कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भूगर्भमा नेपाल खोज्दा

जबसम्म भूमिमाथि व्यक्तिगत स्वामित्व कायम हुने व्यवस्था राख्नेछौं, नेपालको कुनै भूखण्ड प्राकृतिक अवस्थामा सुरक्षित रहन सक्दैन । सम्पूर्ण भूमि राष्ट्रियकरण गरी राज्यका मातहत ल्याउनु नेपाल र नेपालीको अस्तित्वसँग सम्बन्धित छ ।
वामदेव गौतम

मलाई नेपालको इतिहास पहिलो पटक स्कुले जीवन सुरु गरेपछि जानकारी हुन थालेको हो । हाइस्कुलमा अलि गम्भीरतापूर्वक अध्ययन गर्ने बानी बस्यो । नेपालको इतिहासको गम्भीर अध्ययन भने पार्टी जीवनमा प्रवेशपछि गरेको हुँ । त्यसबेला नेपालको इतिहास अध्ययन गर्दा जस्तोसुकै अवस्थामा पनि राजा, राजपरिवार र भाइभारदारको इतिहास बढी आइरहन्थ्यो ।

भूगर्भमा नेपाल खोज्दा

नेपालको इतिहास निर्माणमा जनताले निर्वाह गरेका ऐतिहासिक अभिभारा उल्लेख भएको नपाउँदा त्यस्ता इतिहास लेखिनुपर्छ भनेर हामी चर्चा गर्थ्यौं । भूमिगत जीवन सुरु गरेपछि त्यस सम्बन्धमा यथार्थवादी हुन थालियो । नेपालको ऐतिहासिक घटनाक्रमको अध्ययन हुँदै जाँदा जानकारी भयो– नेपालको इतिहास नेपाली जनता र यहाँ शासन गर्ने राजा–महाराजासहितको हो । हामी जनताको साँचो इतिहास निर्माणकै निम्ति अनेक किसिमका संघर्ष गर्दै अगाडि बढिरहेका छौं । नेपालमा मात्र होइन, राज्य उत्पत्ति हुँदा संसारभरि राजाहरू नै राज्यका मालिक थिए । जनता कहिले दास भएका छन्, कहिले भूदास भएका छन् । जीवन–मरणको संघर्ष गर्दै जनताले राज्य सञ्चालनमा हिस्सेदारी प्राप्त गर्दै अन्तमा राज्य नै कब्जा गरेर जनता नै राज्यका मालिक भएका छन् ।

स्कुल, कलेजमा पढाउनका निम्ति लेखिएका इतिहास अहिले पनि यथार्थ रूपमा प्रस्तुत गरिएको देखिँदैन । नेपालको साँचो इतिहास के हो ? त्यति मात्र होइन, कतिपय विद्वान्ले नेपालको भौगर्भिक अवस्थाका सम्बन्धमा लेखेका रचनाहरूको अध्ययनबाट मलाई लाग्यो– नेपालको भौगर्भिक अवस्था पनि अध्ययन गर्न जरुरी छ । केही समयपहिले नेपालको वास्तविक जानकारी लिन ब्रह्माण्डको यथार्थ जानकारी लिनुपर्छ भन्ने लागेको थियो । त्यसपछि मैले ब्रह्माण्डसम्बन्धी लेखिएका रचना खोजीखोजी पढ्न थालें । विभिन्न खगोलशास्त्रीका रचना, अन्तर्राष्ट्रिय संस्था खासगरी नासाका अनुसन्धान र निष्कर्ष साथै ब्रह्माण्ड सम्बन्धमा ऋग्वेदलगायत मार्क्सवादी दर्शनको समेत सहयोग लिएर आफ्नो ज्ञानको दायरा बढाएँ । त्यसै बेला नेपालको भौगर्भिक अवस्थाका सम्बन्धमा पनि जानकारी लिनुपर्छ भन्ने लाग्यो । कतिपय विषय पहिले पनि अध्ययन गरिएकै थियो । थप अध्ययन सुरु गरें । म जुन निष्कर्षमा पुगें, त्यसलाई यहाँ संक्षिप्त रूपले प्रस्तुत गरेको छु । मैले बनाएको विचार के हो भने गलत लेखेको भए सत्यतथ्य प्रकट हुनेछ र आफूलाई सच्याउनेछु । सत्य भए पनि सन्दर्भ र स्रोत उल्लेख गर्न नसकेको अवस्थामा ती आलोचनात्मक दृष्टिकोणका आधारमा मैले अरू जानकारी प्राप्त गर्नेछु ।

