कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नीति र नेता : केही असहमति 

पार्टी इतिहासका अनेक कालखण्डमा मैले एक पटक सम्मान गरेका कुनै पनि नेतालाई अपमान गरेको छैन । त्यसो भएर मैले नीति एउटा, नेता अर्को बनाएको पनि छैन । त्यस्तो कहिल्यै हुन पनि सक्दैन । नेताबिनाको नीति र नीतिबिनाको नेता सम्भव पनि छैन ।
वामदेव गौतम

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मलाई नीति एउटाको नेता अर्कैको बनाउने व्यक्ति भनेर आरोप लगाउनुभएछ । यस्ता विषय एउटै पार्टीमा समावेश भएका बेला धेरै पटक हुन सक्छन् । मैले कुन नेताको नीतिमा कुन नेतालाई स्थापित गरें ? फेरि अहिलेको परिस्थितिमा चर्चामा ल्याएर भुसालले किन मूल्य बढाइदिन खोज्नुभएको हो बुझ्न सकेको छैन ।

नीति र नेता : केही असहमति 

जस्तो अवस्थामा पनि म सत्यको पक्षमा रहने भएकाले उहाँको आरोपलाई सहर्ष स्वीकार्छु । मैले पार्टीभित्र एक पटक होइन अनेक पटक यस्तो गरेको छु । यस्ता घटना सम्झँदै लेख्दै जाने विचार गरेर आज यस सम्बन्धमा कलम चलाएको छु ।

घटना १

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तुल्सीलाल अमात्य हुनुभएका बेला २०२२ सालमा पहिलो पटक म पार्टी सदस्य बनेको हुँ । पार्टी विभाजित भएपछि पुष्पलाल महासचिव हुनुभएको अवस्थामा २०३६ सालमा दोस्रो पटक पार्टी सदस्य बनें । त्यसबेला म पहिलो पटक भैरहवामा पार्टी सेलमा संगठित भएँ । त्यहीँबाट पहिलो पटक मेरो भूमिगत जीवन सुरु भयो । पछि म रूपन्देहीको जिल्ला कमिटी सचिव पनि भएँ । बनारस निर्वासनमा रहनुभएका पुष्पलाललाई अनेक पटक भेट गरें र उहाँबाट ज्यादै प्रभावित भएँ । उहाँसँग केशरमणिले अन्तरपार्टी संघर्ष सञ्चालन गरेका बेला रूपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका पार्टी कमिटीले पुष्पलालको पक्ष लिएका थिए । केशरमणिका विरुद्ध अन्तरपार्टी संघर्ष सञ्चालन गर्ने म पहिलो जिल्ला कमिटी सचिव थिएँ । त्यो अन्तरपार्टी संघर्षले विपरीत अवस्था सिर्जना भयो । पुष्पलालले हामीलाई होइन केशरमणिलाई बचाउन लाग्नुभयो । त्यस्तो अवस्थामा हाम्रो पार्टी संघर्ष पुष्पलालसँग केन्द्रित गराएर पार्टी विभाजन गर्‍यौं र मुक्ति मोर्चा नाममा केन्द्रीय स्तरको संगठन खडा गर्‍यौं । त्यसबेलाको संघर्षमा म मात्र होइन जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी र युद्धप्रसाद मिश्र सामेल हुनुहुन्थ्यो । हाम्रो समूहको नेता आश्रित हुनुहुन्थ्यो । त्यसैबेला सीपी मैनालीको नेतृत्वमा नेकपा कोर्डिनेसन केन्द्रमार्फत नख्खु जेल फोरेपछि सबै कमरेडहरू बाहिर आउनुभयो । हामीले त्यो समूहसँग सम्पर्क गर्‍यौं ।

