कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अधिकार माग्दै मोही किसान रातभर सडकमै

दुर्गालाल केसी

दाङ — अधिकारको माग गर्दै सडक प्रदर्शनका लागि मंगलबार घोराहीमा जुटेका जिल्लाभरका ५ सय ५० मोही किसान रातभर जिल्ला प्रशासन कार्यालय अगाडि सडकमै बसे । सडक छेउमै पकाए, खाए अनि त्यहीँ सुते ।

बिहानपख कोही पकाउन थाले त कोही सडकमा धर्ना दिन । जिम्मेवारीअनुसार काममा खटिरहेका सबैको घाँटीमा मोहीपूर्जा थियो । जग्गामा मोही कायम भए पनि उनीहरूले अधिकार स्थापित गर्न सकेका छैनन् । प्रमाण बोकेर अधिकार माग्दै उनीहरू सडकमै सुत्ने, खाने अवस्थामा पुगेका हुन् । दूधे बच्चा बोकेका महिलादेखि वृद्धवृद्धासम्म सडकमै सुते । उनीहरु यसैगरी तीन दिनसम्म अर्थात फागुन ११ गतेसम्म रातदिन सडकमै धर्ना दिने तयारीमा छन् ।

हलोजुवा र मोहीपूर्जासहित सडकमा आएका स्वर्गद्वारी गुठीका मोही किसानहरु सडकमा बसेर पकाउने, खाने र अधिकारका लागि गुहार माग्ने गरिरहेका छन् । लामो समयसम्म पनि न्याय नपाएको भन्दै मोही किसानहरू आन्दोलित भएका हुन् । तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हकसमेत कायम रहेको प्रमाणपूर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै उनीहरू सडक प्रदर्शनमा उत्रिएका हुन् । फागुनको चिसोमा पनि सबै उमेरका किसान सडकमै सुतिरहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

‘सडक किनारमा त्रिपाल टाागेर खाना पकाउने र सडकमै बसेर खाने गरिरहेका छौं । अधिकार नपाउँदासम्म यसैगरी सडकमा रहनेछौं,’ उनले भने,‘अधिकार माग्न थालेको धेरै भयो । हातमा मोहीपूर्जाबाहेक केही मिलेन । अब साँच्चिकै अधिकार चाहिन्छ ।’ मंगलबार बजारमा प्रदर्शन गरेको र त्यसपछि सडकमै बसेर धर्ना दिइरहेको उनले जानकारी दिए । आन्दोलनमा भूमिहीन, सुकुम्बासी किसानहरूका साथै केही राजनीतिक दलका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । सुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रँदै जाँदा ३ हजार ५ घरधुरी पुगेको चौधरीले बताए । जसमा १५ हजारभन्दा बढी सदस्य आश्रित रहेको उनले जानकारी दिए ।

कानुनी जटिलताका कारण नेपालको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ । एकातिर सर्बोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान मोहीपूर्जा बोकेर न्याय मागिरहेका छन् ।

२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आाच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् । न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलाशले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू–नगराउनू भन्ने आदेश गरेको थियो ।

सडकको २४ घण्टे धर्ना सकिएपछि फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व–पश्चिम राजमार्गमा सुतेर दुई घण्टा बन्द गर्ने कार्यक्रम तय गरेको गिरीले जानकारी दिए ।

स्वर्गद्वारी आश्रमका विषयमा सर्वोच्च अदालतबाट फैसलासमेत भएकाले सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । विरोधका कारण रोकिएको विधेयकमा स्वर्गद्वारी गुठीको जग्गामा मोहीयानी हक स्थापित गर्नुपर्ने र सोहीबमोजिम जग्गा बाँडफाँड हुनुपर्ने संघर्ष समितिका अध्यक्ष चौधरीले बताए । यसैगरी फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानहरूको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने निर्णय भएको संघर्ष समितिका सहसचिव प्रविण चौधरीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्