आफ्नै हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् ।

बिहीबार बिहान हजुरआमा र नातीबीच जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा रोहितले धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हजुरआमाको हत्यापछि फरार रहेका उनलाई दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।

रोहितले हजुरआमाको शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले रोहितलाई पक्राउ गरेको हो । घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको छ ।

हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

नीति तथा कार्यक्रममा कर्णाली : विमानस्थल निर्माणदेखि राष्ट्रिय सडक सञ्जालसम्म

चाँदनी कठायत

वीरेन्द्रनगर — संघीय सरकारको नीति तथा कार्यक्रममा कर्णालीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि हुम्लालाई सडक सञ्जालसँग जोड्ने योजना समेटिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममा सरकारले कर्णालीका यी योजना समेटेको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद्‍मा प्रस्तुत नीति तथा कार्यक्रममा सुर्खेतको भेरीगंगास्थित रामघाटमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषय समेटिएपछि विभिन्न क्षेत्रबाट टिका टिप्पणीसमेत हुन थालेका छन् । यसअघि पनि भेरीगंगामा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन गरिए पनि प्राविधिक समस्याका कारण निर्माण हुन नसक्ने भन्दै थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

त्यसपछि वीरेन्द्रनगरमा रहेकै सुर्खेत विमानस्थल विस्तार गर्न प्रक्रिया अघि बढाइए पनि जग्गा अधिग्रहण गर्ने विषयमा स्थानीयसँग कुरा नमिलेपछि विस्तार कार्य रोकिएको थियो ।

रामघाटमा विमानस्थल निर्माण हुने भनी नीति तथा कार्यक्रम सार्वजनिक भएपछि वीरेन्द्रनगरका केही सरोकारवालाले सुर्खेत विमानस्थल विस्तार कार्य रोक्ने सरकारको नीति रहेको भन्दै टिप्पणी गर्न थालेका छन् । केहीले प्राविधिक कारणले सुर्खेत विमानस्थल विस्तार उपयुक्त नभएको भन्दै भेरीगंगामा नै उपयुक्त हुने पनि तर्क गरेका छन् ।

वीरेन्द्रनगरमा सञ्चालन भइरहेको विमानस्थल साँघुरो भएपछि केही समययता यसको विकल्पको खोजी भइरहेको छ । विमानस्थल विस्तारको प्रयाससमेत सफल हुन नसकेपछि नयाँ विमानस्थल निर्माणको लागि विगतदेखि नै पहल हुँदै आएको छ । यसपटक सरकारले पनि त्यसलाई सम्बोधन गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममा निर्माणाधीन भेरी बबई डाइभर्सनको हेडवर्क्स र पावर हाउस निर्माण कार्यलाई तीव्रता दिने योजना पनि समेटिएको छ । भेरी बबईको अहिले दोस्रो चरणअन्तर्गत पावर हाउस र हेडवर्क्स निर्माणको काम भइरहेको छ । तेस्रो चरणको काम सुरु गर्नका लागि पनि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम गर्न टेण्डर प्रक्रिया सकिएको छ ।

साथै यस वर्ष पावर हाउस निर्माण गरिसक्ने जनाइएको छ । सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र कर्णाली करिडोर निर्माण तथा स्तरोन्नति गरिने योजनालाई पनि समेटेको छ । करिडोर अन्तर्गत बाँकी रहेको ट्र्याक खोल्ने काम सम्पन्न गरेर हुम्लालाई आगामी वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

प्रकाशित : जेष्ठ १२, २०७९ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×