हाम्रो समूहले तुरुन्तै कोर्डिनेसन केन्द्रसँग वार्ता गर्ने निर्णय गर्‍यो र आश्रितको नेतृत्वमा म सदस्य रहेको वार्ता टोली बनाइयो । तुरुन्तै हामी भैरहवाबाट पोखरा हुँदै भूमिगत रहनुभएका सीपी मैनालीसँग वार्ता गर्न काठमाडौं पुग्यौं । वार्तामा एउटै पार्टी बनाउने लगभग टुंगोमा पुग्यौं । एउटै पार्टी निर्माण गरे पनि फरक विचार राख्न आश्रितले मलाई आदेश दिनुभयो । कोर्डिनेसन केन्द्रले चीनका अध्यक्ष नेपालका पनि अध्यक्ष, चारु मजुमदार लाइन नेपालको राजनीतिक लाइन र वर्ग शत्रु खतम लाइनलाई हामी मान्न सक्दैनौं भन्ने विषयलाई मैले प्रस्तुत गरें । सीपी मैनालीले पार्टी एकतापछि सबै समाधान गरिनेछ भनेर आश्वासन दिनुभयो । वार्ताबाट फर्केर आउनासाथ म रूपन्देहीको अमुवा गाउँमा पक्राउ परें । दुई वर्ष जेल बसें । त्यसैबीच मुक्ति मोर्चा र कोर्डिनेसन केन्द्रबीच २०३४ सालमा पार्टी एकता भयो । त्यसबेला पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी मुख्य शक्ति मुक्ति मोर्चामा सामेल भइसकेको थियो । २०३५ सालमा कोर्डिनेसन केन्द्र नेकपा (माले) मा रूपान्तरण भयो । जेलभित्र र बाहिर सबै ठाउँमा हामी नेकपा (माले) मा संगठित भयौं । म पनि काठमाडौं सेन्ट्रल जेलमा पहिले कोर्डिनेसन केन्द्रको सदस्य र पछि नेकपा (माले) को सदस्य भएँ । पुष्पलालको संगठनमा विद्रोह गर्दा, मुक्ति मोर्चा निर्माण गर्दा र मुक्ति मोर्चाको कोर्डिनेसन केन्द्रसँग एकता गर्ने सन्दर्भमा मेरो भूमिका सधैं मुख्य र अगुवा थियो । त्यही पार्टी पछि नेकपा (मार्क्सवादी) सित २०४७ सालमा एकता गरेपछि नेकपा (एमाले) निर्माण भएको हो ।

घटना २

२०३७ सालतिर नेकपा (माले) राष्ट्रव्यापी बन्यो । पार्टीभित्र विभिन्न विषयमा मतभिन्नता सुरु भए । त्यसमा महासचिव सीपी मैनालीको भूमिका विवादित हुन थाल्यो । त्यसैबेला महोत्तरीको चुरे पहाड नजिकतिर केन्द्रीय कमिटी बैठक बोलाइयो । आफ्नो रायसहितको कामको लिखित प्रतिवेदन मैले पेस गरें । तर केन्द्रीय अरू सबै कमरेडले कामको प्रगति प्रतिवेदन ल्याउनुभएन । मेरो प्रतिवेदनमाथि छलफल भयो र सर्वसम्मतिले पारित भयो । यस्तो पहिले भएको थिएन । बृहत् प्रतिवेदन महासचिवले नै प्रस्तुत गर्नुपर्थ्यो । तर उहाँले प्रतिवेदन दिनुभएन । आफू महासचिव पदमा नरहने विषयमा मात्र केही बोल्नुभयो । त्यत्तिकैमा अमृत बोहराले तिलस्मी रूपमा सीपी मैनालीले जेलमा रहनुभएका कमरेडहरू आरके मैनाली र मोदनाथ प्रश्रितलाई उल्लेख गर्दै पार्टीभित्र उत्पन्न यावत् विषयका सम्बन्धमा महासचिवले लेख्नुभएको पत्र पढेर सुनाउनुभयो । ‘कुन तरिकाले हुन्छ, तपाईंहरू जेलबाहिर आउनुपर्‍यो नत्र पार्टी समाप्त हुने दिशामा गयो’ भनेर लेखिएको थियो । पत्र पढेपछि त्यो दुस्मनको हातमा पर्नुअघि हाम्रो हातमा परेर मात्र पार्टी बच्न सक्ने स्थिति बन्यो नत्र हामी सबै जेलमा पुगेका हुने थियौं र राष्ट्रव्यापी रूपमा पार्टी तहसनहस हुने थियो भन्ने आरोप सीपी मैनालीलाई लगाइयो ।

