कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

काठमाडौं, चितवन, पोखरा र बुटवल — मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए ।

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

‘जेठ ११ को बिहान ११ बजे माइतीघर मण्डलाबाट आन्दोलन सुरु हुनेछ, र्‍यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गर्छौं,’ उनले भने, ‘सहकारीपीडितको माग पूरा नभएसम्म आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगन्ज, चितवन र धरानमा पनि एकै पटक सुरु हुन्छ ।’

सबै दललाई सहकारी बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न पनि पत्रकार सम्मेलनमा अध्यक्ष केसीले आग्रह गरे । ‘हामीले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्‍यौं । तर कसैले पनि हाम्रो माग पूरा गरेनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’ उनले भने ।

सहकारीपीडितले न्याय नपाए ०८४ को निर्वाचन बहिष्कार हुने उनको भनाइ छ । ‘तपाईंहरू मिसन ०८४ भन्नुस्, हामी मिसन ०८४ बहिष्कार गर्न अगाडि बढ्दै छौं, सहकारीपीडितको माग पूरा भएन भने ०८४ मा तपाईंहरूको लेभल पनि हाम्रो लेभलमा आउँछ, त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’ उनले भने, ‘हामीहरूले घर–घरबाट तपाईंहरूलाई लखेट्छौं, सहकारीपीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’

अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सह्य नहुने चेतावनी दिए । ‘सहकारीपीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने घोर भर्त्सना गर्छौं, तर गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’ उनले भने । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारीपीडितको पक्षमा काम गर्न नसकेको बताए ।

गृहमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आन्दोलन

बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी साहारा बहुउद्देश्यीय, सनराइज बचत तथा ऋण र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले शुक्रबारदेखि भरतपुरमा प्रदर्शन गर्ने भएका छन् । बचत फिर्ता दिलाउनुको सट्टा सरकारले अपचलनमा दोषी देखिएकालाई जोगाउन खोजेको भन्दै उनीहरूले प्रदर्शनको तयारी गरेका हुन् ।

जिल्लामा २० हजारभन्दा बढी बचतकर्ताको बिचल्ली हुँदासमेत सरकारले रकम हिनामिनामा संलग्नलाई कारबाही गर्न सक्रियता नदेखाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् । ‘कसैलाई पक्राउ पुर्जी जारी भएको केही घण्टाभित्रै पक्राउ गरेको देखियो । तर सहकारी डुबाएर लुकेकाहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको आज आठ/नौ महिना भइसक्यो, खै समातिएको ?,’ साहारा सहकारीका पीडित बचतकर्ता शालिकराम दुवाडीले भने । साहाराकै अर्का बचतकर्ता विनोद आचार्यले सर्वसाधारणको जम्मा भएको रकम अपचलन गरेर विदेश भाग्दा सरकारले केही गर्न नसक्नु निरीहपन भएको बताए । ‘हामीले रवि लामिछानेलाई पटकपटक भेटेका छौं । कुनै बेला उहाँले म सरकारमा छैन, समाउने जिम्मा सरकारको हो भन्नु हुन्थ्यो । अब त उहाँ पनि सरकारमै हो, खै त समाएको ?,’ उनले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा मुख्यालय रहेको साहारा सहकारीबाट बचतकर्ताको १२ करोड रुपैयाँ लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिमा गएको देखिएको छ । गोर्खा मिडियाका सञ्चालक ओखलढुंगा घर भएका जीबी राई साहारा सहकारीका संस्थापक हुन् । मुख्य अभियुक्तलाई नवलपुर प्रहरीले समाते पनि चितवन प्रहरीले बेवास्ता गरेको पीडितको भनाइ छ । ‘चितवनमा सनराइज सहकारीका सञ्चालकले ९० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरे । हामी २० महिनादेखि रकम फिर्ता गराउन लागिरहेका छौं । तर चितवनमा यसका सञ्चालक समातिँदैनन् । यिनै सञ्चालकले नवलपुरमा अर्को सहकारी चलाएर बचत हिनामिना गरेपछि बल्ल उता समातिएका छन्,’ सनराइज सहकारीका पीडित बचतकर्ता तुलसीराम सापकोटाले भने ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारीको बचत अपचलनमा राप्रपाका सांसद गीता बस्नेत पनि मुछिएकी छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले नसमातेकोमा पीडितको आपत्ति छ । ‘खाइनखाई पसिना बगाएर कमाएको र विदेशमा भाइले कमाएको पैसा सहकारीमा राखेको हो । हाम्रो पैसामा अरूले सुखसयल गरे । सांसदले नै हाम्रो बचत रकम हिनामिना गरे भन्ने सुन्छु । त्यस्ताको कहिल्यै भलो नहोस्,’ सनराइज सहकारीकी बचतकर्ता सुशीला केसीले भनिन् । शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ता बद्री पोखरेलले २० महिनादेखि बचत रकम फिर्ता माग गर्दा पनि सरकारले बेवास्ता गरेको बताए । ‘हामीलाई बचत फिर्ता चाहिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले फिर्ता गराए पनि भयो, गृहमन्त्री रवि लामिछाने दिलाए पनि भयो,’ बचतकर्ता बद्री पोखरेलले भने, ‘तर यही विषयमा एकअर्कालाई दोषारोपण गर्दै संसद्मा प्रतिवाद मात्रै गरेर हामीले कसरी रकम फिर्ता पाउँछौं ?’

