सोह्र तस्बिरमा उपत्यकाको घोडेजात्रा

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राज्यका उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । मंगलबजारबाट बालकुमारीसम्म घोडेजात्रा देखाइएको थियो । घोडा अष्टमान महर्जनले कुदाएका थिए ।


प्रकाशित : चैत्र ७, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

दलित समुदायका लागि नयाँ कार्यक्रम घोषणा गर्छु : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा दलित समुदायले पछिसम्म सम्झने गरी कार्यक्रमको घोषणा गर्ने बताएका छन् । जातीय छुवाछुतविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायका माग पूरा गर्नसक्ने आफू मात्रै भएको बताए ।

'जे जति माग दलित समुदायबाट आएको छ आजको मितिमा कसैले पूरा गर्छन् भने मैले हो, अरुले गर्न सक्दैनन् । दलितहरुले सम्झने गरी केही कार्यक्रम घोषणा गर्छु,' उनले भने ।

दलित समुदायले जेजति अधिकार प्राप्त गरेका छन् त्यो सबै संघर्षबाट मात्रै प्राप्त गरेको भन्दै दाहालले अधिकार प्राप्तिको लडाईँलाई संस्कृतिक संघर्षको रुपमा बुझ्नुपर्ने बताए ।

'उत्पीडकहरुबाट आशा र भरोसा गरेर, उनीहरुको दयाको भिख मागेर अधिकार पाइने कुरा होइन । भिख मागेर अधिकार पाइँदैन खोसेर लिने हो । जेजति अधिकारको पाएका छन् त्यो लडेर प्राप्त गरेका हुन्,' दाहालले भने 'अधिकारप्राप्तिको यो लडाईँ अलि लामो हुन्छ । यो वर्ग संघर्ष मुद्दामा पनि, संस्कृतिक संघर्षको मुद्दा र राजनीतिक संघर्षको पनि मुद्दा हो । यसलाई सांस्कृतिक क्रान्तिको रुपमा बुझ्न आवश्यक छ ।'

प्रकाशित : चैत्र ७, २०७९ १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×