२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

कोरिया समृद्ध नेपालसँगै

सामसङ कम्पनीले यही वर्ष अप्रिलदेखि भैरहवामा टेलिभिजन फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सन् २०२४ को मध्यतिर नेपाली कम्पनी र कोरियाको हुन्डाई कम्पनीको सहकार्यमा नवलपरासीमा वार्षिक ४,८०० गाडी उत्पादनको सुरुआत गर्ने योजना छ ।
पार्क थेयङ

म राजदूत भएर नेपाल आएको पनि पाँच महिना पुगेको छ । यस अवधिमा नेपाललाई नजिकबाट नियाल्ने अवसर मिल्यो । दक्षिण कोरिया र नेपालबीच विभिन्न पक्षमा समानता पाउन सकिन्छ । नेपाली जनताको मिहिनेती र लगनशील स्वभाव कोरियालीसँग मिल्दोजुल्दो छ ।

कोरिया समृद्ध नेपालसँगै

मेरो अनुभवमा कोरियाको विगतजस्तै लाग्ने पक्षहरू नेपालमा पनि छन् । नेपाललाई कोरियाजस्तो आर्थिक रूपमा सबल बनाउन कोरिया सरकारका तर्फबाट सबै किसिमका सम्भावनाहरूबारे छलफल गर्दै कार्यान्वयन गर्न म लागिपर्नेछु ।

देश विकासका लागि राजनीतिक नेतृत्वको प्रयास, अनुशासन, जनताको एकै किसिमको इच्छाशक्ति, लगनशीलता र मिहिनेत, देशभक्ति आदिले सकारात्मक भूमिका खेल्छन् भन्ने विचारमा म सहमत छु । सन् १९५० देखि १९६० सम्म हामीसँग श्रमशक्ति मात्र थियो, जनताको दैनिकीमा आधारभूत आवश्यकता (जस्तै ः गाँस, बास र कपास) को अभाव थियो ।

हाम्रो विगत नियाल्दा, परिश्रमी जनता र शिक्षालाई महत्त्व दिने पारिवारिक संस्कारले कोरिया निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने लाग्छ । प्राकृतिक स्रोतसाधन, आवश्यक पुँजी नभएको अवस्थामा हामीले निकै कष्टकर दिन काट्यौँ । वैदेशिक सहयोग लियौँ, पूर्वाधार विकासका लागि वैदेशिक ऋणको सदुपयोग भयो । जनताका तर्फबाट राज्यलाई सहयोग मिल्यो र राज्यले पनि जनताका हितमा काम गर्ने अठोट लियो । सन् १९६१ देखि १९८९ सम्म आर्थिक, सामाजिक र राजनीतिक चुनौतीहरूका बाबजुद सफल आर्थिक विकासको जग बसाउने श्रेय त्यति बेला राष्ट्रप्रमुखको हैसियतमा रहेका जनरल पार्क जङ–हीलाई दिन सकिन्छ । उनको एकल शासन झन्डै १९ वर्ष निरन्तर चल्यो । सन् १९८० पश्चात् विभिन्न चरणका ठूला आन्दोलन भए । कोरियाली जनताका विभिन्न चरणका आन्दोलनपश्चात् संविधानमा व्यवस्था गरेर प्रत्येक ५ वर्षमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत राष्ट्रपति छनोट गर्ने शासकीय प्रणाली लागू भयो । हाल एक कार्यकाल मात्र राष्ट्रपति हुने व्यवस्थाले निरन्तरता पाएको छ ।

कोरिया आज विकसित देशका रूपमा उभिएको छ । अन्य मुलुकका तुलनामा तीव्र गतिमा सफल भएको हाम्रो विकासबारे पूरै विश्व जानकार छ । एकल जाति र एकल भाषा प्रयोग गर्ने भएका कारण पनि कोरियामा अन्य मुलुकमा भन्दा तीव्र गतिको विकासमा जनतालाई परिचालन गर्न सहज भएको मान्न सकिन्छ । अर्को पक्ष, हामी निर्यातमूखी अर्थतन्त्रका लागि औद्योगिक विकासमा ध्यान दिएर आवश्यक उद्योगहरूको स्थापना गरी सही व्यवस्थापन गर्दै अगाडि बढ्यौँ ।

