कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडक जाम नगरी संसद्‍मा पुगे राष्ट्रपति

तस्बिर: अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । शीतल निवासबाट भीभीआईपीलाई दिइने साधारण सुरक्षामै सडकमा निस्किएका राष्ट्रपति पौडेल सर्वसाधारणसँगै सडक अवरुद्ध नगरी संसद् भवन पुगेका हुन् । उनको सवारी भइरहँदा नियमित रुपमा गुड्ने अन्य सवारीसाधन पनि बिनारोकतोक सडकमै देखिन्थे ।

विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले घण्टौंसम्म सडक ठप्प पार्ने गरेको थियो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा सवारीका क्रममा पैदलयात्रीलाई समेत रोक्दा नागरिक प्रदर्शन नै भएको थियो । यसपटक राष्ट्रपति पौडेल भने सडकमा कुनै अवरोध नगरी संसद्सम्म पुगे । राष्ट्रपति पौडेल बिरामी भएपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएको यो पहिलो घटना साथै संसद्‍मा पहिलो सम्बोधन पनि हो । भारतमा पुगेर पेटसम्बन्धी स्वास्थ्य समस्याको उपचार गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका थिए । उनलाई चिकित्सकहरूले तीन साता आइसोलेसनमा आराम गर्न सुझावसमेत दिएका थिए ।

सोहीकारण प्रारम्भिक चरणमा शुक्रबारको संसद्‍मा उनी नीति तथा कार्यक्रम वाचन गर्न असमर्थ रहने पनि बताइएको थियो । तर उनको उनुपस्थितिमा उपराष्ट्रपति वा प्रधानमन्त्री कसले प्रस्तुत गर्ने भन्ने अन्योल भएपछि अस्वस्थताका बावजुद पौडेलले सुरक्षाकर्मीहरूको सहायतामा संसद्‍ बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रकाशित : जेष्ठ ५, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्