कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसद्‍मा भ्रष्टाचार र नैतिकताको प्रश्न, नयाँ र पुरानाको बहस

भ्रष्टाचारका मुद्दामा कारबाही बढाएपछि कांग्रेस–एमाले मिलेको विपक्षीको आरोप, गिरीबन्धु टी इस्टेटबारे अफवाह फैलाइएको भन्दै प्रधानमन्त्रीको प्रतिवाद
राजेश मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सत्ता र प्रतिपक्षबीच आरोप/प्रत्यारोप चलेको छ । विपक्षी दलहरू माओवादी र रास्वपाका सांसदहरूले पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा एकपछि अर्को भ्रष्टाचारका मुद्दामा कारबाही बढाएपछि कांग्रेस–एमाले मिलेको आरोप लगाएका छन् । सत्ता पक्षले भने विपक्षीको आरोप गलत भएको र अफवाह फैलाएको जवाफ दिएको छ ।

संसद्‍मा भ्रष्टाचार र नैतिकताको प्रश्न, नयाँ र पुरानाको बहस

प्रधानमन्त्री ओलीले गिरीबन्धु टी इस्टेटबारे अफवाह फैलाइएको बताए । उनले कानुन नभएका बेला हदभन्दा बढीको जमिन सट्टापट्टा भइरहेका बेला आफ्नो कार्यकालमा संसद्बाट कानुन बनाएर व्यवस्थित पार्ने प्रयास भएको दाबी गरे । ‘कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ ?,’ उनले प्रश्न गरे ।

उनले गिरीबन्धु टी इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै सट्टापट्टा हुनुभन्दा अगाडि नै यस्तो गर्नु भन्ने सर्त राखिदिएर अदालतले रोकिदिएको बताए । अदालतले सस्तोमा किनेको जग्गासँग महँगो जग्गा सट्टापट्टा हुन सक्छ भनेकाले अब कानुन बनाउँदा त्यसतर्फ विचार गर्नुपर्ने उनले उल्लेख गरे । ओलीले भ्रष्टाचारका सबै प्रकरणमा अनुसन्धान हुनेमा ढुक्क रहन तथा सहकारी पीडितका सम्बन्धमा उचित छानबिन गर्ने र ठगलाई कारबाही गरिनेसमेत बताए ।

संविधान गतिशील दस्ताबेज रहेको भन्दै प्रधानमन्त्री ओलीले आवश्यकताअनुसार संशोधन गरिनेसमेत बताएका छन् । कांग्रेस–एमालेबीच गठबन्धनका क्रममा भएको सातबुँदे सहमतिमा पनि संविधान संशोधनको विषय समेटिएको छ । प्रधानमन्त्री ओलीले सबैको सहमतिमा वा त्यसो हुन नसके तोकिएको प्रक्रियामा गएर संविधान संशोधन गरिने बताए ।

कांग्रेसले पनि संविधान संशोधनको विषयलाई प्राथमिकता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धनको सरकारले संविधान संशोधन गरेर गणतन्त्र र समावेशितालाई सबल बनाउने बताए । ‘संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ । यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ देउवाले भने, ‘संशोधन गर्दा सबै राजनीतिक दलबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ ।’

माओवादीका उपमहासचिव वर्षमान पुनले नेताले नभई बिचौलियाले देश चलाउने खतरा बढेको बताए । उनले कांग्रेस र एमालेबीचको गठबन्धन अपारदर्शी रहेको आरोप लगाए । बिचौलियाको चलखेलका कारण आफूभन्दा पहिलेका अर्थमन्त्री कांग्रेसका प्रकाशशरण महत र आफूले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसकेको पुनले बताएका थिए । यस विषयको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई आएको उनको भनाइ थियो ।

‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइल खोल्ने, छानबिन गर्ने गर्दा, त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरीबन्धु टी इस्टेटसम्मका कुरा उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीहरूले हाम्रा एजेन्डाहरू छाड्दैनौं भन्नुभएको छ,’ पुनले भने, ‘कांग्रेसलाई पनि प्रश्न हुन्छ, हिजो यही हाउसमा प्रतिपक्षमा हुँदा गिरीबन्धु टी इस्टेट, गिरीबन्धु टी इस्टेट भन्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन् ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नरहेको बताए । दुई दलले अपारदर्शी ढंगले बनाएको नयाँ गठबन्धनको संकेत राम्रो नभएको उनको भनाइ थियो । संसदीय व्यवस्थामा दुई ठूला दलमध्ये एउटाले सरकारको नेतृत्व गर्ने र अर्कोले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउनु उचित नभएको उनले बताए ।

रास्वपा सभापति रवि लामिछानेले लोकतन्त्र र त्यसका मूल्यमान्यता जोगाउनका लागि गरेको त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिन सुझाव दिए । यसअघिको सरकारले जुन–जुन व्यक्तिमाथि प्रश्न उठाएको र छानबिन थालेको थियो, उनीहरूलाई मन्त्रिपरिषद्मा राखिएको लामिछानेले आरोप लगाए ।

‘जहाँ–जहाँ हामीले विषय उठायौं, त्यहाँ–त्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थीका विषयमा कुन अनुसन्धान सुरु भयो, मन्त्रिपरिषद्मा को गयो, संसद् र देशलाई थाहा छ । हामीले बालमन्दिरको प्रश्न उठायौं, त्यहाँ पनि पुरस्कार, स्काउटको विषय उठायौं फेरि पनि मन्त्रिपरिषद् हेर्‍यौं,’ उनले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारक कांग्रेस र एमाले भएको बताए । ‘अहिले मुलुकमा स्थिरता नहुनुमा समानुपातिक निर्वाचन प्रणाली वा साना दलहरू होइनन् । दुई ठूला दलको क्रियाकलाप मुख्य हुन् । साना दलहरूलाई आवश्यक परेका बेला फुटाउनुहुन्छ, लोभ देखाएर सँगै बसाउनुहुन्छ । चलखेल तपाईंहरू गर्नुहुन्छ,’ लिङ्देनले भने, ‘गणितले मात्रै काम गर्ने भए कम्युनिस्ट पार्टी एक्लैले करिब दुईतिहाइ मत ल्याएको होइन ? कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइन ? किन पाँच वर्ष सरकार चलेन ?’

उनले संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरू रहेको भन्दै निर्वाचन र नियुक्ति प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

प्रकाशित : श्रावण ७, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×