समुद्री बन्दरगाहका माध्यमबाट औद्योगिक उत्पादन निर्यात गर्न सफल हुनु पनि द्रुत विकासको आधार भएको मानिन्छ । त्यसै गरी मिहिनेती, इमानदार तथा कडा परिश्रम गर्ने जनता, निर्धारित समयमा तोकिएको जिम्मेवारी पूरा गर्ने पक्षलगायतले पनि सकारात्मक भूमिका खेलेको देखिन्छ । स्वदेशमै आफ्नो व्यवसाय गर्नुपर्छ भन्ने भावना भएको जनसंख्याको हिस्सा ठूलो हुनुलाई पनि देश विकासका लागि सकारात्मक भूमिकाका रूपमा लिन सकिन्छ ।

कोरिया पछिल्ला दुई दशकमा विश्वव्यापी रूपमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्था (जस्तै : संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, जी–२०, ओईसीडी) हरूमा संलग्न भएको छ । क्षेत्रीय आर्थिक साझेदारी (आरसीईपी/आसियान) हरूमा समावेश भएको छ ।

नेपाललगायतका विकासशील देशसँग हामी विगतदेखि नै हातेमालो गर्दै अगाडि बढेका छौँ । नेपालको विकासमा हामीले भोगेका जस्ता जटिलता नहोऊन् भन्नेमा हामी सचेत छौँ । समृद्ध नेपाल निर्माणका लागि कोरिया सरकारले हातेमालो गर्दै आएको छ । १५ वर्षदेखि विकास साझेदार मुलुकका रूपमा प्राथमिकताको सूचीमा राखेर अभिमुखीकरण तालिम, स्वास्थ्य, कृषि, आईसीटीलगायतका क्षेत्रको विकासमा साझेदारी गर्दै आएका छौँ ।

हामीले नेपालमा ३० वर्षदेखि निरन्तर रूपमा, कोइका–नेपालमार्फत १५७ वटा परियोजनामा सहजीकरण गरिसकेका छौँ । उक्त अवधिमा नेपालबाट लगभग २,००० सरकारी कर्मचारीलाई कोरियामा आमन्त्रण गरेर अध्ययन तथा क्षणिक अवधिको प्रशिक्षण तालिम दिइएको छ । सोही अवधिमा कोरियाबाट पनि नेपालमा विभिन्न परियोजनका लागि करिब ३,००० स्वयंसेवीले भूमिका खेलिसकेका छन् ।

सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने चरणमा रहेको छ । सो अवसरमा हाम्रो सरकारले नेपालको आवश्यकताअनुसार आत्मीय सहयात्रीका रूपमा निरन्तर गहन भूमिका खेल्नेछ ।

गणतन्त्र कोरिया नेपालमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चौथो ठूलो हो । सामसङ कम्पनीले यही वर्ष अप्रिलदेखि उन्नत प्रविधिमार्फत भैरहवामा टेलिभिजन फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । त्यसैगरी नेपालमा पहिलो पटक आगामी वर्ष सन् २०२४ को मध्यतिर नेपाली कम्पनी र कोरियाको हुन्डाई कम्पनीको सहकार्यमा नवलपरासीमा वार्षिक ४,८०० गाडी उत्पादनको सुरुआत गर्ने योजना छ । कोरियाको नक्कली कपाल उत्पादन गर्ने व्यवसायका रूपमा नेपालमा ‘मान्दुमो’ कम्पनीमा लगानी गरेर ६८० जना नेपाली दिदीबहिनीलाई रोजगारी दिइएको छ । उत्पादित सामान कोरिया, चीन, जापानलगायतमा निर्यात भइरहेको छ । कोरियाली कम्पनीको लगानी बढाउन नेपाल सरकारसँग लगानी संरक्षण ग्यारेन्टी सम्झौता गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।

नेपालको ऊर्जा क्षेत्रमा कोरियाली लगानीको तेस्रो जलविद्युत् आयोजना निर्माणाधीन छ । कोरिया सरकार र कम्पनीको लगानीमा सन् २००० मा मोदी र २०१८ मा चमेलिया जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन भइरहेको छ । २०२७ मा सञ्चालनमा ल्याउने उद्देश्यका साथ २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणाधीन छ । कोरियाले नेपालको प्रचूर सम्भावना भएको जलविद्युत् क्षेत्रलाई सार्थकता दिन समन्वय गरिरहनेछ ।