कास्कीमा ७ दल आन्दोलित

कास्कीमा ७ वटा दलले सहकारीपीडितको पक्षमा सरकारको ध्यानाकर्षण गराउन चरणबद्ध आन्दोलन कार्यक्रम थालेका छन् । शनिबारसम्म सरोकारवाला र पीडितसँग अन्तर्क्रियात्मक छलफल चलाउने र आइतबार पोखरामा प्रदर्शन गर्ने तयारी उनीहरूको छ । पीडितका माग पूरा नभए जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने भन्दै उनीहरूले कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा समस्याग्रस्त सहकारीका पीडितको बचत सुरक्षा र फिर्ता गरिनुपर्ने माग छ ।

अघिल्लो बिहीबार बुझाइएको ध्यानाकर्षण पत्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कास्की इन्चार्ज केशबहादुर परियार, नेकपा मसालका प्रवक्ता चन्द्रबहादुर केसी, नेपाल समाजवादीका कास्की इन्चार्ज टीकाराम पौडेल, नेकपा कास्कीका सचिव उमेश सी, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष सन्तोष पौडेल, नेकपाका मनीष भट्टराई, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बुद्धि पुर्जा र वैज्ञानिक समाजवादी मोर्चाका विनोद सुनामले हस्ताक्षर गरेका छन् ।

सरोकारवाला र पीडितसँगको छलफलको कार्यक्रम सकिएपछि जेठ १३ मा जनदबाबका लागि पोखरामा प्रदर्शन गरिने क्रान्तिकारी कम्युनिस्ट पार्टीका इन्चार्ज केशबहादुर परियारले बताए । उनले करोडौं रकम अपचलन गरेका अभियुक्त केही हजार धरौटीमा छुटेर उल्टै पीडितलाई नै धम्क्याउने गरिरहेकाले पीडितका माग पूरा नभए जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने बताए ।

सहकारी ठगहरू पक्राउ गरी कानुनी दायित्वमा ल्याउनुपर्नेमा ठूला भनिने राजनीतिक दल र गृहमन्त्रीले पीडकको पक्षपोषण गरेको उनीहरूको आरोप छ । ‘जायज माग राखी आन्दोलित भएका पीडितप्रति गैरजिम्मेवार भई राज्यका उच्च निकाय र शान्ति सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्रीबाट पीडितप्रति गम्भीर हुनुको सट्टा उल्टै पीडकहरूको पक्षपोषण गर्नुले पीडितको चोटमा चोट थपिएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस्तो परिस्थितिमा कास्की जिल्लामा क्रियाशील जनपक्षीय दलहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’ कास्कीमा रहेका सूर्यदर्शन, इमेज, शिवशिखर, मित्र मिलन, विन्ध्यवासिनी, प्राइम सहकारीबाट रकम अपचलन भएको र सञ्चालकले करोडौं रकम लिएर फरार हुँदा बचतकर्ताले आफ्नो बचत फिर्ता नपाउने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