उहाँमाथि जे जे आरोप लगाइयो, मनगढन्ते थिए । सीपी मैनालीले भन्नुभयो,, ‘म महासचिवबाट स्वतः हट्न चाहिरहेको छु । तर किन मलाई झूटा आरोपमा कारबाही जस्तो गर्नुहुन्छ ?’ त्यसपछि उहाँलाई कुनै आरोप नलगाई राजीनामा मागियो र स्वीकृत गरियो । त्यहीबेला मुकुन्द न्यौपानेले महासचिवका लागि झलनाथ खनालको नाम प्रस्ताव गर्नुभयो । सीपीसहित उपस्थित सबैले समर्थन गर्‍यौं र उहाँ महासचिव बन्नुभयो । त्यसैबेला मदन भण्डारीले भन्नुभयो, ‘हामी कसैले लिखित प्रतिवेदन ल्याएका छैनौं, क.वामदेवले प्रस्तुत गर्नुभएको प्रतिवेदन परिमार्जन गरेर तदनुरूप अगाडि बढौं ।’ पछि त्यही प्रतिवेदनमा आधारित भएर लेखिएको अपानी जारी भयो । झलनाथले पार्टीको नेतृत्व सम्हाल्नुभयो ।

घटना ३

२०४४ फागुनतिर हुनुपर्छ । केही विशेष कामले पार्टी हेडक्वाटरमा गएको थिएँ । त्यसबेला झलनाथ महासचिव हुनुभएको थियो । पार्टी हेडक्वाटर जुन क्षेत्रमा कायम गरिन्छ, त्यहाँका इन्चार्जले सबै जिम्मेवारी निर्वाह गर्नुपर्ने चलन थियो । कडा भूमिगत अवस्थामा रहनुपर्दा केन्द्रीय कार्यालय सम्बन्धित बनाएर पार्टीले अरू कसैलाई पनि थप जिम्मेवारी प्रदान गर्ने चलन थियो । तर त्यसबेला उहाँ बाहिर जानुभएको जानकारी पाएँ । राजधानी उपत्यकाको इन्चार्जमा माधव नेपाल हुनुहुन्थ्यो । मैले उहाँलाई सम्पर्क गरें । महासचिव बाहिर जानुभएकाले एउटा सेल्टरमा बस्न भन्नुभयो । भोलिपल्ट बिहानै माधव म बसेको सेल्टरमा आउनुभयो र विस्मयकारी भावभंगीमासहित भन्नुभयो, ‘लौ बर्बाद भयो । महासचिव त पक्राउ पर्नुभएछ । अहिले जेलमै त लगिसकेको छैन, एउटा होटलमा राखेको छ ।’ प्रतिवाद गर्दै भनें, ‘पक्राउ गरेर होटलमा लगेर राखेको यो सूचना भरपर्दो छैन ।’ माधवले भन्नुभयो, ‘महासचिव आफैं सुवास नेम्वाङको पुतलीसडकस्थित ल फर्ममा आएर भन्नुभएको रहेछ, हिजो बिहान ।’

सुवासकहाँ पुगेपछि माधव र सुवाससित मैले भनें, ‘यो मनोरोगका कारण हुन सक्छ उहाँ पक्राउ पर्नुभएको छैन । मानिसमा कहिलेकाहीँ यस्तो हुन सक्छ ।’ त्यसबेला भीम रावल पनि त्यहीँ हुनुहुन्थ्यो । सबैको अनुहार गम्भीर देखिन्थ्यो । मैले भीम रावललाई ‘त्यही होटलमा जाऔं’ भनें । तर, उहाँले ‘महासचिवले नआउन भन्नुभएको’ भन्नुभयो । माधव आफ्नो सेल्टरमा फर्कनुभयो । रावलले मलाई बाँसघारीतर्फ लैजानुभयो । अलिपर पुगेपछि इशाराले गल्ली र झलनाथ बस्नुभएको होटलतिर संकेत गर्नुभयो । म सिधै त्यही घरमा पुगें । यताउता हेर्दै नहेरी घरमा पसें । ढोका खुलै थियो । सिँढी चढेर पहिलो तलाको पश्चिमतिरको कोठामा पसें । महासचिव अत्तालिनुभयो । उहाँ नाइट सुटमा हुनुहुन्थ्यो । नजिकै चप्पल थियो । मैले हातमा बलियो गरी समातें, चप्पल लगाउन भनें । उहाँले त्यसै गर्नुभयो । उहाँलाई लिएर म सडकमा निस्कें । त्यहाँ कार, ट्याक्सी थिएनन् । तीनपांग्रेमा दुवै चढ्यौं । हामीलाई