हाम्रो राष्ट्र नेपाल हो र हामी नेपाली हौं । यो नै विश्वमा हामी नेपालीको पहिचान हो । अहिले नेपालको भूमि १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार हाम्रो भूमिमाथिको सम्पूर्ण आकाश र त्यत्तिकै भूगर्भमा नेपालको अधिकार छ । नेपाली सेनाले नेपाली जनता, नेपाली भूमि, नेपाली आकाश र नेपाली भूगर्भको निरन्तर निगरानी, रखबारी र संरक्षण गर्छ । नेपाली जनताले पनि यहाँ निर्माण भएका अनेक संरचनाको प्रयोग गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट गरिएका अधिकार, कर्तव्य पालना भए, नभएको निरन्तर निगरानी गरिरहनुपर्छ ।

यो देशको नाम कसरी नेपाल रहन गयो भन्ने विषय र यहाँको भौगर्भिक सन्दर्भमा केही चर्चा गरौं । ईशापूर्व करिब ४ हजार वर्षदेखि करिब २ हजार वर्षसम्म पश्चिममा कश्मीरदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको हिन्दकुश पर्वतमालाको सम्पूर्ण पहाडी क्षेत्रमा किरात जातिका विभिन्न समूहको बसोबास र चहलपहल थियो । त्यसबेला वाग्मती उपत्यकासहित हिन्दकुश पर्वतमालाको सम्पूर्ण दक्षिणी भागमा गंगा तथा बंगालको खाडीसम्म किरातहरूकै गणराज्य थिए भन्ने विषय पनि इतिहासमा पाइन्छ । त्यसबेला नै उनीहरूले वाग्मती उपत्यकालाई नेपाल नामकरण गरिसकेका थिए । ने शब्दको अर्थ घर र पाल शब्दको अर्थ ऊन हुन्छ । यी दुई शब्द जोडिएर नेपाल भएको हो । बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रूपरेखा’ पुस्तकको पृष्ठ ४७ मा ‘नेपाल शब्दको व्याख्या’ उल्लेख छ, जसअनुसार उपत्यकामा ईशाको दोस्रो शताब्दीमा मात्र प्राकृत संस्कृतभाषी लिच्छविहरू नेपाल आएका हुन् । मञ्जुश्रीले चोभारमा आफ्नो खड्गले पहाड काटेर वाग्मती उपत्यकाको पानी निकास गरेपछि नेमुनिले बस्ती बसालेको हुनाले नेपाल रहेको भन्ने विचार गलत, तथ्यहीन, कपोलकल्पित छ । तथ्य र तर्कले पुष्टि गर्न सक्ने निष्कर्ष मात्र सत्य हुन्छ । नेपालको ऐतिहासिक रूपरेखामा प्रस्तुत आधार तथ्यसँग र तर्कयुक्त पनि छ ।

तिनाउ नदीको पानीबाट विद्युत् उत्पादन गरी त्यसको प्रयोगबाट बुटवलमा घरेलु कलकारखाना सञ्चालन गर्नुका साथै बत्ती बाल्ने इन्धनका रूपमा प्रयोग गर्ने उद्देश्यले २०२५/२६ सालतिर त्यहाँ सुरुङ खन्न थालियो । त्यसै दौरान पुरातात्त्विक महत्त्वको एउटा वस्तु फेला पर्‍यो । त्यसलाई विदेशतिर जाँच्न पठाउँदा निष्कर्ष दिइयो– त्यो वस्तु १ करोड ९ लाख वर्ष पुरानो आदिमानव रामापिथेकसको चट्टानमा परिणत भएको दाँत हो । यसमा मेरो थप निष्कर्ष के छ भने १ करोड ९ लाख वर्षपहिले यो क्षेत्रमा प्रलयकारी भूकम्प गयो । त्यो भूकम्पमा परेर एउटा रामापिथेकस चट्टानको कापमा फस्यो । पछि त्यसको दाँत चट्टानमा परिणत भयो । त्यो भूकम्पअघि महाकाली नदीसहित जोगबुढा, कर्णाली, भेरी, सेतीसहितको महाताल, बबई नदीसहित सिंगो दाङ उपत्यका, प्यूठान, माडी र झिमरुक नदीहरू त्यसबेला तालका रूपमा थिए । पाल्पाको माडी उपत्यकासहित तिनाउका सबै शाखा नदीसहित सबै तालका रूपमा थिए । त्यसैगरी, चितवन र नवलपुरसहितको नारायणी नदी पनि ठूलो तालको रूपमा थियो । देउघाटभन्दा उत्तर–पश्चिम र त्यसपछि पूर्व–उत्तरसम्म धेरै ठाउँमा कालीगण्डकी पनि तालकै रूपमा थियो । आजको मुस्ताङ उपत्यका हिमाली तालका रूपमा थियो । त्यसबेला सम्पूर्ण वाग्मती उपत्यका जलमग्न ताल नै थियो । त्यसैगरी कोशी नदीको चतराभन्दा उत्तरका कोशी र त्यसका सहायक नदीमा अनेक ताल थिए । महाभूकम्पले उथलपुथल मच्चाएपछि सबै प्राकृतिक बाँध फुटेर पहिलेदेखि पानीको निकासको बाटोबाट सबै पानी तराईतिर बग्दै गंगामा गएर मिसिए । सबै ठूला नदीमा बनेका तालको निष्कासन भएको ठाउँमा आज गएर हेर्दा महसुस हुन्छ— कसैले चट्टान काटेर तालको पानी बाहिर बगाएका हुन् । तर, ती सबै त्यही १ करोड ९ लाख वर्षपहिलेको महाभूकम्पको करामत थियो ।