बुटवलमा दिनहुँ आन्दोलन

सहकारीको बचत रकम फिर्ता नपाएपछि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका बचतकर्ता दैनिकजसो आन्दोलनमा छन् । उनीहरूले सरोकारवालासँग छलफल/अन्तर्क्रिया गर्ने, ज्ञापनपत्र बुझाउनेदेखि सडक आन्दोलनसम्मका कार्यक्रम गरिरहेका छन् । उनीहरूले सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राई (जीबी) राईलाई पक्राउ गर्न नसकेको र सहकारीको ठूलो रकम गोर्खा मिडिया नेटवर्कमा लगेर रकम फिर्ता नगर्ने रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने अनुसन्धान एवं मुद्दाको प्रक्रियामै नआएपछि रकम फिर्ता हुन नसक्ने आशंकामा अदालत जाने तयारी गरेका छन् ।

गत मंगलबार भेला भएका पीडितले प्रहरीले अनुसन्धान सकेर मुद्दा अदालत पुर्‍याए पनि अपचलनमा संलग्न उच्च पदस्थहरू नै कारबाहीको दायरामा नआएपछि रकम फिर्ता पाउने आशा मरेको बताए । सुप्रिम सहकारीपीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बुधबार अधिवक्ता बाबुराम पाण्डेलाई कानुनी परामर्शका लागि नियुक्त गरेर अदालती प्रक्रिया सुरु गरेको बताए । ‘अब हामीले संघर्षका कार्यक्रमसँगै अदालती प्रक्रिया पनि बढाएका छौं,’ उनले भने, ‘सरकारबाट सहकारीको रकम अपचलन गर्नेलाई संरक्षण गर्न खोजेको स्पष्ट देखिँदै छ, त्यसैले आन्दोलनको विकल्प छैन ।’ उनले यसअघिको जस्तै पुनः सडक आन्दोलनको तयारी भइरहेको बताए ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताबाट संकलन भएको १ अर्ब ३१ करोडमध्ये पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको प्रहरी प्रतिवेदनले देखाएको छ । लुम्बिनीमा दुई दर्जन बढी सहकारी समस्याग्रस्त छन् । रूपन्देहीमा १२ वटा सहकारी बचत फिर्ता गर्न नसक्दा लामो समयदेखि बन्द छन् ।

पछिल्लो समय बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा रहेको मञ्जुश्री सहकारीका बचतकर्ताले आन्दोलन गरिरहेका छन् । शिवशिखर सहकारीका बचतकर्ता बुटवलका दिलीप कार्कीले सुप्रिम सहकारीपीडितहरूसँगै मिलेर आन्दोलनका कार्यक्रम तय भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख गुणाकर खनालका अनुसार उपमहानगरमा दर्ता भएका १ सय ३६ र प्रदेशमा समेत दर्ता भएका गरी बुटवलमा २ सय १५ बढी सहकारी छन् । तीमध्ये अहिलेसम्म ११ वटामा अपचलनको समस्या देखिएको उनले बताए ।

बन्द भएकामध्ये सुप्रिम, शिवशिखर र कल्पवृक्षका बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरी मुद्दा दर्ता भएर कारबाही अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले बताए । ‘अहिले सार्थक सहकारीको पनि अनुसन्धान सकेर अदालत पठाउने तयारीमा छौं,’ उनले भने, ‘समस्याग्रस्त सहकारीको संख्या थपिँदै गएको छ ।’ सोमबार बचतकर्ताले आन्दोलन गरेको मञ्जुश्रीको पनि एक महिनाभित्रमा बचत फिर्ता गर्ने सहमति गराएर पठाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×