कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खाँचो सञ्चार साक्षरताको 

बदलिँदो समय र परिवेशसँगै पाठक/श्रोताको रुचि फेरिँदै गएको छ । तर, सञ्चार साक्षरतासम्बन्धी सचेतना बढाउनुपर्ने आवश्यकता न सरकारले महसुस गरेको छ न त प्रकाशन तथा प्रसारण गृहले ।
मधु राई

आजभन्दा १८ वर्षअघि २०६२ सालमा काठमाडौंस्थित अस्मिता महिला प्रकाशन गृहले नेपालका विभिन्न जिल्लामा एकवर्षे सञ्चार साक्षरता अभियान सञ्चालन गर्‍यो । तिनताक अखबारी लेखनमा संलग्न भएकाले मैले पनि मोरङबाट सञ्चार सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर पाएँ ।

खाँचो सञ्चार साक्षरताको 

अभियानको दौरान मसहित अन्य जिल्लाका सहजकर्ताले सञ्चारका विभिन्न माध्यममा महिलासम्बन्धी प्रकाशित तथा प्रसारित समाचारलगायत लेख रचना सुनेर, हेरेर तथा पढेर प्रतिवेदन पेस गर्नुपर्थ्यो । यसका साथै सहजकर्ताले मासिक रूपमा स्थानीय महिलालाई सहभागी गराई बहस सञ्चालन गर्नुपर्थ्यो । अभियान अवधिमा संस्थाले ‘उपयोगी मिडिया सक्रिय उपभोक्ता’ भन्ने पुस्तिका पनि प्रकाशन गरेको थियो ।

पुस्तिकामा उल्लेख गरिएका विषयवस्तुलगायत प्रश्नावलीमा केन्द्रित भई सामूहिक छलफल हुन्थ्यो । यस्ता बहसमा अस्मिता महिला प्रकाशन गृहका सञ्चारकर्मीद्वय मञ्जु थापा र अञ्जु क्षेत्रीले अभियानको औचित्य र आवश्यकताबारे प्रकाश पार्नुहुन्थ्यो । अहिले पनि उक्त गृहले पत्रिका प्रकाशनलगायत सञ्चारमा महिलाको पहुँच र सञ्चारमाध्यममा लैंगिकताका सवालबारे अनुसन्धान गर्छ । अभियानमा सहभागी कतिपय गृहिणी तथा कामकाजी महिला केही वर्ष नारी तथा शिक्षक मासिकका वार्षिक ग्राहकसमेत बनेका थिए, कोभिडपछि त्यो क्रम टुट्यो । केही महिनादेखि मलगायत मेरा शिक्षक सहकर्मीहरू नियमित रूपमा नारी र शिक्षक मासिक पढ्दै आएका छौं । त्यतिमात्र होइन शिक्षकमा प्रकाशित लेखरचनाबारे साप्ताहिक रूपमा शिक्षक–संवाद पनि थालेका छौं ।

पछिल्लो समय सञ्चारका विभिन्न माध्यम बग्रेल्ती सञ्चालनमा छन् भने तीमध्ये कतिपय बन्द भए । विशेषगरी स्थानीयस्तरमा खुलेका सञ्चारका विभिन्न माध्यममध्ये एफएम रेडियो र दैनिक पत्रिकाले केही श्रोता र पाठकसमेत कमाएका छन् । दैनिक पत्रिका तथा अनलाइनले आफ्ना वार्षिकोत्सवलगायत कार्यक्रममा आबद्ध सञ्चारकर्मी तथा लेखकलाई सम्मानसमेत गर्छन् । तथापि नवपाठकसम्म कसरी पुग्ने अर्थात् के कस्ता सामग्री वा स्तम्भ थप्दा पाठक आकर्षित हुन सक्छन् भन्ने विषयमा त्यति छलफल हुँदैन ।