पछ्याउँदै सुरेन्द्र पाण्डे आउनुभयो । मैले इशारा गर्दै भनें, ‘होटलको हिसाबकिताब मिलाउनुस्, हामी ललितपुर इन्जिनियरिङ क्याम्पसतिर जान्छौं ।’ शुक्रराज सालिकनिर पुग्दा ट्याक्सी लिएर सुरेन्द्र आउनुभयो र हाम्रो टेम्पुको अगाडि रोक्नुभयो । हामी टेम्पो छाडेर सुरेन्द्रको ट्याक्सीमा चढ्यौं । उहाँकै अगुवाइमा ठमेल पुग्यौं र एउटा घरको माथिल्लो तलामा पुगेपछि मात्र सास फेर्‍यौं । त्यहाँ पुगेपछि झलनाथले भन्नुभयो, ‘तपाईंहरूले बर्बाद गर्नुभयो । अब मसहित सबै पक्राउ पर्छौं । पार्टी तहसनहस हुन्छ ।’ तर मैले भनें, ‘जे गरियो गर्नैपर्ने गरेका छौं । तपाईंलाई मनोभ्रम भएको हो । ढुक्क भएर बस्नुस् ।’

काठमाडौंको इन्चार्ज त्यसबेला सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो । मैले दुवैलाई राखेर त्यही भनें, ‘कहिलेकाहीँ मनोभ्रम भयो भने यस्तो हुन्छ । यो प्रतिक्रियावादीको योजना केही होइन, पक्राउ परेको पनि होइन, पार्टीलाई कुनै नोक्सान पनि भएको छैन ।’

घटना–४ र अनेक सन्दर्भ

विभिन्न कामले हुन सक्छ मदन भण्डारी, जीवराज आश्रित, अमृत बोहरा, प्रदीप नेपाल उपत्यकामै हुनुहुन्थ्यो । माधव नेपाल उपत्यका इन्चार्ज हुनुभयो । त्यसै दिन राति मलाई कुनै कमरेडले एउटा सेल्टरमा लिएर जानुभयो । त्यहाँ महासचिव झलनाथ खनाल, पोलिटब्युरो सदस्यहरू, मदन, माधव, जीवराज, अमृत उपस्थित हुनुहुन्थ्यो । त्यो आकस्मिक पोलिटब्युरो बैठक रहेछ । प्रदीप नेपाल पनि त्यहाँ आइपुग्नुभयो ।

मैले अनुमान गरेको भन्दा बैठकको वातावरण अत्यन्त गम्भीर बनिरहेको थियो । छलफलको अवस्थालाई बुझ्दा बैठक महासचिवले नबोलाएर बहुमत पोलिटब्युरो सदस्यले बोलाउनुभएको रहेछ, महासचिवसँग सम्बन्धित घटनालाई लिएर । महासचिवले आफू पक्राउ भएको मनोभ्रम कसरी सिर्जना भयो त्यसबारे रिपोर्ट दिनुभयो । पार्टीको चौथो महाधिवेशन तराईको कुनै जिल्लामा गर्ने निर्णय भइसकेको थियो । तर कोशी–मेचीतिर बढी सुरक्षित हुन्छ कि भनेर त्यताको अवस्था बुझ्न झापा र मोरङ जानुभएको रहेछ । फर्कंदा सुदूरपश्चिमतिर जाने बसमा मोरङबाट नारायणगढसम्मको टिकट लिएर बस चढ्नुभएछ । उहाँ झ्यालतिरको सिटमा बस्नुभएछ, छेउमा ‘पुलिस कट’ कपाल काटेको एक व्यक्ति आएर बसिहालेछ । झलनाथले त्यो व्यक्तिलाई पुलिस ठान्नुभएछ र शंका गर्नुभएछ । नारायणगढ पुगेर गाडी परिवर्तन गर्नुपर्ने भएकाले उहाँ गाडीबाट ओर्लिएर टिकट काउन्टरतिर जानुभयो । शंका गरेको मानिस गाडीबाट ओर्लेर उहाँकै पछि लाइन लागेछ । उहाँले काठमाडौंको टिकट लिनुभयो, उसले पनि उस्तै टिकट लिएछ । सिट पनि सँगैको । काठमाडौं पुरानो बसपार्क पुगेपछि त्यो व्यक्तिले झलनाथलाई भनेछ, ‘तपार्इं होटलमै बस्ने होला नि हैन ?’ पुरानो बसपार्कमा ग्राहक खोज्न होटलहरूले कामदार पठाउने चलन थियो । त्यो मान्छेले ओर्लनासाथ एउटा केटालाई बोलाएर सरलाई पनि लिएर जाऊ है भनेछ । अब झलनाथको मनमा पर्‍यो— म पक्राउ परें । सेल्टरतिर जाऊँ सेल्टरबारे खुल्छ । पार्टीको जिम्मेवार व्यक्तिकहाँ जाऊँ, पुलिस पनि सँगै जान्छ । पार्टी र अरूलाई जोगाउन पुलिसजस्तो व्यक्तिले भनेकै होटलमा जानु नै बुद्धिमानी हुने ठानेर बाँसघारी काठमाडौं प्लाजा पुग्नुभएको रहेछ । बैठकमा झलनाथले भन्नुभयो, ‘अहिले मलाई स्पष्ट भयो । त्यो सबै भ्रम थियो । किन मलाई त्यस्तो भयो मैले नै थाहा पाएको छैन ।’

