कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बस दुर्घटनाको १२ दिनसम्म पनि भेटिएनन् ४३ यात्रु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।

बस दुर्घटनाको १२ दिनसम्म पनि भेटिएनन् ४३ यात्रु

घटनाको १२ दिन भइसक्दा पनि बुधबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन् । दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको भने छैन ।

चितवन जिल्ला प्रशासनका अनुसार सडकबाट झन्डै सय मिटर तल त्रिशूलीमा खसेर हराएका बस र यात्रुको खोजीमा असार २८ को बिहान सवा ८ बजेदेखि नै नेपाली सेना र सशस्त्र प्रहरीको टोली गोताखोर र उपकरणसहित खोजीमा जुटेका थिए ।

पानीभित्र गएर खोजी गर्ने तालिम प्राप्त जनशक्ति गोताखोर र पानीभित्र हेर्न मिल्ने र गहिराइमा भएका वस्तुहरूको संकेत गर्न सक्ने क्यामेरा र सोनारजस्ता उपकरण नेपाली टोलीले पनि खोजी कार्यमा प्रयोग गरेको थियो । तर घटनास्थलमा बसको कुनै संकेतसम्म फेला परेको छैन ।

सरकारको अनुरोधमा भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का प्राविधिक नेपाल आएका छन् । एनडीआरफको १२ जनाको टोलीमा चार जना गोताखोर र तीन वटा सोनार क्यामेरा छन् ।

शनिबार चितवन आइपुगेका भारतीय टोलीले आइतबार बिहानदेखि खोजी गरिरहेका छन् । तर भारतीय टोलीले पनि बसको पत्तो पाउन सकेको छैन । घटनास्थलदेखि तीन किलोमिटर तल घुमाउने केराबारीसम्म उनीहरूले पटक–पटक सोनार क्यामेराले नदीभित्र हेरेका छन् । नारायणी नदीको देवघाटदेखि काब्रेघाटसम्म खोजेका छन् ।

‘उनीहरू नदीमा हराइरहेको बसको खोजीमा केन्द्रित छन् । सम्भावित ठाउँमा पटक–पटक दोहर्‍याएर पनि हेरेका छन् । तर केही पत्ता लागेको छैन,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने । सरकारले एक साताका लागि सहयोग गर्न अनुरोध गरे बमोजिम भारतीय प्राविधिक टोली खोजीका लागि आएको हो । ‘भारतीय टोलीले उनीहरूलाई दिएको समय एक हप्तासम्म खोजी गर्छ । बीचमा के कसो हुन्छ त्यस बारेमा केही छलफल भएको छैन । उनीहरूले एक हप्ता खोजबिन गरेपछि त्यसपछि के गर्ने भन्नेमा अहिले केही छलफल भएको छैन । मन्त्रालयसँग पछि कुरा होला,’ प्रजिअ यादवले भने ।

चितवन प्रशासनका अनुसार घटनास्थल त्रिशूली नदीदेखि धेरै तल नारायणी तट र त्रिवेणी ब्यारेज क्षेत्रमा केही शवहरू भेटिएका छन् । खोजी टोलीले ठाउँठाउँमा गरेर २५ शव भेटाएको थियो । तीमध्ये १९ शव मात्रै दुर्घटनाग्रस्त बसका यात्रुको भएको पुष्टि भएको छ । दुर्घटनाग्रस्त दुईवटा बसमा नौ जना भारतीय पनि थिए । बससँगै हराइरहेका भारतीयमध्ये पाँच जनाको शव भेटिएको छ । खोजी टोलीले साउन ४ गते शुक्रबारयता शव भेटाएको पनि छैन ।

सिमलताल दुर्घटनाको अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको संयोजकत्वमा बनाएको कार्यदल साउन २ मा चितवन आएर अध्ययन तथा छलफल गरेर फर्केको थियो ।

प्रकाशित : श्रावण १०, २०८१ ०६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×