यसरी सञ्चारका विभिन्न माध्यमले आफ्नै तरिकाले वार्षिकोत्सव मनाउने गरे पनि कतिपय स्थापित मूलधारका छापा तथा विद्युतीय माध्यमले रक्तदानलगायत दौडप्रतियोगिता आयोजना गर्ने देखिन्छ । तर पाठक तथा श्रोता बढाउन सञ्चार साक्षरता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरेको पाइँदैन । यसो हुँदा पनि पछिल्लो समय नियमित पत्रपत्रिका पढ्ने पाठक तथा रेडियो सुन्ने श्रोताको संख्या घट्दै गएको छ । उनीहरू सामाजिक सञ्जालमा लोभिएका छन् । सञ्चारविद्हरूको भनाइ सापटी लिने हो भने सञ्चारका जुनसुकै माध्यममा प्रकाशित तथा प्रसारित सामग्री भनेका भोजमा राखिएका चौरासी व्यञ्जनजस्तै हुन् । कस्ता र कुन परिकार ग्रहण गर्दा आफ्नो स्वास्थ्यलाई हानिनोक्सानी पुर्‍याउँछ भन्ने हेक्का स्वयं ग्रहण गर्नेहरूले थाहा पाउन जरुरी छ ।

वास्तवमा मिडिया अर्थात् सञ्चारका विभिन्न माध्यममा प्रकाशित वा प्रसारित सामग्रीको उपयोगिताबारे थाहा पाउन पनि सचेत तथा जागरुक उपभोक्ता बन्न जरुरी छ । कतिपय सामग्री उपयोगी हुँदाहुँदै पनि सञ्चार साक्षरताको कमीले बहुसंख्यक सक्रिय उपभोक्ताका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विष्मात’ सरह हुन पुगेको छ । पछिल्लो समय नेपालमै पनि अन्य क्षेत्रमा भन्दा आधुनिक सूचना र सञ्चारका प्रविधिले क्रान्तिकारी फड्को मारेको छ । तथापि सञ्चार साक्षरताको कमीले सक्रिय उपभोक्ता जन्माउन भने सकेको छैन । यस अर्थमा सामाजिक सञ्जालमा प्रसारित सामग्री समयसापेक्ष र जीवनोपयोगी भए पनि उपभोक्ताले यसलाई जनजीविकासँग जोड्न सकेको देखिँदैन । सामाजिक सञ्जालका सामग्रीलाई मनोरञ्जनका रुपमा लिने बहुसंख्यक शिक्षित उपभोक्ताले पनि सूचना, सन्देशमूलक सामग्री पोस्ट गर्नुभन्दा आफूले घुमेको र खाएको तस्बिर मात्र राख्ने गरेको देखिन्छ । यसरी सामाजिक सञ्जाल ज्ञानगुन बढाउने माध्यमभन्दा पनि मनोरञ्जन प्राप्त गर्ने माध्यम बन्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोगले विसंगति र विकृति मात्र फैलिएको छैन, आपराधिक गतिविधिलाई पनि बढावा दिएको छ । यसले सबै उमेर समूहलाई नराम्ररी गाँजेको छ ।

वास्तवमा हामीकहाँ सञ्चार साक्षरतासम्बन्धी सचेतना बढाउनुपर्ने आवश्यकता न सरकारले महसुस गरेको छ न त प्रकाशन तथा प्रसारणगृहले नै यसका लागि रणनीतिक योजना बनाएका छन् । बदलिँदो समय र परिवेशसँगै पाठकहरूको रुचि पनि फेरिँदै गएको छ भन्ने कुरा बहुसंख्यक प्रकाशन/प्रसारण गृहले बुझेको देखिँदैन । खासमा साक्षरता शब्दले लेख्नेपढ्ने क्षमतालाई जनाउँछ भने सञ्चार साक्षरताले मिडियाले प्रवाह गर्ने समाचार, जानकारी तथा सन्देशलाई विश्लेषण, समालोचना र बुझ्न सक्ने क्षमता बुझाउँछ । समाचारको सत्यता पत्ता लगाउन सक्ने योग्यता पनि सञ्चार साक्षरताभित्र पर्छ ।

