कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन

घाइते ११६, काजकिरिया भएका १६ र उद्धारको पर्खाइमा रहेका १२७ जनासहित कुल ५३१ पीडित परिवार सरकारको सम्पर्कमा

काठमाडौँ — अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते र बेपत्ता हुने नेपालीका बारेमा भने मौन छ । 

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले भने हालसम्म २ सय ७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचेतना अभियानले अहिलेसम्म २ सय ७२ जना बेपत्ताका परिवार सम्पर्कमा आएको बताएको हो । अभियानमा आबद्ध कृतु भण्डारीले रुसमा भर्ती भएकाको पारिवारिक विवरण संकलन गरिरहेकी छन् । उनकै नेतृत्वमा रुसी सेनामा मारिएका, बेपत्ता, घाइते र उद्धारको पर्खाइमा रहेकाका पीडित परिवारले अभियान चलाइरहेका हुन् ।

‘यो अभियानमा रुसी सेनामा भर्ती भएर लामो समयदेखि बेखबर भएका २ सय ७२ जनाको परिवार सम्पर्कमा आइसक्नुभएको छ,’ अभियानकी भण्डारीले भनिन्, ‘त्यसबाहेक पनि हामीले घाइते हुने १ सय १६ जनाका परिवार र काजकिरिया गरिसकेका १६ जनाको परिवार गरी ५ सय ३१ जनाको पीडित परिवारको विवरण एकीकृत गरिसकेका छौं ।’ पत्रकार सम्मेलनमार्फत उनले नेपालसँग साइनो सम्बन्ध नै नभएको रुस–युक्रेन युद्धमा नेपाली दाजुभाइहरू फस्न पुगेकोमा चिन्ता व्यक्त गर्दै थपिन्, ‘सरकारले बेपत्ताको खोजी जतिसक्दो छिटो गर्नुपर्छ । रुसी सेना छोड्न चाहनेहरूलाई पनि तुरुन्तै उद्धार गरी फिर्ता ल्याइनुपर्छ ।’

परराष्ट्रमन्त्री एनपी साउदले भने हालसम्म २ सय ३१ जनाका परिवारले मात्र रुसी सेनामा आफन्त भएको लिखित जानकारी गराएको बताए । कान्तिपुरका नयाँ दिल्लीस्थित संवाददातासँगको कुराकानीमा मन्त्री साउदले भने, ‘त्यसमध्ये पनि ५०/६० जना फर्किसकेका छन् । केही दिवंगत भए । बाहिर भनिएजस्तो त्यो संख्या हजारौंमा देखिँदैन । २ सय ३१ परिवारले आवेदन दिएकाले त्यही सेरोफेरोमा रुसी सेनामा नेपाली हुनुपर्ने अनुमान छ ।’ उनले रुससँग नेपालको कुनै पनि सैन्य भर्नाको सन्धि वा सहमति नभएकाले सैन्य भर्नामा नेपाली नलिइदिन रुसलाई भनिसकेको बताए ।

सरकारले रुसी सेनामा भर्ना भएका र मृत्यु भएकाहरूको औपचारिक विवरण भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंसिरमा एक सार्वजनिक कार्यक्रममा रुसी सेनामा दुई सय नेपाली भर्ना भएको हुन सक्ने बताएका थिए । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू भने कम्तीमा १५ सय नेपाली रुसी सेनामा भर्ना भएको दाबी गर्छन् ।

महिनौंदेखि परिवारसँग सम्पर्कविच्छेद

मकवानपुरकी हरिमाया तामाङका श्रीमान् विजयबहादुर थोकरसँग फोन सम्पर्क नभएको एक सय २५ दिन भयो । रुसी सेनामा भर्ती भई युद्धका लागि युक्रेन गएदेखि नै उनको विजयसँगको सम्पर्क टुटेको हो । ‘उहाँसँग अन्तिम पटक कात्तिक ६ मा फोनमा कुरा भएको थियो । रेडजोनमा जानुअघि एक हप्ता सम्पर्कमा नआउन सक्छु भन्नुभएको थियो,’ शनिबार बत्तीसपुतली, काठमाडौंमा भेटिएकी हरिमायाले भनिन्, ‘तर यतिका समय बित्दा न उहाँको फोन आउँछ, न त अरू कसैले नै अवस्था के छ भनेर भन्छन् ।’ विजयलाई सामान्य तालिमसमेत नदिई एकैपटक रेडजोनमा लगिएको हरिमायाले बताइन् ।

उनी श्रीमान्को खोजी गरिदिन कहिले कन्सुलर विभागमा धाइरहेकी छन् त कहिले काठमाडौंस्थित रुसी दूतावासमा । ‘कसलाई भेट्दा श्रीमान्को अवस्था थाहा पाइन्छ भन्ने नै थाहा भएन । पहिला श्रीमान्का साथीहरूसँग सम्पर्क हुन्थ्यो । अहिले उनीहरूले समेत ब्लक गरिदिएका छन्,’ उनले दुखेसो पोखिन् । रुस जानुअघि विजय काठमाडौंमै घर बनाउने काम गर्थे । ‘एक दिन चितवनका एजेन्टले रुसी सेनामा भर्ती भइरहेको खबर सुनाए । रुस–युक्रेनको पहिलाजस्तो युद्ध छैन भनियो । सेनामा भर्ती भए पनि युद्धमा जानुपर्दैन भनियो । त्यसपछि उहाँ पनि ८ लाख रुपैयाँ तिरेर रुस जानुभयो,’ उनले भनिन्, ‘भविष्य राम्रो होला भनेर जानुभयो । अहिले तनावबाहेक केही छैन ।’

