कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झोलुंगे पुल चढ्न भर्‍याङ !

पुल निर्माण भए पनि पहुँच मार्ग नभएकाले जोखिम मोलेर यात्रा
दीपेन्द्र बडुवाल

भैरहवा — यात्रुहरूलाई वारपार गर्न सहज होस् भनेर खोला/नदीमा पुल निर्माण गरिन्छ । तर रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–२ स्थित तिनाउ खोलामा बनाइएको झोलुंगे पुलले भने यात्रीहरूलाई राहतको भन्दा बढी सास्ती दिइरहेको छ । झोलुंगे पुलले यात्रा त छोट्याएको छ तर यसले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाइरहेको छ ।

झोलुंगे पुल चढ्न भर्‍याङ !

यहाँ निर्माण गरिएको एक पुल अन्यत्रको जस्तो छैन । पुलसम्म पुग्नै भर्‍याङ चढ्नुपर्ने बाध्यता छ । सडकभन्दा अग्लो स्थानमा बनाइएको उक्त झोलुंगे पुल पुग्नका लागि बाँसको भर्‍याङ हालिएको छ । यात्रु सोही भर्‍याङ चढेर पुल पुग्छन् अनि अर्को पुलमार्फत ओर्लन्छन् । पुलको दुवै मुखमा राखिएका कामचलाउ बाँसको भर्‍याङ उति सुरक्षित पनि छैनन् । केटाकेटी, ज्येष्ठ नागरिक, अशक्त तथा दृष्टिविहीनहरूका लागि बाँसका भर्‍याङ चढ्न र ओर्लन कष्टकर बनिरहेको छ । हातखुट्टा फुत्क्यो कि भर्‍याङबाट लड्ने जोखिम उत्तिकै छ । खोला तर्ने अरू उपाय नभएकाले बाटोभन्दा उत्तर खेतबारी नजिक निर्माण गरिएको पुलबाट जोखिम मोलेरै भए पनि हिँड्न स्थानीय बाध्य छन् ।

झोलुंगे पुल निर्माण थालिएको तीन वर्ष भयो । तर पनि अझै सकिएको छैन । गाउँपालिकाको २ र ५ नम्बर वडा जोड्ने उक्त पुलको दुवैतर्फ पहुँच मार्ग निर्माण गरिएको छैन । त्यसैले पुलबाट ओहोरदोहोर गर्न दुवै किनारमा रहेका पिलरमा भर्‍याङ ठड्याइएको छ । कोटहीमाई–२, भुवरीका मनीष श्रीवास्तवले पुल निर्माण बल्लतल्ल भए पनि पहुँच मार्ग नभएकाले खोला वारपार गर्नेले जोखिम मोल्नुपरिरहेको बताए ।

पुलले पूर्णता नपाउँदा कोटहीमाई–५ बाट मझगावाँस्थित विद्यालयका विद्यार्थीलाई समस्या भइरहेको उनले बताए । भर्‍याङ उक्लिने र ओर्लिने क्रममा बालबालिका लडेर घाइते भइरहेको बताए । ‘हाम्रो समस्या कोही सुन्दैनन्,’ उनले भने, ‘ठूलाबडा यो बाटो आउँदैनन्, हातखुट्टा हाम्रो भाँचिने हो, अरूलाई के चासो ?’ उनका अनुसार हिउँदमा साइकल र मोटरसाइकल खोलामा हेलिने गरेका छन् । वर्षामा साइकल बोकेर पुलबाट वारपार गर्दै आएको उनले बताए । ‘पुल निर्माण पूरा नहुँदा वर्षामा धेरै पीडा हुन्छ,’ उनले भने, ‘नजिकको गाउँ पनि टाढा हुने गर्छ, आँगनमै पुल भए पनि दुःख छ ।’

गाउँको बाटोसँग पुल जोडिएको छैन । खेतैखेत हुँदै पुलसम्म पुग्नुपर्छ । पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरेर २०७७ माघ २७ मा कार्यादेश दिइएको थियो ।२०७७ सालमा सम्झौता भएको पुल निर्माणका लागि निर्वाचन क्षेत्रगत कार्यक्रमअन्तर्गत करिब ६२ लाख, कोटहीमाई गाउँपालिकाबाट साढे १० लाख रुपैयाँ विनियोजित पुलको लागत ८० लाख रुपैयाँ हो । तर पुल निर्माण भने चारपटक म्याद थप गर्दा पनि अझै नसकिँदा खोला वारपार गर्न सास्ती खेप्नुपरिरहेको हो ।

स्थानीयका अनुसार कोटहीमाई–२, भुवरी र ५ नम्बर वडाको बेनीनगर जोड्ने यस पुलबाट यात्रा गर्दा केही स्थानीयका हातखुट्टासमेत भाँचिएका थिए । कतिपयलाई चोटपटक लाग्ने गरेको छ । ‘पुल अप्ठ्यारो छ, भर्‍याङ पनि सजिलो छैन । चिप्लिएर दुर्घटना हुन्छ,’ स्थानीय ७० वर्षीय सोहरत अहिरले प्रश्न गरे, ‘गएको साता भुवरीका हरिशचन्द्रको खुट्टै भाँचियो, कहिलेसम्म हामीले यस्तो सास्ती भोग्नुपर्ने हो ?’ सबैले भर्‍याङ उक्लिन सक्दैनन् । नसक्नेहरू खोलाबाट पार गर्छन् ।

वर्षामा पुलकै कारण कक्षा छुट्ने गरेको मझगावाँस्थित विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने सन्तोष मौर्यकले बताए । ‘पुलमा साइकल चढाउन सक्दिनँ,’ उनले भने, ‘पैदल जानुपर्छ, ढिलो हुँदा कक्षा छुट्छ ।’ कोटहीमाई गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीले स्थानीयको पीडा कम गर्न छिटो काम होस् भनेर चार पटकसम्म म्याद थप गरिएको बताए । ‘उपभोक्ता समितिले जिम्मेवारीबोध नगर्दा निर्माणमा ढिलाइ भयो,’ उनले भने, ‘जसरी पनि छिटो काम होस् भनेर लागेका छौं, चालु वर्ष पनि १० लाख रुपैयाँ विनियोजन गरेका छौं, अहिलेसम्म सम्झौता हुन भने सकेको छैन ।’

यसअघिको निर्माण उपभोक्ता समितिले नै आफूलाई नोक्सान भएको दाबी गर्दै फेरि काम गर्न पाउनुपर्ने अडान लिएकाले सम्झौता हुन नसकेको पालिकाले जनाएको छ । तत्कालीन उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरी गाउँपालिकाको अदूरदर्शी निर्णयले यस्तो अवस्था सिर्जना भएको बताउँछन् । पुल निर्माणको अनुगमन र परामर्शदाताका रूपमा गैरसरकारी संस्थालाई जिम्मा दिइएकाले काममा ढिलाइ भएको चौधरीले दाबी गरे ।

प्रकाशित : फाल्गुन १३, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×