कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री

माधव नेपालको राजनीतिक यात्रा फेरि कठिन मोडमा
घनश्याम खड्का

काठमाडौँ — अचानक फेरिएको सत्ता गठबन्धनले कांग्रेससहितको सत्ता साझेदारीमा एक वर्षका लागि प्रधानमन्त्री हुने आकांक्षा पालेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठेरोमा पारेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार नै नेपाल निवास पुगेर सहकार्यका लागि प्रस्ताव गरेका छन् । 

टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री

एमाले एकीकृत समाजवादीलाई सरकार बाहिरै राख्ने पक्षमा भएकाले प्रधानमन्त्री दाहालले उनलाई बालुवाटार बैठकमा खबरसमेत गरेनन् । रुघाखोकीले बिरामी परेपछि दुई दिनको अस्पताल बसाइपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपालले कोटेश्वरस्थित आफ्नो निवासमा सोमबार अपराह्न नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको बैठक डाकेका थिए । आफूलाई नयाँ समीकरणबारे कुनै जानकारी नभएको र कसैले खबर पनि नगरेको भन्दै बैठकको सुरुमै नेपालले दाहालबाट आफूलाई धोका भएको बताएको समाजवादीका एक नेताले कान्तिपुरसँग भने ।

‘विगतमा त्यत्रो सहयात्रा गरेर यहाँसम्म आउनुभएका अध्यक्षज्यूलाई दाहालबाट पूरै इग्नोर गर्ने काम भएको छ, यो धोका मात्रै होइन, राजनीतिक बेइमानी हो,’ उनले भने, ‘रातारात फेरिएको यो गठबन्धनले प्रधानमन्त्रीमा पाँचै वर्ष टिकिरहने रणनीति छ उहाँको ।’ अपराह्न चार बजेतिर बसेको बैठकमा समाजवादीका सांसदहरूले भने कम्युनिस्ट एकीकरण हुन लागेको भन्दै सरकारमा तत्काल सहभागी हुनुपर्ने धारणा राखेका थिए । ‘हामी अहिले नै सरकारमा जानुपर्छ, यसमा ढिलाइ गरेर काम छैन,’ सांसद किसान श्रेष्ठले प्रस्ताव राखेका थिए, ‘कांग्रेससँग भन्दा त हामीलाई जात मिल्ने कम्युनिस्टसँगको एकता नै ठीक छ नि ।’

अन्य सांसदहरूले पनि श्रेष्ठकै आशय झल्कने गरी सरकारमा जानुपर्ने धारणा राखेका थिए । तर, नेपालले भने आफूलाई थाहा नदिइएको र धोका भएको भन्दै यसबारे अहिले नै कुनै निर्णय गर्न नसकिने भन्दै सांसदहरूलाई पर्खन र हेर्न आग्रह गरे ।

‘नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन,’ बैठक लगत्तै पार्टी महासचिव घनश्याम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण र दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो नीतिहरू स्पष्ट पार्नेछ ।’ भुसालले विघटित गठबन्धन कांग्रेसकै कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै ‘पर्ख र हेर’ को नीति लिएको बताए । ‘हामीले गठबन्धनलाई हेरौं भन्नुको अर्थ वाम एकताको कुरा आएको छ । नयाँ गठबन्धनको उद्देश्य प्राप्त गर्न के योजना छ ? संरचना कस्तो हुन्छ ?’ उनले भने, ‘गठबन्धन दलको सीमा क्षेत्र के हो ? त्यसपछि हामी निर्णय गर्छौं । राष्ट्रप्रति उत्तरदायी हुने दिगो गठबन्धन हो कि होइन ? पर्ख र हेरौं भनेको हामी सरकारमा जान दाउ हेरेको होइन ।’

