कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मानव तस्करको नेपाल-पोर्चुगल ‘नेक्सस’

दलालले १८ लाख लिएर ६ जनालाई पोर्चुगल पुर्‍याए, पोर्चुगलको अध्यागमनले नक्कली भिसा भन्दै ४ दिन थुनेर नेपाल फर्कायो
दीपक परियार

पोखरा — दुईवटा टिपर बेचेर पोखरा–१४ चाउँथेका गणेश आले दलाललाई १७ लाख रुपैयाँ बुझाएर पोर्चुगल पुगे । असार २५ मा पोर्चुगलको लिस्बोन विमानस्थलमा ओर्लिएपछि नेपालबाट सँगै गएका ६ जनालाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लियो । पासपोर्टमा लगाएको पोर्चुगलको भिसा नक्कली भएको भन्दै ४ दिन थुनेर ६ जनालाई नेपाल फिर्ता पठाइदियो । पोखरा फर्किएका उनीहरू अहिले प्रशासन र प्रहरीमा धाइरहेका छन् । 

मानव तस्करको नेपाल-पोर्चुगल ‘नेक्सस’

पोल्यान्ड जाने भन्दै तीन वर्षअघि पोखराको सभागृह चोकमा रहेको नेक्सस कन्सल्टेन्सीमा पुगेका थिए उनीहरू । कन्सल्टेन्सीका निर्देशक शिवसंसार श्रेष्ठले पोल्यान्ड पठाइदिने बताए पनि त्यो प्रयास सफल भएन । केही समयपछि श्रेष्ठले पोर्चुगलबाट कामदार भिसा आएकाले त्यता पठाइदिने बताए । श्रेष्ठकै साझेदार थिए स्याङ्जाका ईश्वरबन्धु अर्याल र तेजबहादुर रोका । युरोप जाने सपना बुनेका आले केही समय कुरेर पोर्चुगल जान राजी भए । टिकट खर्चसहित १७ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाउनुपर्ने भयो । उनले ढुवानीमा प्रयोग भइरहेका आफ्ना दुईवटा टिपर बेचे र पोर्चुगल जाने निधो गरे ।

पोखराबाट पोर्चुगल पुग्ने ६ जनाको समूहमा थिए, माछापुच्छ्रे गाउँपालिका–६ धितालका रामचन्द्र गौतम पनि । दुबईमा दुई वर्ष काम गरेपछि उनी ०७६ मा नेपाल फर्किएका थिए । युरोप जाने सोचले उनलाई तीन वर्षअघि नेक्सस कन्सल्टेन्सीमा पुर्‍यायो । उनले पनि सुरुमा पोल्यान्डका लागि प्रयास गरेका थिए । पछि कन्सल्टेन्सीले पोर्चुगल पठाउने बतायो ।

नक्कली भिसाबाट पोर्चुगल पुगेपछि थुनामा रहेको अवस्थामा ।

गणेश र रामचन्द्रसँगै पोखरा–१० मिलनटोलका प्रतिकार चिलुवाल, सुमित गुरुङ, माछापुच्छ्रे गाउँपालिकाको भुर्जुखोलाका खगराज अधिकारी र पर्वतका नेत्र गुरुङ पोर्चुगल जान तयार भए । गणेश आलेका अनुसार कन्सल्टेन्सीका निर्देशक श्रेष्ठले गत फागुनमा पोर्चुगलबाट ‘स्पोन्सर भिसा’ आएको बताएका थिए । उक्त भिसामा जान चाहनेका लागि सम्पर्क गर्न कन्सल्टेन्सीलेसामाजिक सञ्जालमा सूचना पनि राखेको थियो । कोही त्यही सूचना हेरेर, कोही नजिकको चिनजानका व्यक्तिमार्फत कन्सल्टेन्सीसम्म पुगेका थिए । उनीहरूले दुई लाख रुपैयाँ अग्रिम भुक्तानी गरे ।