बैठकमा अरू कमरेडहरूले घटनाको विश्लेषण गर्दै निष्कर्ष दिन थाल्नुभयो । सबभन्दा पहिले मदन भण्डारीले भन्नुभयो, ‘यो घटना कायरताको अन्तिम रूप हो । महासचिवले पार्टी जोगाउन त्यसो गरेको भने तापनि प्रकारान्तरले तपार्इंले आत्मसमर्पण नै गर्नुभएको हो । यथार्थमा त्यो सत्य थिएन र त तपाईं पक्राउ पर्नुभएन । त्यसमा पनि पार्टीको महासचिव जस्तो व्यक्तिले आत्मसमर्पणको विचार बनाउनुभयो, यसलाई सानोतिनो घटना मान्न सकिन्न । तपाईं पार्टी नेतृत्वको जिम्मेवारी बहन गर्न लायक पनि हुनुहुन्न ।’ उपस्थित कमरेडहरूले यही विचारलाई समर्थन गर्नुभयो । आश्रितले महासचिव पदबाट राजीनामा गर्नुपर्छ र मदन भण्डारीलाई महासचिव बनाउनुपर्छ भनेर प्रस्ताव गर्नुभयो । महासचिवले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई मदन र मबाहेक अरू सबैले समर्थन गर्नुभयो । मैले त्यसबेला पनि झलनाथलाई धेरै सम्मान गर्दै उहाँबाट भएको गल्ती गम्भीर भए पनि मनोभ्रम मात्र हो भनेको थिएँ । त्यो बैठकले निकट भविष्यमा हुन गइरहेको चौथो महाधिवेशनबाट मदनलाई महासचिवको जिम्मेवारी दिने निर्णय गर्दै झलानाथको जिम्मेवारी यथावत् कायम गर्‍यो ।

चौथो महाधिवेशन सम्बन्धमा दस्ताबेज क–कसले तयार गर्ने भन्नेमा पनि त्यही बैठकले निर्णय गर्‍यो । तदनुसार राजनीतिक प्रतिवेदन झलनाथले तयार गर्ने, संगठनात्मक प्रस्ताव मदनले, विधान माधवले तयार गर्ने जिम्मेवारी तय गरियो । महाधिवेशन सिरहाको एक बस्तीमा गर्ने निर्णय भयो र बैठक सम्पन्न भयो । त्यसै बैठकको निर्णयबमोजिम चौथो महाधिवेशन सम्पन्न पनि भयो । कम्युनिस्ट पार्टी व्यक्तिगत नेतृत्वमा चल्दैन । यसको विशेषता सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको जिम्मेवारी निर्वाह गर्ने हुन्छ । पार्टीको संगठनात्मक सिद्धान्त नै बनेको छ सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्व ।

