कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाइलटले चिकित्सकलाई भने– ‘जहाज केही माथि उडेपछि नियन्त्रण गर्नै सकिनँ’

पाइलट शाक्यको अवस्था स्थिर, आईसीयूबाट बिहीबार साँझ क्याबिनमा स्थानान्तरण
स्वरूप आचार्य

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण नै गर्न नसकेको बताएका छन् ।

पाइलटले चिकित्सकलाई भने– ‘जहाज केही माथि उडेपछि नियन्त्रण गर्नै सकिनँ’

काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत शाक्यले अस्पतालका निर्देशक प्रा.डा. मीना थापासँग दुर्घटनाबारे सामान्य कुराकानी गरेका हुन् । ‘करिब १०० फिट जति माथि पुगेपछि मैले कन्ट्रोल नै गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बिहीबार थापासँग भनेका छन्, ‘त्यसपछि धेरै याद छैन । केहीले थिचिएको जस्तो लाग्छ । पछि मलाई निकालेर यता ल्याइएछ ।’

प्रा.डा. थापाका अनुसार बिहीबार आईसीयूमा नजिकका आफन्तलाई मात्रै भेट्ने अनुमति दिइएको थियो । क्याप्टेन शाक्यलाई दुर्घटना छानबिन आयोगका तर्फबाट एक चिकित्सकले पनि भेटेको जानकारी आफूले पाएको उनले बताइन् । ‘क्याप्टेन शाक्यलाई मानसिक तनाव बढ्छ भनेरै अस्पताल प्रशासनले धेरैलाई भेटघाट गर्न रोक लगाएको छ,’ प्रा.डा. थापाले भनिन् ।

दुर्घटनालगत्तै उद्धार गरेर क्याप्टेन शाक्यलाई विमानस्थलबाट नजिकै रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो । बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ । क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । अस्पताल निर्देशक प्रा.डा. थापाका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ । ‘उहाँको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन्,’ उनले भनिन्, ‘ढाडको हड्डीको शल्यक्रिया गर्ने वा नगर्ने र गर्ने भए कहिले भन्ने निर्णय भइसकेको छैन ।’

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए । उनले ‘म ठीक छु, अरूलाई हेर्नू’ भनिरहेका थिए ।

प्रकाशित : श्रावण १०, २०८१ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×