एंगेल्सको कुनै रचनामा मैले पढेको छु— झन्डै ३ अर्ब वर्षपहिले भूमध्यरेखामा रहेको एउटा महादेशमा मानिसका रूपमा एउटा प्रजाति विकसित भइरहेको थियो । त्यसबेलाको त्यो प्रजाति ज्यादै ठूलो शरीरसहितको थियो । तर करिब ३ अर्ब वर्षपहिले नै त्यो प्लेट महासागरमा डुब्यो । त्यसमा विकसित भएका सबै प्राणी त्योसँगै डुबेर समाप्त भए । अरू कसैको रचनामा २/३ अर्ब वर्षपहिले उत्तरी ध्रुवमा ज्वालामुखी विस्फोटसँगै प्रलयकारी भूकम्प गएको उल्लेख छ । त्यसपछि नै त्यहाँ जमेर रहेको सबै हिउँ पग्लिएर ध्रुवीय क्षेत्रमा रहेको बालुवा बगाएर चीन, तिब्बत, युरोप, इजिप्ट मध्यपूर्वसहितका ठूलो क्षेत्रमा पुर्‍यायो । ती क्षेत्रमध्ये कति मरुभूमिमा परिणत भए । अफ्रिकाको साहारा, भारतको थार र मध्यपूर्वको सम्पूर्ण क्षेत्रका मरुभूमि पनि त्यसैबेला निर्माण भएका हुन् । मेरो विचारमा त्यही उथलपुथलको अवस्थामा भूमध्यरेखामा रहेको प्लेट पानीमा डुबेको हुनुपर्छ । अर्बौं वर्षपहिले अहिले दक्षिणी गोलार्द्धमा रहेको अस्ट्रेलिया महादेश त्यसबेला अहिले भारत रहेको स्थानमा थियो भनेर पनि केहीले तर्क गरेका छन् । तिनका भनाइमा उत्तरी ध्रुवमा प्रकट भएको प्रलयकारी भूकम्पकै कारण अस्ट्रेलिया दक्षिण प्रस्थान गर्न सुरु गर्‍यो । त्यही गतिमा भूमध्यरेखामा अवस्थित प्लेट पनि उत्तरतर्फ प्रस्थान गर्‍यो । त्यही प्लेटलाई भूगर्भविद्ले डेकन नाम राखेका हुन् । आज डेकन प्लेट जहाँ अवस्थित छ, पहिले त्यहीँ अस्ट्रेलियन प्लेट थियो । यी दुई प्लेट एकअर्को दिशातर्फ यात्राको अवधि पनि अर्बौं वर्षकै थियो । एउटा निस्कने र अर्को आइपुग्ने अवधिमा आजको थार मरुभूमि स्थलदेखि बर्मासम्मको भूभागमा टेथिस सागर विकसित भयो । त्यही टेथिस सागरभित्र डेकन प्लेट आएर टिबेटियन प्लेटलाई ठक्कर दिन थाल्यो । त्यही क्रियाले नै टेथिस सागरभित्रको भूगर्भमा नेपालको गर्भादान भएको हो । २५/३० करोड वर्षपछि हिमालय पर्वतमाला टेथिस सागरबाट बाहिर निस्कन थाल्यो । केही करोड वर्षपछि सम्पूर्ण हिमालय पर्वतमाला टेथिस सागरबाट बाहिर निस्क्यो । अझ केही करोड वर्षपछि शिवालिक पर्वतमाला (चुरे) टेथिस सागरबाट बाहिर निस्कने प्रक्रिया सुरु भयो । त्यही कालमा बंगालको खाडीमा ठूलो क्षेत्रको भूमि भूगर्भतर्फ भासियो । टेथिस सागरको सबै पानी त्यही खाडीमा प्रवेश गर्‍यो, जसले गर्दा पश्चिममा थार प्रदेश, दक्षिणमा विध्याञ्चल प्रदेश र उत्तरमा शिवालिक पर्वतमालाको काखमा नेपाल र भारतको तराई क्षेत्र प्रकट भयो । यो तथ्य महेश चौधरीले आफ्नो भूगोलसम्बन्धी रचनामा उल्लेख गर्नुभएको छ ।