अर्को महत्त्वपूर्ण पक्ष, नेपालको युवा पुस्तालाई सन् २००७ देखि सरकारी तवरबाट समन्वय गरेर कोरियामा रोजगारी उपलब्ध गराइएको समेत स्मरण गराउन चाहन्छु । यही वर्ष पहिलो पटक कोरियाले कामदार लिने १६ मुलुकमध्ये नेपालले पहिलो स्थान हासिल गरेको छ । नेपाली कामदारहरूले लगनशील तथा अनुशासित रूपमा काम गरेकाले रोजगारदाताले मन पराएका छन् । यही वर्ष मात्र २०,००० जनालाई रोजगारीको अवसर प्राप्त हुने सम्भावना छ । सन् २००७ पश्चात् नेपालका १ लाख युवालाई कोरियाले रोजगारी उपलब्ध गराएको छ । कोरिया

सरकारले स्वदेशी कामदारसरह समान पारिश्रमिक, बिमालगायत सेवासुविधा उपलब्ध गराएको छ । नेपाल फर्किएका कामदारहरूका लागि पुनः एकीकरण कार्यक्रममार्फत व्यावसायिक क्षमता विस्तार गर्ने योजना कार्यान्वयनमा ल्याएका छौँ । भविष्यमा नेपाली जनताले नेपालमै व्यवसाय गरी रोजगारी सृजना गर्न सकून् तथा नेपालको विकासमा टेवा पुगोस् भन्ने हाम्रो उद्देश्य छ ।

दुई देश भूगोलको हिसाबले निकै टाढा छौँ, तथापि ऐतिहासिक रूपमा समानताका पक्षहरू धेरै छन् । हिमालयको ट्रेकिङ तथा शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हरेक वर्ष ३०,००० जनाभन्दा बढी कोरियाली जनताले भ्रमण गर्दै आएका छन् । ठूलो संख्यामा नेपालीहरूले तेक्वान्दो खेल सिक्नुका साथै कोरियाली पप संगीत, चलचित्र, फेसन, परिकार आदिको आनन्द लिएको पाइन्छ ।

यही वर्ष सेप्टेम्बर २१ मा यूएन महासभा सम्मेलनका अवसरमा अमेरिकाको न्युयोर्कमा कोरिया र नेपालका सरकार प्रमुखहरूबीच भेटवार्ता भएको छ । गणतन्त्र कोरियाका राष्ट्रपति युन सख्यल र नेपालका प्रधानमन्त्री पुष्पकमल दहालबीच औपचारिक वार्तालाप भएको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठ नजिकिएको अवस्थामा दुई देशका कार्यकारी प्रमुखबीच वार्तालाप हुनु सुखद पक्ष हो । सो अवसरमा दुई देशबीच विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रमलाई मजबुत गर्ने विषयमा छलफल भएको छ ।

कोरिया र नेपालबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ५० औं वर्षगाँठ नजिकिँदै गएका बेला आगामी ५० वर्षको सुमधुर सम्बन्धका लागि योजना तर्जुमा गर्दै हामी नेपालको विकासको बलियो सहयात्री हुने योजनाका साथ अगाडि बढ्नेछौं । यसका लागि नेपाल सरकारसँग समन्वय गर्दै नेपालको आवश्यकताका आधारमा अगाडि बढ्न कोरिया सरकार तत्पर छ ।

अन्त्यमा, नेपालको आर्थिक स्तर उकास्नका लागि हामीले देश विकास गर्ने चरणमा भोगेका विविध समस्या नझेलीकनै समृद्ध नेपालको यात्रामा भित्री मनबाटै हातेमालो गर्दै जाने विचार गरेका छौं । देशको समृद्धि र प्रजातन्त्र साइकलका दुई पांग्रा हुन् । एउटा पांग्राले मात्र साइकल अगाडि बढाउन सकिँदैन । समान रूपमा दुइटै पांग्रा चलेमा देश अगाडि बढ्नेछ । कोरिया सदा समृद्ध नेपालको साथमा छ ।

पार्क थेयङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुन् ।

प्रकाशित : कार्तिक २, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?