अमेरिकामा अवस्थित मिडिया साक्षरता राष्ट्रिय आयोगले मिडियालाई अझ विस्तारमा बुझ्न मिडियाको विश्लेषण, मूल्यांकन तथा सिर्जना गर्न सक्ने कार्य क्षमताको रूपमा परिभाषित गरेको छ । सन् १९२८ देखि नै जोन एफ कुल्किनले अमेरिकामा स्कुले पाठ्यक्रमसँगै मिडिया साक्षरताको प्रावधान अघि सारेको अध्ययनले देखाएको छ । केही समयअघि अमेरिकाको क्यालिफोर्निया, टेक्सस र न्युजर्सीका कतिपय विद्यालयमा विद्यार्थीलाई सञ्चार साक्षरता सीप सिकाउन थालिएको बजफिड न्युजकी वरिष्ठ सम्पादक क्यारिसा जेन लिमले जनसमक्ष ल्याएकी थिइन् ।

छिमेकी मुलुक भारतमै पनि सञ्चार साक्षरतासम्बन्धी कार्यक्रम विद्यालय तहबाट सुरु गरिएको ‘द हिन्दु’ ले केही समयअघि जनसमक्ष ल्याएको थियो । यस्तै, अल्ट न्युजका सहसंस्थापक प्रतीक सिन्हाले कलकत्ताका कतिपय विद्यालयमा सञ्चार साक्षरतासम्बन्धी सञ्चार सीप सिकाउन दुईमहिने परियोजना कार्य थालिएको कुरा पनि उल्लेख गरिएको छ । उक्त फरियोजनाअन्तर्गत सञ्चालन गरिने अन्तर्त्रियात्मक कार्यक्रम तथा तालिममा १२ वर्षदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्लेषण र मूल्यांकन गरी सत्यता पत्ता लगाउन सक्ने क्षमता प्रदान गरिनेछ ।

यसरी अमेरिका र भारतजस्ता देशमा विद्यार्थी लक्षित सञ्चार साक्षरताका अनेक परियोजना सञ्चालन भइरहेकाले पनि ती देशका बहुसंख्यक विद्यार्थीले सञ्चारलाई विकासको सारथी बनाएको देखिन्छ । हामीकहाँ यस्तो सोचको पूर्णतया कमी देखिन्छ । हुन पनि हो स्कुले जीवनमा सही सूचना र सञ्चार पाउनबाट वञ्चित हाम्रा विद्यार्थीमा सञ्चार सीपकै कमीले स्कुले शिक्षा जीवनोपयोगी बन्न सकेको छैन । यसरी स्कुले शिक्षालाई जीवनोपयोगी र जीविकोपार्जनको प्रस्थानबिन्दु बनाउन पनि विद्यार्थीलाई सञ्चारसम्बन्धी आधारभूत सीप सिकाउन जरुरी छ ।

त्यसो त हामीकहाँ अस्मिता महिला प्रकाशन गृह, सेन्टर फर मिडिया रिसर्च (सीएमआर) जस्ता सञ्चारसम्बन्धी कार्य गर्ने संस्थाले बेलाबेला सञ्चार साक्षरतासम्बन्धी कार्यक्रम गरिरहेका छन् । तर, सबै उमेर समूह विशेषगरी विद्यार्थीलाई लक्षित परियोजना थाल्नुपर्ने आवश्यकता महसुस गरेको पाइँदैन ।

अमेरिका तथा भारतले जस्तै हामीकहाँ पनि सञ्चार संस्थाले सीमित अवधिकै लागि भए पनि विद्यार्थी लक्षित सञ्चार साक्षरता अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । यसो गर्न सके विकसित मुलुकमा जस्तो हामीकहाँ पनि सूचना र सञ्चारका आधुनिक प्रविधि देशको समग्र विकासको सारथि बन्न सक्ने वातावरण तयार हुन्छ । यसका लागि तीनै तहका सरकारले पनि आफ्ना नागरिकलाई सञ्चारसम्बन्धी आधारभूत सीप सिकाउन सञ्चारविद्सँग सहकार्य र समन्वय गरी रणनीतिक योजना तर्जुमा गर्न जरुरी छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?