कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कृपया वैकल्पिक राजनीतिमाथि हुलहुज्जत नगर

सम्पादकीय

पछिल्लो निर्वाचनमा पूर्व र पश्चिम तराईमा आशा जगाएका दुई राजनीतिक दलका नेता/कार्यकर्ताले वैकल्पिक राजनीतिको छविलाई नै धुमिल बनाउन लागेका छन् । मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दल नेता तथा निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार सरकारी कार्यालयका प्रमुखमाथि हातपात गरेका छन् ।

कृपया वैकल्पिक राजनीतिमाथि हुलहुज्जत नगर

अर्को दिन नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरू आपसमा हात हालाहालमा उत्रिएर अराजनीतिक संस्कार देखाए । त्यति मात्र होइन, उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले कुटपिट गर्ने र ज्यान मार्नेसम्मको धम्की दिएको आरोप त्यही पार्टीका नेताहरूले लगाइरहेका छन् । राजनीतिक दलहरूका लागि यी दुवै घटना अशोभनीय मात्र होइन, कानुनी कारबाहीयोग्यसमेत हुन् ।

स्थापनाको एक वर्ष नबित्दै उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा चार सिट जितेको मात्र छैन, सुदूरपश्चिम प्रदेशसभामा निर्णायक शक्ति बनेको छ, तर यही हैसियत उसका लागि भारी भएको छ । सुदूरपश्चिममा कसलाई समर्थन गर्ने भन्नेमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच विवाद उत्कर्षमा छ । अध्यक्ष रञ्जिता सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुनुपर्ने पक्षमा छिन् भने रेशम कांग्रेस नेतृत्वको सरकारमा यथावत् रहनुपर्ने अडानमा छन् । यही विवादका कारण अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा दुई पक्षबीच हात हालाहाल भयो । रेशमले सुदूरपश्चिम सरकार ढाले ज्यान लिने धम्की दिएको आरोप अर्को पक्षका नेताहरूले लगाइरहेका छन् । यो घटनाक्रमले नागरिक उन्मुक्ति पार्टीमा राजनीतिक संस्कारको चरम अभाव रहेको प्रस्ट पार्छ ।

दल होस् वा अरू संस्था, कुनै पनि विषयवस्तुमा निर्णय लिने विधिसम्मत प्रक्रिया हुन्छ । तर नागरिक उन्मुक्तिको नेतृत्वले प्रक्रियाभन्दा प्रभाव, दबाब र धम्कीका भरमा निर्णय गर्ने अलोकतान्त्रिक पद्धति अंगीकार गर्न खोजेको देखिन्छ । निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका नेतालाई मत दिएका नागरिकले यस्तो संस्कारको अपेक्षा गरेका होइनन् । संगठन सञ्चालनमै यस्तो हुलदंगा गर्ने दल सत्ता सञ्चालनको भूमिकामा पुग्दाको अवस्थामा नागरिकले कस्तो अपेक्षा गर्ने ? यो प्रश्नले नागरिकलाई झन् चिन्तित बनाएको छ ।

स्थापनाको छोटो समयमै राम्रो जनाधार बनाएको जनमत पार्टीका नेताहरू पनि उस्तै अशोभनीय हर्कत गर्दै छन् । गत संसदीय निर्वाचनलगत्तै जनमत पार्टी केन्द्रीय सत्ता गठबन्धनमा सामेल हुँदा मन्त्री बनेका अब्दुल खान एउटा व्यक्तिगत भिडियोको विवादमा परेका थिए । यो पार्टीका नेता/कार्यकर्ताले सरकारी कर्मचारीमाथि हुलहुज्जत गरेका उदाहरण विगतमा पनि छन् । त्यस्तै मधेश प्रदेशसभाका संसदीय दल नेता एवं प्रदेशका पूर्वशिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका छन् ।

यादवले प्रदेश सांसदद्वय सकिल अली, शम्भु साह तथा जनमतकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिका प्रमुख वीरेन्द्र माझीसहित कार्यालय पुगेर अधिकारीमाथि हातपात गरेका हुन् । मुख्यमन्त्रीका दाबेदारसमेत रहेका सांसद यादव कर्मचारीलाई त्रासमा राखेर आफूअनुकूल काम गराउन उद्यत् देखिन्छन् । यो वैकल्पिक राजनीति त हुँदै होइन, बरु गएगुज्रेको र जनताबाट अस्वीकृत भइसकेको राजनीतिको निरन्तरता हो । पुराना राजनीतिक दलमाथि प्रश्न उठाएर उदाएका नयाँ दल यस्ता प्रवृत्तिमा लाग्नु आफैंमा उदेकलाग्दो हो ।

जनजागरण र राजनीतिक परिवर्तनका लागि हरेक दलले कुनै न कुनै भूमिका खेलेका हुन्छन् । तर, ती दलले राजनीतिक संस्कार, सुशासन र समृद्धिका सवालमा जनअपेक्षा पूरा गर्न नसक्दा नयाँ दलका लागि स्थान तयार भएको हो । तर नाम मात्र वैकल्पिक भएर पुग्दैन, संस्कार र दृष्टिकोणले पनि फरक हुन सक्नुपर्छ ।

जनताको असन्तुष्टिलाई आक्रोशमा परिणत गर्ने र त्यसैलाई आफ्नो अभीष्ट ठान्ने हो भने अर्को दुर्भाग्य हुनेछ । यस्ता विषयप्रति नयाँ राजनीतिक दलको नेतृत्व साँच्चिकै संवेदनशील हुनुपर्छ । आफ्ना नेता/कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्छ । पुराना दलहरूप्रति असन्तुष्ट नागरिकको आशा र भावनाको भरमा उदाएका राजनीतिक दलका नेताहरूले आफू पनि परीक्षणमा छौं भन्ने बिर्सिएजस्तो देखिँदै छ, त्यसलाई व्यवहारबाट खण्डित गर्नुपर्छ ।

प्रकाशित : चैत्र २०, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×