पोर्चुगलको दूतावास नेपालमा नभएकाले भिसा आवेदनका लागि भारत जानुपर्ने रआफ्नो मान्छे भारतमा भएकाले ‘सेटिङ’ मा भिसा प्राप्त हुने कन्सल्टेन्सी सञ्चालकले बताएपछि सबैसँग १५–१५ हजार रुपैयाँ बुझेर तेजबहादुर रोका भारत गए । उनी भिसाको छाप लगाएर पासपोर्ट बोकेर गत जेठमा नेपाल फर्किए । पीडितले श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्कीमा लगेर पासपोर्ट देखाए । ‘जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि भिसा सक्कली हो भने, श्रम कार्यालय पोखराका प्रमुखले पनि भिसा ठीक छ भनेपछि श्रम स्वीकृति लियौं,’ आलेले भने, ‘त्यसपछि बाँकी पैसा बुझायौं ।’

उनीहरूलाई असार १४ बिहान २ बजेको टिकट थमाइयो । असार १२ गते नै ६ जना काठमाडौं पुगे । काठमाडौं पुगेपछि टिकट पनि नक्कली रहेको पत्ता लाग्यो । त्यतिन्जेल कन्सल्टेन्सी सञ्चालक शिवसंसार श्रेष्ठ, ईश्वरबन्धु अर्याल र तेजबहादुर रोका भारत पसिसकेका थिए । तीमध्ये श्रेष्ठ पीडितसँगको सम्पर्कमा थिए । उनले भारतीय एजेन्टले आफ्नो पैसा खाइदिएकाले पीडितलाई आफैंटिकट काट्न भने । ‘उता सबै कर्मचारी सकारात्मक छन्, राम्रो छ, त्यत्रो पैसा विश्वास गर्नुभयो, अब डेढ लाखमा किन विश्वास गर्नुहुन्न भनेपछि हामीले एक लाख १३ हजार ८ सय रुपैयाँ थप बुझाएर टिकट काट्यौं,’ आलेले भने, ‘एक साता काठमाडौं बसेपछि असार २४ को साँझको टिकट लियौं ।’

काठमाडौंबाट उडेपछि कतारको दोहामा ‘ट्रान्जिट’ पर्‍यो । दोहामा साढे ४ घण्टाको ट्रान्जिट हुँदा आलेसँग श्रेष्ठको ह्वाट्सएपमा संवाद भइरहेको थियो । अर्को दिन स्थानीय समयअनुसार बिहान ७ बजे ६ जना लिस्बोन विमानस्थल ओर्लिए । त्यहाँको अध्यागमनले जाँच गरेर पासपोर्ट र बोर्डिङ पास राख्यो । पासपोर्ट हेरेपछि पुलिसलाई जिम्मा लगायो । पुलिसले लगेर एउटा कोठामा थुन्यो । ‘हामीलाई त्यसरी थुनेपछि अचम्मित भयौं,’ आलेले भने, ‘किन राखेको भनेर सोधेपछि पो थाहा भयो, हाम्रो भिसा नै नक्कली रहेछ । पुलिसले नेपाल फर्कनुपर्छ भन्यो ।’ नक्कली भिसाबारे त्रिभुवन विमानस्थल र कतारको दोहा विमानस्थलमा समेत पत्ता नलागेको देखेर आफूहरू अचम्मित परेको उनीहरूले बताए ।

आलेले श्रेष्ठसँग सम्पर्क गर्दा उल्टै अनभिज्ञता प्रकट गरे । ‘आफैं छाँगाबाट खसेजस्तो भएँ, कसरी यस्तो भयो, थाहा भएन भने,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै आलेले भने, ‘अब हामीलाई यहाँबाट नेपाल झिकाउनूस्, उतै कानुनी प्रक्रियामा जाउँला भनेपछि उनी सम्पर्कविहीन भए ।’ पोर्चुगलको अध्यागमनले असार २७ को राति कतार एयरवेजमा राखेर फिर्ता पठायो । कतारको दोहा ट्रान्जिटमा त्यहाँको अध्यागमनले प्रहरीको जिम्मा लगायो । कतार प्रहरीले सबै जाँच गर्‍यो । चार घण्टा ३–३ जनालाई दुईवटा कोठामा थुन्यो । त्यसपछि जहाजका कर्मचारीलाई जिम्मा लगायो । असार २८ को बिहान त्रिभुवन विमानस्थल ओर्लिएका उनीहरूलाई जहाजका कर्मचारीले यहाँको अध्यागमनमा पठाए । ‘हामीलाई पासपोर्ट पनि दिइएन, ट्राभल डकुमेन्टकै भरमा नेपाल आयौं,’ उनले भने ।

