२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

स्यान्टुले बढाएको नेपाली खेलकुदको सान 

स्यान्टुको प्रदर्शनले सिद्ध गरेको छ– नेपाली टेबल टेनिस खेलाडी मात्र होइन, प्रशिक्षकले पनि अन्तर्राष्ट्रिय रूपमै आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ।
सम्पादकीय

नेपाली खेलकुदमा टेबल टेनिसको इतिहास निकै लामो र समृद्ध छ । नेपालमा खेलिँदै आएका खेलमध्ये सबैभन्दा पुरानोमा टेबल टेनिस पनि पर्छ । यस खेलबाट नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धेरै सफलता पनि प्राप्त गरेको छ । यसै क्रममा नेपाली टेबल टेनिसले नयाँ ऐतिहासिक उपलब्धि हात पारेको छ, यो हो– पेरिसमा यसै वर्ष हुने ओलम्पिकका लागि नेपाली खेलाडीको सिधा छनोट । स्यान्टु श्रेष्ठले यो कोसेढुंगा उपलब्धि चुमेका हुन् । 

स्यान्टुले बढाएको नेपाली खेलकुदको सान 

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली देशको छनोट प्रतियोगिता यसै साता काठमाडौंमा भएको थियो । त्यसमा भारतलाई छाडेर चार देशका उत्कृष्ट खेलाडीको सहभागिता थियो । छनोटमा च्याम्पियन हुने एक पुरुष र एक महिलाले सिधै पेरिस ओलम्पिकमा खेल्न पाउने अवसर थियो । ओलम्पिक छनोटको अन्तिम चरणको खेल नेपालमा आयोजना भएको यो नै पहिलोपल्ट हो । यसअघि फुटबलतर्फ ओलम्पिक छनोटका प्रारम्भिक चरणका खेल मात्रै भएका छन् ।

नेपालले टेबल टेनिसको अन्तिम चरणमा भाग लिएको पनि यो पहिलो पटक नै हो । दक्षिण एसियाली देशमध्ये भारत पछिल्लो समय विश्व टेबल टेनिसकै एक महाशक्तिका रूपमा उदाएको छ । भारत पेरिस ओलम्पिकमा स्वतः छनोट भएपछि अन्य दक्षिण एसियाली देशलाई अवसर बनेको हो । यसकै पुरुष विधामा स्यान्टु च्याम्पियन भए । अब उनले सान र गर्वले विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

पुरुष फाइनलमा नेपालकै दुई खेलाडी प्रवेश गरेका थिए, त्यसैले पनि नेपाली खेलाडी पेरिस जाने निश्चित भइसकेको थियो । फाइनलमा स्यान्टुले उदीयमान खेलाडी संयोग कपालीलाई सात सेट चलेको रोमाञ्चक खेलमा पराजित गरे । पूरा प्रतियोगितामा स्यान्टु अपराजित रहेर उनले आफूलाई नेपाली टेबल टेनिसले पाएको अहिलेसम्मकै उत्कृष्ट खेलाडी प्रमाणित गरे । उनको यही उत्कृष्ट प्रदर्शनका कारण नेपाली टेबल टेनिसको उचाइ बढेको छ । मूलधारका खेलमध्ये टेबल टेनिसले आफूलाई उम्दा पनि साबित गरेको छ । नेपाल टेबल टेनिसले यो बिन्दुबाट आफूलाई अझ अगाडि बढाउन सक्छ ।

नेपालमा दक्षिण एसियाली टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुनु पनि आफैंमा ठूलो उपलब्धि हो । अखिल नेपाल टेबल टेनिस संघको अस्तित्व छ अथवा छैन भन्नेमा दुविधा रहेका बेला पनि यो खेलसँग आबद्ध पदाधिकारीले जसरी यो प्रतियोगिता आफ्नो अथक् मिहिनेतले नेपालमा ल्याए, त्यसको पनि प्रशंसा गर्नुपर्छ । प्रतियोगिताको सफल आयोजनाका लागि पनि ती पदाधिकारी धन्यवादका पात्र हुन् । एसियाली टेबल टेनिसको वृत्तमा नेपालको दरिलो उपस्थिति छ र नेपाली टेबल टेनिस पदाधिकारीको कूटनीतिक सफलताकै कारण यो प्रतियोगिता नेपालमा भएको हो । नेपाली खेलकुदले यो तथ्य बिर्सनु हुन्न । स्यान्टुको प्रदर्शनले सिद्ध गरेको छ– नेपाली टेबल टेनिस खेलाडी मात्र होइन, प्रशिक्षकले पनि अन्तर्राष्ट्रिय रूपमै आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ।

नेपाली टेबल टेनिसको स्वायत्ततालाई सम्मान गर्दै यो खेललाई अझ विकास र विस्तार गर्नु युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी हो । स्यान्टु ओलम्पिकमा छनोट हुने नेपालको तेस्रो खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले यो उपलब्धि चुमेका थिए । संगीना सन् २००४ को एथेन्स ओलम्पिकमा र दीपक सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट भएका थिए । त्यसपछि एकैचोटि १६ वर्षपछि स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् ।

पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहालले पनि खेल्ने निश्चित भइसकेको छ । तर उनी छनोट चरण पार गरेर त्यहाँ पुगेका होइनन् । उनी युनिभर्सालिटी कोटाबाट छानिएका हुन् । यो कोटामा पनि लगातार राम्रो प्रदर्शनका कारण प्रिन्स छानिएका हुन् । पेरिस पारा ओलम्पिकमा भने तेक्वान्दोकी पलेसा गोवर्धनले छनोट चरण पार गरेकी छन् । अन्यथा ओलम्पिकमा नेपालको सहभागिताको इतिहास निकै लामो भए पनि ‘वाइल्ड कार्ड’ मार्फत मात्र हुने गरेको थियो । स्यान्टुले भने हकले पेरिस ओलम्पिक खेल्न पाएका छन् । प्रिन्सले पाएको अवसर पनि ठूलै हो ।

यस्तोमा प्रश्न के पनि रहन्छ भने ओलम्पिकमा नेपालको सहभागिता हकले यति कम किन छ त ? किन नेपालको सहभागिता वाइल्ड कार्डमै मात्र सीमित छ ? वाइल्ड कार्ड खेलकुदमा कमजोर देशलाई दिइने सुविधा मात्रै हो । यसले पनि देखाउँछ, नेपाली खेलकुद वास्तवमै कहाँनिर छ । यसतर्फ गम्भीर विश्लेषण आवश्यक छ र खेलको स्तर सुधारमा सरोकारवाला पक्षको तत्काल ध्यान जानुपर्छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?