कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोही किन गरिरहेछन् परिवारै सिध्याएर आत्महत्या ?

प्रहरी प्रवक्ता भीम ढकाल पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकट, विवाहेत्तर सम्बन्ध जस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकारात्मक निर्णयले यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् ।
'समस्याको समाधान गर्ने सामाजिक आधार नभएपछि व्यक्तिगत निर्णयमा जाँदा गलत भइरहेको छ किनकि जटिल परिस्थितिलाई सामना गर्ने प्यारेन्टिङ, स्कुललिङ नभएको हुनसक्छ ’- क्लिनिकल साइकोलोजिस्ट विजय ज्ञवाली
विद्या राई

काठमाडौँ — बुधबार बिहान काठमाडौंको नागार्जुन-६ सीतापाइलाको भैरव टोलस्थित डेरा गरी बस्ने एकै परिवारका चार जना मृत भेटिए । दूधकुण्ड–६, सोलुखुम्बुका उनीहरु एक वर्षयता डेरामा बस्दै आएका थिए । 

कोही किन गरिरहेछन् परिवारै सिध्याएर आत्महत्या ?

पारिवारिक कलहका कारण ३७ वर्षका राजु भनिने काजी विश्वकर्मा (घिमिरे) ले आफ्नी श्रीमती ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र नातिनी (छोराको छोरी) २ वर्षीया सिवाना श्रेष्ठको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । श्रीमती, छोरी र नातिनीको शव घरैभित्र भेटिएको थियो ।

काजीको शव डेराबाट केही पर हृवाइट गुम्बाको जंगलमा फेला परेको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार काजीले मर्नुअघि ससुरा र सालीलाई फोन गरेर आफूले हत्या गरेको र आफू पनि मर्न जान लागेको बताएका थिए । डीएसपी चन्दका अनुसार अन्दाजी १४–१५ वर्षको नाबालक छोराको मोबाइलमा पनि काजीले आफूले हत्या गरेको व्यहोराको भिडियो भेटिएको थियो । भिडियोमा श्रीमतीको विवाहवेत्तर सम्बन्धले अप्रिय घटना हुने स्थिति आएपछि हत्या गरेको स्वीकारेका छन् ।

काजी मृतक ईश्वरीका दोस्रो श्रीमान् हुन् भने अनिशा उनीहरूकै छोरी । नातिनी भने ईश्वरीको पहिलो श्रीमानबाट जन्मिएका छोराकी छोरी हुन् । प्रहरीका अनुसार हत्याको समयमा नाबालक छोरा र सिवानाकी आमा (बुहारी) बाहिर थिए । सिवानाका बाबु वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

...........................

गत माघ २७ गते महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटकी एक महिलाले आफ्ना दुई सन्तानलाई हत्या गरेर आत्महत्या गरिन् । शनिबार दिउँसो ३६ वर्षीया रविना महर्जनले हामफालेको देखेपछि स्थानीयले उद्धार गरेर अस्पताल लगे । घरभित्र हेर्दा ६ र २ वर्षका छोराछोरी अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई पनि स्थानीयले अस्पतालमा उपचार गर्न लगेका थिए । तर दुवै सन्तानसहित रबिनाको अस्पतालमै मृत्यु भयो । घटना हुदा रविनामा श्रीमान घरमा थिएनन् । प्रहरीकाको सोधपुछ अनुसार पारिवारिक कारणले घटना भएको हुनसक्ने स्थानीयले बताएका थिए ।

..............................

गत मंसिरमा धनकुटा नगरपालिका–१ निगालेमा डेरा गरी बस्ने ३५ वर्षीय टीका गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुषको हत्या गरेर आत्महत्या गरेका थिए । स्थानीयका अनुसार गुरुङ दम्पत्ती ज्यालामजदुरी गर्दै जिविका चलाउँथे । जिल्ला प्रहरी कार्यालय धनकुटाकाअनुसार टीकाले मादक पदार्थ सेवन गरेर श्रीमती र छोराको हत्या गरेपछि आफूले आत्महत्या गरेका थिए । स्थानीयका अनुसार यसअघि पनि मादक पदार्थ सेवन गरेर गुरुङ दम्पत्तिबीच झैझगडा हुने गरेको थियो ।

..............................

