कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

‘शान्ति र स्थायित्वका लागि आतंकवाद र अन्तर्देशीय संगठित अपराध मुख्य चुनौती’

भाद्र २२, २०८१
‘शान्ति र स्थायित्वका लागि आतंकवाद र अन्तर्देशीय संगठित अपराध मुख्य चुनौती’

काठमाडौँ — सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध, लागूऔषध ओसारपसार, मानव तस्करीलगायत अन्तर्देशीय अपराध नियन्त्रण विश्वकालागि चुनौतीपूर्ण रहेको भन्दै यसविरुद्ध एक भएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले आतंकवाद र अन्तर्देशीय संगठित अपराधविरुद्ध सबै एक भएर अघि बढ्नु पर्ने बताएका हुन् ।

आतंकवादसहित सबै किसिमका अपराध रोकथाम तथा नियन्त्रण, नागरिक सुरक्षासहित शान्तिसुरक्षा र स्थायित्व कायमलगायत काम प्रभावकारी बनाउन संयुक्त राष्ट्र संघले विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न संयुक्त राष्ट्र संघले हरेक वर्ष सेप्टेम्बर ७ लाई ‘अन्तर्राष्टि प्रहरी सहकार्य दिवस’ घोषणा गरेको छ ।

संयुक्त राष्ट्र संघमा आवद्ध राष्ट्रका कानुन कार्यान्वयन गर्ने निकायहरुले हरेक वर्ष यो दिवस मनाउँछन् । सन् २०२३ देखि राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवसको अवसरमा शनिबार नेपाल प्रहरीले गरेको कार्यक्रममा गृहमन्त्री लेखकले यी अपराध मुख्य चुनौतीका रुपमा रहेकोले यसकाविरुद्ध सबैको सहकार्य महत्वपूर्ण रहेको बताए ।

आतंकवाद र अन्तर्देशीय अपराध शान्ति र स्थायित्वका लागि पनि प्रमुख चुनौती रहेको उनको भनाइ छ । गृहसचिव दुवाडीले चुनौतीका रुपमा रहेको अपराधविरुद्ध लड्न सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए । यी अपराध नियन्त्रण र कानुन कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय फोरमहरुसँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको सचिव दुवाडीको भनाइ छ ।

अपराधविरुद्ध लड्न र कानुन कार्यान्वन गर्न नेपाल प्रहरीले पुर्‍याएको योगदानको प्रसंसा गरे । अपराधविरुद्ध अन्तर्राष्ट्रिय फोरमहरुका रुपमा इन्टरपोल र संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रभावकारी माध्यम रहेको पनि बताए ।

उनले अपराध रोकथाम तथा नियन्त्रण र सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको पनि स्पष्ट पारे । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले आतंकवादलगायत अपराधविरुद्ध जुध्न नेपाल प्रहरीले गरिरहेको प्रतिवद्धता र समर्पण प्रसंसनीय रहेको बताइन् । आतंकवाद र संगठित अपारधविरुद्ध जुध्न कानुन कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धि अपरिहार्य रहेको उनको भनाइ छ ।

सचिव लम्सालले भनिन्, ‘आज हामीले धेरैकिसिमका चुनौतीहरु सामना गरिरहेका छौं । अर्न्तर्देशीय अपराध, साइबर अपराध, मानव तस्करी, लागूऔषध ओसारपसार र आतंकवाद नियन्त्रण संसारका लागि मुख्य चुानैती हुन् ।’ यी अपराध नियन्त्रण गर्न इन्टरपोल, राष्ट्रसंघका विशिष्टिकृत निकाय, शान्ति मिसन तथा अरु संयन्त्र प्रभावकारी माध्यम रहेको उनले बताइन् ।

प्रहरी महानिरीक्षक कुँबरले सबैकिसिमका अपराधविरुद्ध अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय तहबाट सहकार्य आवश्यक रहेको बताए । यसका विरुद्ध कानुन कार्यान्वयन गर्ने निकायहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल, शान्ति मिसनलगायत संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीहरुबीचको सहकार्य पनि महत्वपूर्ण हुने बताए ।

अहिले अपराध भौतिक र भर्चुअल दुबै माध्यमबाट हुने गरेको र विशेषगरी साइबर अपराध, आतंकवाद, संगठित अपराध, आर्थिक अपराध मुख्य चुनौती रहेको उनको भनाइ छ । विभिन्न किसिमका अपराधविरुद्ध जुध्न स्रोतसाधन व्यवस्थापन महत्वपूर्ण रहने उनले बताए ।

अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवसकै अवसरमा शान्तिसुरक्षा र नेपाल प्रहरीको भूमिकालगायत विषयमा आयोजित वक्तृत्वकलामा प्रथम, द्धितीय र तृतीय हुने विभिन्न विद्यालयका छात्रछात्रा तथा उत्कृष्ठ वृत्तचित्र निर्माण गर्ने नेपाल प्रहरीका २ कर्मचारीलाई गृहमन्त्री लेखकले पुरस्कृत गरेका थिए । वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विकलाई पुरस्किृत गरिएको थियो ।

इन्टरपोलको १०० औं बार्षिकोत्सवका अवसरमा सन् २०२३ मा आयोजित ग्लोबल भिडियो कन्टेस्ट प्रतियोगितामा प्रथम हुन सफल ‘लेट्स सेभ द प्लानेट’ भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठ पनि पुरस्किृत भएका थिए । सोही कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीद्वारा रचित ‘नेपाल प्रहरी गीत’ र प्रहरी प्रधान कार्यालयको वार्षिक प्रकाशन ‘सीआईडी म्यागेजिन’ पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : भाद्र २२, २०८१ १८:०९
×