कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

तिम्रो याद आइदिँदा, आँसु त्यसै बगेछ... [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरूलगायतले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार निधन भएका आचार्यको शव नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जली दिने पुग्नेहरू शोकमग्न मुद्रामा थिए, आचार्यले गाएको गीतको हरफ जस्तै- ..'तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ....।'

प्रधानमन्त्री दाहालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती लगायतका अन्य नेता, कलाकार, संगीतकार लगायतका व्यक्तिहरु श्रद्धाञ्जलीका लागि पुगेका थिए ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताइन् । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–संगीत क्षेत्रमै छन्। आचार्यको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान छ ।


प्रकाशित : फाल्गुन १५, २०८० १३:५९
प्रतिक्रिया
पठाउनुहोस्