टेथिस सागरमा विकसित अनेक जलचर मरेपछि रूपान्तरण उन्मुख जीवांश नै हिमालय पर्वतमाला सागरबाट बाहिर निस्कँदा सँगै बाहिर निस्केका हुन् । तिनै जीवांश हावाको सम्पर्कमा आएपछि करोडौं वर्षमा शालिग्रामका रूपमा विकसित भए । लाखौं वर्षपछि यिनीहरू कोइलाको रूप लिँदै हीरामा परिणत हुनेछन् । यस्तै अवस्थामा विकसित शालिग्रामहरूलाई आवश्यक ताप र दबाबमा राखेर चीनले हीरामा विकसित गरेर बजारमा पनि पठाउने गरेको सुन्नमा आएको छ । जीवांशबाट निर्माण भएको कार्बन नै ताप र दबाबबाट हीरा बन्ने हो ।

टिबेटियन प्लेट र डेकन प्लेट अहिले पनि टक्करकै अवस्थामा छन् । यो संयोग नै मान्नुपर्छ, संसारमा अरू कुनै प्लेट यस्तो टक्करको अवस्थामा छैनन् । टक्करकै अवस्थाका कारण यो क्षेत्र भूकम्पीय प्रभावको क्षेत्रभित्र पर्छ । हिन्दकुश पर्वतमाला र शिवालिक पर्वतमालाहरू पृथ्वीमा विकसित भएका अन्य भूखण्डभन्दा धेरै कमजोर छन् । यहाँका भूखण्डमा माटोको विकास पनि धेरैपछि मात्र भएको हो । हामीले जसलाई माटो भन्छौं, त्यो वनस्पति र जीव मरेपछि लाखौं वर्षपछि रूपान्तरित भएको वस्तु हो । त्यसो भएर यहाँको माटो अत्यन्त कमजोर अवस्थामा छ । पानी पर्दा पग्लिहाल्ने र भलपानी बनेर बगिहाल्ने अवस्थामा छ । त्यसो भएर यहाँ बाटो खन्दा, नहर बनाउँदा, ट्र्याक्टर, गोरु आदिले जोत्दा, कोदालो चलाउँदा धेरै विचार पुर्‍याउनुपर्ने हुन्छ । यो अवस्थालाई ख्याल गर्दै सम्पूर्ण पहाडी क्षेत्रमा बसोबास गर्ने जनताले एक पटक लगाएपछि वर्षौंसम्म फलिरहने स्याउ, सुन्तला, आँप, लिची, लहरे तरकारी, कफी र चिया मात्र लगाउनुपर्छ । बाटोका निम्ति कि सुरुङमार्ग कि स्काई वे मात्र विकास गर्नुपर्छ ।

हिमालय पर्वतमाला, त्यहाँ रहेका सर्वोच्च शिखर, हिउँमा खेल्ने चौंरी, भेडा, च्याङ्ग्रा, बहुमूल्य जडीबुटी, मध्यपहाडी क्षेत्रमा रहेको हरियाली, त्यहाँ फल्ने फलफूल, कलकल गर्दै बग्ने सङ्लो पानीले भरिएका नदीहरू, नेपाल र नेपाली जनताका निम्ति प्रकृतिप्रदत्त उपहार हुन् । यिनलाई जस्ताको तस्तै राखेर जनताको जीवनस्तर उन्नत गर्ने काममा प्रयोग गर्न सक्नुपर्छ । जबसम्म हामीले भूमिमाथि व्यक्तिगत स्वामित्व कायम हुने व्यवस्था राख्नेछौं, नेपालको कुनै भूखण्डलाई प्राकृतिक अवस्थामा सुरक्षित रहन सक्दैन । त्यसो भएर सम्पूर्ण भूमि राष्ट्रियकरण गरी राज्यका मातहत ल्याउनु नेपाल र नेपालीको अस्तित्वसँग सम्बन्धित छ । यसो गर्न सकिएन भने बाढीपहिरो, जहाँतहीँ भूस्खलन, जहाँतहीँ नदी कटान भएर हामी समाप्त हुनेछौं । अन्तमा नेपालमा रैथाने भएर बस्ने कोही पनि हुने छैन ।

नेपाल पृथ्वीको स्वर्ग हो । यसको रक्षा गरौं र जनताको हितका पक्षमा शतप्रतिशत प्रयोग गरौं । नेपाली भूमि प्रयोग गर्न जान्यौं भने हामी संसारकै सबभन्दा धनी, सुसंस्कृत, वैज्ञानिक र बौद्धिक क्षमताले उन्नतस्तर प्राप्त भएको अवस्थामा पुग्नेछौं । प्रशस्तै रोजगारीको अवसर नेपालमै प्राप्त हुनेछ ।

प्रकाशित : श्रावण २, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×