उनीहरूले अध्यागमनका कर्मचारीलाई नेपालकै विमानस्थलबाट जाने क्रममा भिसा नक्कली हो भने किन पत्ता नलगाएको भनेर पनि प्रश्न गरे । अध्यागमनका कर्मचारीले नेपालमा दूतावास वा भीएफएस नभएका मुलुकको भिसा सक्कली वा नक्कली हो भन्ने थाहा नहुने जवाफ दिए । कर्मचारीले भने, ‘हामीले श्रम स्वीकृति हेर्ने हो । श्रम स्वीकृत छ भने हामीले रोक्न मिल्दैन ।’ आइतबार उनीहरू उजुरी लिएर वैदेशिक रोजगार विभागमा पुगे । विभागले पीडितले रकम जम्मा गरेको बैंकबाट उनीहरूको तीनपुस्ते झिकाउन पत्र काट्यो । आइतबार नै पीडितले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिए । कार्यालयले ठगीमा संलग्नलाई झिकाउन कास्की प्रहरीलाई पत्राचार गरेको छ ।

कन्सल्टेन्सीका सञ्चालक श्रेष्ठले बुधबार पीडितहरूलाई फोन गरी उक्त रकम बिस्तारै फिर्ता गर्ने आश्वासन दिएका छन् । उनले उक्त काम काठमाडौंको ग्रिनल्यान्ड म्यानपावरका तेजेन्द्र केसीमार्फत गरेको बताएका छन् । ‘पोर्चृुगलका आशिष मल्ल ठकुरी त्यहाँको आईडी होल्डर हुन् । तेजेन्द्र केसीले डिमान्ड आएको छ, होटलबाट स्पोन्सर गरेर लिएर जाने हो, काम ग्यारेन्टी हुन्छ मान्छे हाल्नुस् भनेपछि मैले पठाएको हुँ,’ पीडितसँगको फोनमा उनले भने, ‘वर्क परमिट आइसकेपछि आशिष मल्ल ठकुरीलाई पैसा दियौं । उहाँको श्रीमतीले फेरि तेजेन्द्र केसीका नाममा चेक काट्नुभयो ।’ उनले कति रकम दिएको भन्ने चाहिं खुलाएनन् ।

भिसा प्रक्रियामा भारतीय एजेन्टको भर परेको र भारतीयले पनि सक्कली नै भनेर दिएको उनको दाबी छ । ती भारतीय एजेन्ट आफ्नो समेत सम्पर्कमा नरहेको श्रेष्ठले पीडितलाई बताए । आफ्नो छोरालाई पोर्चुगल पठाउने क्रममा १८ लाख रुपैयाँ डुबेपछि पोखरा मिलनटोलका हरिराज चिलुवाल ईश्वरबन्धु अर्यालको घर खोज्दै स्याङ्जाको पुतलीबजारसम्म पुगे । उनका छोरासँगै पोर्चुगल पुगेर फर्किएका सुमित गुरुङका बुबा पदम गुरुङ, गणेश आलेकी श्रीमती कोपिला आले डुबेको रकम फिर्ता पाउनुपर्ने र ठगीमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रहरी र प्रशासनमा धाइरहेका छन् । ‘यो सरासर मानव तस्करी नै हो,’ चिलुवालले भने, ‘छिटोभन्दा छिटो खोजबिन गरेर कारबाही गर्नुपर्छ ।’ कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जिल्लामा १ सय ४ जनाविरुद्ध वैदेशिक रोजगारीमा ठगी गरेको उजुरी परेको बताए ।

प्रकाशित : श्रावण ६, २०८१ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×