सत्तामा जान सांसदहरूको आतुरी देखेका नेपाललाई सत्ता साझेदार दलका नेताहरूले भने बैठकमा निम्तोसमेत पनि दिएका छैनन् । प्रधानमन्त्री दाहालले बालुवाटारमा एमाले, रास्वपा र जसपाका नेतासँग नयाँ गठबन्धनका लागि आठ बुँदे समझदारीमा गरेको हस्ताक्षरका बारेमा पनि आफूहरूलाई खबर नभएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ‘यो समग्र घटना अप्रत्याशित नै हो,’ खतिवडाले भने, ‘रातारात समीकरणहरू परिवर्तन गर्ने यो प्रवृत्तिप्रति हामी गम्भीर छौं ।’ बालुवाटारमा आठ बुँदे समझदारीमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल सोमबार साँझ नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । ‘भेटमा उहाँले कांग्रेससँग असहज भएकाले नयाँ समीकरणमा जान परेको र हतारमा सबै कुरा गर्न नभ्याएको भन्दै अध्यक्षज्यूलाई सरकारमा सहभागी हुन आग्रह गर्नु भयो,’ समाजवादीका एक सांसदले भने, ‘यसबारे अध्यक्षज्यू सकारात्मक नै हुनुहुन्छ ।’

पार्टी फुटेदेखि एमाले अध्यक्ष ओलीसँगको सम्बन्धमा झन् ठूलो फाटो आएकाले नेपाललाई दाहालले आग्रह गरे पनि नयाँ गठबन्धनमा सहभागी हुन सकस छ । ‘यो गठबन्धनको सुत्राधार र मुख्य दल भनेको एमाले नै हो,’ नेपाल निकट समाजवादीका एक नेता भन्छन्, ‘तर, एमाले हामीलाई बोलाउने पक्षमा छैन, दाहालले औपचारिकताबस भन्नका लागि भनेका हुन्, सरकारमा जान सक्ने अवस्थामा हामी छैनौं ।’ उनको बुझाइमा एमाले अध्यक्ष ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्ध भएकाले दाहालले नयाँ गठबन्धन बन्नुअघि समाजवादीलाई खबर गरेनन् । आम चुनाव लगत्तै एमालेले नेपाललाई राष्ट्रपति बन्न आग्रह गर्दै पार्टी एकीकरणको आग्रहसमेत गरेको एक नेताले बताए । ‘तर त्यति बेला अध्यक्षज्यूले दाहालको साथ छाड्नु भएन, उनलाई एक्लै पारेर आफ्ना लागि केही सोच्नु भएन,’ समाजवादीका अर्का एक नेताले भने, ‘आज आएर दाहालले त्यो सब गुनमा पानी फेरे, जुन राम्रो होइन ।’

सोमबार दिउँसो बालुवाटारमा बैठक सुरु हुनुअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले नेपाललाई भेटेर कांग्रेसलाई बाहेक गरी एमाले, रास्वपा र जसपासँग हुन लागेको गठबन्धनबारे जानकारी गराउन नपाएकामा दुःख लागेको भन्दै समाजवादी पनि यसमा जोडिँदा राम्रै हुने धारणा राखेको नेपाल निकट स्रोतले बतायो । श्रेष्ठ निक्लेको केहीपछि नेपाललाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका थिए । स्रोतका अनुसार आफूहरूलाई पनि प्रधानमन्त्रीले गठबन्धनबारे थाहा नदिएको भन्दै यादवले नेपालसँग सरकारमा सहभागी हुने/नहुनेबारे धारणा बुझेका थिए । जवाफमा नेपालले यसबारे आफूलाई कसैले केही नभनेको र आफू स्वास्थ्य समस्याका कारण धेरै खोजबिनमा लागिपर्न पनि नपाएको भनी जवाफ फर्काएको स्रोतले बतायो । ‘हामीलाई कसैले गठबन्धनमा बोलाएको छैन, माओवादीले फलानोलाई पनि समेट्नुपर्छ भनेका भरमा जान हामी उसको कठपुतली होइन,’ नयाँ गठबन्धन बनेपछि त्यसबारे छलफल गर्न डाकिएको बैठकमा नेपाललाई उद्धृत गर्दै समाजवादीका एक नेताले भने, ‘चारै दलले निर्णय गरेर नबोलाएसम्म सरकारमा जाने कुरा आउँदैन ।’

‘सरकारमा जान दाउ हेरेका छैनौं’


घनश्याम भुसाल

एकीकृत समाजवादी महासचिव

एमाले र माओवादीको नयाँ गठबन्धनलाई कसरी लिनुभएको छ ?