मधुवालिया–९, रूपेन्द्रेहीका प्रेमप्रकाश न्यौपानेको मंसिर १६ यता परिवारसँग सम्पर्क छैन । ३५ वर्षीय न्यौपाने गत कात्तिक २२ मा रुसी सेनामा भर्ती भएका थिए । आधारभूत तालिम लिने क्रममा श्रीमती सुधासँग भने उनको कुरा भइरहन्थ्यो । ‘जब युक्रेन प्रवेश भयो, हामीसँग सम्पर्क टुट्यो । हामीले उहाँको हालचाल बुझ्न र खोज्न कुनै कसर बाँकी राखेका छैनौं, तैपनि केही अत्तोपत्तो छैन । सम्पर्कमा आउने जति उहाँका सबै साथीहरूसँग सोधखोज भयो । तर कसैले आधिकारिक सूचना दिँदैनन्,’ प्रेमप्रकाशका आफन्त उमाकान्तले कान्तिपुरसँग भने, ‘रुसी निकायले पनि केही बोल्दैन, परराष्ट्रबाट कुनै सोधखोज नै छैन । हामी निकै बिलखबन्दमा पर्‍यौं ।’ प्रेमप्रकाश बेपत्ता भएपछि परिवारमा तनाव थपिएको उमाकान्तले बताए । ‘जे भए पनि अवस्था के छ मात्रै भनिदिए पनि हुन्थ्यो, कोही बोल्दैनन् । कसको भर गर्ने, कसको नगर्ने केही थाहा भएन,’ उनले भने । परिवारजनले पुस दोस्रो सातामै प्रेमप्रकाशको खोजीका लागि परराष्ट्र र रुसी दूतावासमा निवेदन दिएका थिए ।

रुसी सेनामा भर्ती भएका श्रीमान् बेखबर भएपछि खोटाङकी अञ्जली बस्नेतको यतिबेला दिनको भोक र रातको निद्रा हराएको छ । श्रीमान्सँग सम्पर्कविच्छेद भएदेखि शारीरिक र मानसिक रूपमा नै उनी कमजोर बन्दै गएकी परिवारका अन्य सदस्यको बुझाइ छ । ८ वर्षका छोरा र चार वर्षकी छोरी छोडेर युक्रेनसँगको युद्धमा होमिन रुस पुगेका ३४ वर्षीय श्रीमान् क्षितिज कात्तिक २ देखि नै सम्पर्कविहीन भएका हुन् । दुबईको सेक्युरिटी गार्ड छोडेर भदौ २८ मा रुस पुगेका हुन्, क्षितिज । ‘युक्रेनको लुहान्स जानुअघि मलाई म्यासेज छाड्नुभएको थियो । कात्तिक २ को बिहान म्यासेज पठाएर हामी एक डेढ महिना जंगलमा हुन्छौं भन्नुभएको थियो । त्यसपछि अर्को म्यासेज आएको छैन ।’

पञ्चपुरी नगरपालिका–४, सुर्खेतका लक्ष्मण विष्ट पनि दुई महिनादेखि परिवारसँग सम्पर्कमा छैनन् । लक्ष्मण सम्पर्कविहीन हुँदा एक्ली आमा मन्दिरा चिन्तित छन् । मंसिर ८ देखि हराइरहेका सुरुङ्गा–२, सप्तरीका २४ वर्षीय सन्दीप दाहालको खोजीको अनेक प्रयत्न सफल हुन नसकेको आफन्त हिसानन्द कोइरालाले बताए । सन्दीप दुबईबाट रुसी सेनामा भर्ती हुने भन्दै भदौ २७ मा त्यहाँ पुगेका थिए । सन्दीपसँगै गएका एक साथी भने भागेर नेपाल आइपुगेका छन् । ती साथीका अनुसार सन्दीपको समूहलाई युक्रेनस्थित युद्ध क्षेत्रमा लगिएको थियो । ‘सहरबाट दुई दिनसम्म गाडीमा सँगै गएका थियौं । गाडीबाट झरेपछि हामीलाई दुई समूहमा अलगअलग ठाउँमा लड्न पठाइयो । दुई जना नेपालीसहित ६ जनाको मृत्यु भयो । यहाँ बस्नु हुँदैन भनेर भाग्यौं,’ ती साथीको भनाइ उद्धृत गर्दै हिन्सानन्दले भने, ‘त्यो दिनदेखि सन्दीप कहाँ छ थाहा छैन ।’

धनुषाका विमलकुमार गजमेर, रामकृष्णा अधिकारी र भीम विक पनि हराइरहेका छन् । विमलका दाइ पवन गजमेरले भाइसँग अन्तिम संवाद गत असोज २४ मा भएको बताए । ‘अहिले टिकटकमार्फत भाइको साथीहरूसँग सम्पर्क बढाउने प्रयास गरिरहेको छु । त्यसक्रममा मैले धेरै नेपाली पनि भेट्टाएँ । केहीले मेरो भाइलाई चिन्दा रहेछन् तर भाइ जिउँदो छ कि छैन भनेर कसैले बताउन सकेका छैनन्,’ उनले थपे, ‘न उनीहरूले मरेको छ भन्छन्, न त सकुशल नै छ भनेका छन् ।’

प्रकाशित : फाल्गुन १३, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×