पाँचौं महाधिवेशनमा मदनले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतबाट पारित भएको थियो । तर मनमोहन अधिकारी, सीपी मैनाली, सहाना प्रधान, झलनाथ खनालसहितका कमरेडहरूले जनताको बहुदलीय जनवादको विरोधमा परिमार्जित नौलो जनवाद नामकरण गरिएको बहुदलीय सहयोगको कार्यक्रमलाई समर्थन गर्नुभएको थियो । त्यो कार्यक्रम महाधिवेशनमा ठूलो मतभिन्नतासहित पराजित भएको थियो । तथापि पार्टीको अध्यक्ष मनमोहन अधिकारी हुनुभएको थियो र मदन भण्डारी महासचिव । महाधिवेशनपछिको बैठकबाट सहाना प्रधान, सीपी मैनाली, जीवराज आश्रित, माधव नेपाल, ईश्वर पोखरेल र म स्थायी कमिटी सदस्य भएका थियौं । पाँचौं महाधिवेशनमा झलनाथ जनताको बहुदलीय जनवादको सशक्त विरोधमा हुनुहुन्थ्यो तर पार्टीको आठौं महाधिवेशनमा उहाँले जनताको बहुदलीय जनवादलाई मार्क्सवाद लेनिनवादको समकक्ष मार्गदर्शक सिद्धान्त भनेर राजनीतिक दस्ताबेज नै प्रस्तुत गर्नुभयो । त्यही महाधिवेशनदेखि नै नेकपा (एमाले) कार्यकारी अध्यक्षसहितको बहुपदीय प्रणालीमा प्रवेश गरेको हो । त्यसबेला पनि मैले समर्थन नगरेको भए झलनाथ पार्टी अध्यक्ष निर्वाचित हुन सक्नुहुने थिएन । संसदीय दलको निर्वाचनमा मैले समर्थन गर्ने अवस्था देखापरेन, दलको नेतामा पराजित हुनुभयो । त्यसबेला केपी ओलीलाई मैले समर्थन गरें, उहाँ दलको नेता निर्वाचित हुनुभयो । ओली अहिले एमालेका अध्यक्ष तथा पार्टीमा सर्वमान्य नेता हुनुहुन्छ । पार्टी इतिहासका अनेक कालखण्डमा मैले एक पटक सम्मान गरेका कुनै पनि नेतालाई अपमान गरेको छैन । त्यसो भएर यो वामदेवले नीति एउटा नेता अर्को बनाएको पनि छैन । त्यस्तो हुन पनि सक्दैन । नेताबिनाको नीति र नीतिबिनाको नेता सम्भव पनि छैन ।

नेपालका अरू राजनीतिक पार्टीहरूको अवस्था एमालेको जस्तो छैन । निरंकुश राजतन्त्रको अन्त्य र बहुदलीय प्रजातन्त्रको विजयपछि पार्टी एकीकरण भयो । नयाँ राजनीतिक अवस्था र सोभियत संघको पतन र त्यहाँ पुँजीवादको पुनःस्थापनापछि मदन भण्डारीका विचार जनताको बहुदलीय जनवादका नाममा राष्ट्रव्यापी रूपमा स्थापित भए । पाँचौं महाधिवेशनले मार्क्सवाद र लेनिनवादका साथै जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्‍यो । नेपालको राष्ट्रिय राजनीतिको मञ्चमा एमाले उच्चस्तरमा स्थापित भयो । चारैतिरै संसारबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भन्ने प्रचार भइरहेका बेला नेपालमा कम्युनिस्ट आन्दोलन अत्यन्त लोकप्रिय भएर देखापर्‍यो । पार्टीको पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादका विपक्षमा विभिन्न विचार प्रस्तुत भए पनि तिनले खासै स्थान राख्न सकेनन् । महाधिवेशनपछि लगभग सबैजसो नेताहरूले जनताको बहुदलीय जनवादलाई समर्थन गर्न लाग्नुभयो । यद्यपि पार्टीभित्र यदाकता विरोध देखिन्थ्यो । त्यसबेलाको अवस्थामा एमाले आज छैन । जनताको बहुदलीय जनवादले तत्कालीन समयमा जसरी विचार प्रवाहलाई अगाडि बढाइरहेको थियो, जनतामा आशा र विश्वासको लहर थियो, त्यो पनि पाउन सकिएको छैन । पहिलेको एमालेबाट अहिले विभिन्न समूह विकसित भएका छन् । जनताको बहुदलीय जनवादको नाममा जुन उत्साह देखिन्थ्यो, त्यो आज पाउन सकिन्न ।

प्रकाशित : असार १२, २०८१ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×