य शिव कार्कीले कार्यवाहक वडाध्यक्ष भएर काम गरेको थिए ।

उनै कार्यवाहकको सिफारिसको आधारमा टनेल वितरण गरिएको वडाध्यक्ष राईले बताए । अपाङ्ग, ज्येष्ठ नागरिकलाई भने सिफारिसको आधारमा गाउँमै वितरण गरेको राईले बताए । ‘अपाङ्ग र ज्येष्ठ नागरिकलाई २०/२५ वटा सिलपोलिन वितरण गरेको हो‚’ राईले भने‚ ‘योभन्दा अरु सिफारिसकै आधारमा वितरण गरिएको छ ।’

प्रकाशित : जेष्ठ १४, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?