कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

काठमाडौँ — सार्वजनिक सेवाको निर्बाध सञ्चालनका लागि सूचना तथा प्रविधसँग सम्बन्धित संवेदनशील पूर्वाधार बनाउन र कार्यान्वयनका लागि राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरिने विषय आगामी नीति तथा कार्यक्रममा समावेश छ । साथै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगसम्बन्धी सम्भाव्यता अध्ययन गरिने पनि भनिएको छ । 

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार एआई रणनीतिबारे जानकारी दिए । एआईको विकास, प्रयोग र नियमनका लागि सरकार र सरोकारवाला सबैले चाल्नुपर्ने कदमका विषय समावेश गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआईसम्बन्धी रणनीतिक अवधारणापत्र भने तयार गरिसकेको छ ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका सहसचिव अनिलकुमार दत्तको अगुवाइमा पछिल्लो तीन महिनादेखि अवधारणापत्र मस्यौदाको काम भइरहेको थियो । हाल पहिलो खेस्रा तयार भएको दत्तले केही समयअघि कान्तिपुरलाई जानकारी दिएका थिए ।यसमा एआईको व्यवस्थित प्रयोगका लागि कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने सुझाव समेटिएको मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा पहिला सरकारले एआईसम्बन्धी नीति, कानुन र कार्यविधिको निर्माण गर्नुपर्ने अवधारणापत्रमा औंल्याइएको छ ।

यसका साथै, आगामी आवको नीति तथा कार्यक्रममा सरकारले विद्युतीय सुशासन र व्यक्तीगत डेटा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने पनि उल्लेख छ । ‘विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तयार गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘विद्युतीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्न इन्टरनेट तथा डेटा एक्सचेन्ज प्लाटफर्म निर्माण गरिनेछ । विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ ।’

प्रकाशित : जेष्ठ १, २०८१ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×