सुरु भयो 'बिरालो वर्ष'

तस्बिर : इलिट जोशी, तस्बिर: अंगद ढकाल

काठमाडौँ — तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आइतबार विविध कार्यक्रम गरी मनाइँदै छ । तामाङ समुदायका किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाउँदै छन् । ल्होछार काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्ला र बाहिर देशहरुमा पनि मनाइँदैछन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार यस वर्ष माघ ८ गते सुरु भएको छ । मञ्जुश्री पात्रोअनुसार आज २८५९ औं वर्ष सुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भएर बिरालो वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।


प्रकाशित : माघ ८, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ'का पर्याप्त प्रमाण र आधार भेटिए : सीआईबी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टी–२० क्रिकेटमा 'स्पट फिक्सिङ' भएको प्रमाण र आधार भेटेको छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो ।

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । ‘अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिन्छन्,’ एसपी थापाले इकान्तिपुरसित भने, ‘थप अब समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ । ’

उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए । ‘अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने ।

उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको बताए ।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । यस किसिमको फिक्सिङमा ५/६ जना खेलाडी मात्रै नभएर म्याच अफिसियल्सहरुको पनि सम्झौता हुने एसपी थापाले जानकारी दिए ।

स्पट फिक्सिङमा खेलको कुनै समयमा हुने सट्टेबाजी रहेको उनले बताए । ‘स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ,’ एसपी थापाले भने,‘त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गर्छन् । स्पट फिक्सिजङ चाही टाइम अफ इन्टरभलममा हुने गर्छ । ’

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित : माघ ८, २०७९ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×