हिजो जुन स्थितिमा गठबन्धन बनेको थियो, त्यो ढंगबाट चलिरहको थिएन । मुलुकको सन्नाटा र उकुसमुकुसलाई केही सकारात्मक सन्देश दिनुपर्छ भन्ने थियो । त्यो दिशामा जान अरू समस्याका बाबजुद कांग्रेसले सहज बनाउन सकेको थिएन । बजेटदेखि अरू सुशासनको मामिला र जनताका समस्या समाधान गर्न सहज भएको थिएन । यी विषयमा हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि दिएका थियौं । तर कांग्रेसको साथ नपाउँदा प्रधानमन्त्रीमा छटपटी थियो । यसबारे कांग्रेससँग पनि हाम्रो कुरा भएको थियो । राष्ट्रिय सभा अध्यक्षको दाबी पनि गठबन्धनभित्रै समाधान गरेर जानुपर्थ्यो, हुन सकेन । अन्ततः प्रधानमन्त्रीले यो निर्णय गर्नुभयो । यो विषय समाजवादी मोर्चामा छलफल गर्न सकिन्थ्यो । यसबारे प्रधानमन्त्री प्रचण्डजीले केही बाध्यता थिए भनेर हाम्रो अध्यक्षलाई बताएको जानकारीमा आएको छ । गठबन्धनले आफ्नो मर्म बोक्न सकेको थिएन ।

एकीकृत समाजवादी ‘पर्ख र हेर’ को नीति लिएको छ, सरकारमा जाने सम्भावना कति छ ?

हामीले गठबन्धनलाई हेरौं भन्नुको अर्थ वाम एकताको कुरा आएको छ, मुलुकलाई निकास दिन भन्ने कुरा छन् । नयाँ गठबन्धनको उद्देश्य प्राप्त गर्न के योजना छ ? संरचना कस्तो हुन्छ ? भन्ने हामीले बुझ्न चाहेको हो । गठबन्धनका दलको सीमा क्षेत्र के हो ? त्यसपछि निर्णय गर्छौं । हामीले आन्दोलन गरेर गठबन्धन बनाएर हेरियो । राष्ट्रप्रति उत्तरदायी हुने दिगो गठबन्धन हो कि होइन ? बुझ्न चाहेका हौं । पर्ख र हेर भनेको हामी सरकारमा जान दाउ हेरेको होइन ।

प्रधानमन्त्री आफैं अध्यक्ष माधवकुमार नेपालको घर गएर नयाँ गठबन्धनमा आउन आग्रह गर्नुभयो नि ?

प्रधानमन्त्रीको आग्रह थियो, एउटा परिस्थितिमा निर्णय लिएँ, तपाईंसँग संस्थागत रूपमा छलफल गर्न सकिएन, मेरा केही बाध्यता थिए । लतारिएर आउनुस् भनेको होइन । सँगै जाऔं भनेर अनुरोध गर्न आएको हुँ । ओलीजीको पनि यही सन्देश हो भनेर उहाँले भन्नुभयो । प्रधानमन्त्रीले केही सन्दर्भ दिनुभएको छ, त्यसपछि विचार गर्छौं ।

उसो भए, प्रधानमन्त्रीको कदमलाई धोकाका रूपमा लिनुभएको छैन ?

हिजो गठबन्धन बने । ती विषयमा धोका भनेका छैनौं । अहिले पनि गठबन्धन टुट्यो, कसको के भूमिका रह्यो ? छलफल गरौंला । पाँच वर्ष चलाउँछौं भनेको गठबन्धन टुट्यो । प्रधानमन्त्रीले टुटाउनुभयो । तर गठबन्धन उद्देश्यअनुसार नचलेको साँचो हो । गठबन्धन भंग हुनुको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ।




प्रकाशित : फाल्गुन २२, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×