उल्लिखित प्रतिनिधिमुलक घटनाहरुले पछिल्लो समय पारिवारिक कलहका कारण परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गर्ने क्रुर प्रवृतिलाई चित्रण गरेको छ ।

प्रहरी प्रवक्ता भीम ढकालका पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकट, विवाहेत्तर सम्बन्ध जस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकरात्मक निर्णयले यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् । ‘पछिल्लो बर्ष परिवार, नातेदार, चिनेका व्यक्ति समाजभित्रै यस्ता घटनाहरु हुन थालेको देखेका छौं,’ व्यक्ति हत्या गर्ने प्रवृति फेरिएको बताउँदै उनले भने ‘१५/२० वर्ष अघि अपराधिक (हत्या सहित) घटना नचिनेका मान्छेबाट हुन्थे, अहिले ७० देखि ८० प्रतिशत अपराध चिनेकाबाट हुन थालेको छ ।’

आधुनिकीकरण र सामाजिक सञ्जालको प्रयोगले परिवार र समाजभित्र नैतिकता, आत्मीयता घट्दै गएकोले परिवारभित्रका कलहहरु हत्या र आत्महत्यासम्म पुग्ने गरेको बताए । ‘कतिपय घटना आर्थिक कारोबारले गर्दा उब्जेका छन्, चिनेजानेकै भित्र कारोबार हुन्छ, चिनेजानेकै बीचमा सम्बन्ध हुन्छ, तनाव र समस्या सिर्जना भएपछि समाधानका लागि सकरात्मक पहल गर्नुको साटो आवेगमा हुने निर्णयले यस्ता अप्रिय घटना भइरहेका छन्,’ ढकालले भने ।

क्लिनिकल साइकोलोजिस्ट विजय ज्ञवालीले हत्यापछि आत्महत्याका घटनाले सामाजिक ऐनालाई प्रतिबिम्बित गरेको बताउँछन् । ‘समाजमा जे भइरहेको छ, त्यसैलाई मनमा लिएर विचार निर्माण गर्ने र व्यवहारमा देखाउने गर्दा यस्ता घटना बाहिरिन थालेका छन्,’ ज्ञवालीले भने, ‘समस्याको समाधान गर्ने सामाजिक आधार नभएपछि व्यक्तिगत निर्णयमा जाँदा गलत भइरहेको छ किनकी जटिल परिस्थितिलाई सामना गर्ने प्यारेन्टिङ, स्कुललिङ नभएको हुनसक्छ ।’

उनको भनाइमा यस्तो गम्भीर घटनामा अध्ययन हुन जरुरी भएर पनि हुन सकेका छैनन् । उनले केही घटनाक्रमलाई पछ्याइरहेको सुनाउँदै भन्छन्, ‘गहिराइमा हेर्ने हो भने भूकम्पपछि कोरोना महामारी, आर्थिक संकट, वैदेशिक रोजगारी पक्षले यस्तो भइरहेको छ ।’ आर्थिक संकट र पारिवारिक समस्या सामना गर्ने क्षमता व्यक्तिपिच्छे फरक हुनेगर्छ । उनी भन्छन्, ‘संकटहरुमा अवसर र खतरा दुवै हुन्छ, अवसरमा रुपान्तरण गर्न नसक्दा खतराको नतिजा आउने नै भयो ।’ राज्यले हरेक व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने र मानसिक स्वास्थ्यमा जनचेतना अभिवृद्धि गर्नुपर्ने ज्ञवाली बताउँछन् ।

‘दुई वर्षसम्म आर्थिक संकट हुँदा पनि राज्यले हेर्छ भन्ने विश्वास नागरिकलाई दिलाउनुपर्‍यो,’ ज्ञवाली भन्छन्, ‘भएका मानसिक स्वास्थ्यका कार्यक्रम प्रभावकारी हुनुपर्‍यो, जस्तो सरकारले आत्महत्या रोकथामको लागि ११६६ राष्ट्रिय हेल्पलाइन सञ्चालन गर्छ, मैले १०० जना विरामी हेर्दा एकजनाले मात्रै त्यो सेवा थाहा पाएको हुन्छ, खास प्रभावित सीमान्तकृतहरुसम्म पुर्‍याउनुपर्‍यो ।’

हत्या गरेर आत्महत्या गर्ने घटनाहरुबारे प्रहरीसित एकीकृत तथ्यांक नभएपनि पछिल्ला वर्षहरुमा बढ्न थालेको प्रहरी प्रवक्ता ढकाल बताउँछन् । ‘यस्तो हुनुहुँदैन, न्यूनीकरण गर्न जनचेतना जगाउने काम प्रहरीले पनि गरिरहेको छ,’ ढकालले भने, ‘समाजका अगुवा, जनप्रतिनिधिहरुले पनि आफ्नो वरपरका मान्छेहरुलाई ख्याल गर्नुपर्छ, समस्या किन हुँदैन तर समाधानका सकरात्मक विकल्पहरु अपनाउनुपर्छ ।’

महालेखापरीक्षकको कार्यालयको स्वास्थ्य मन्त्रालयमाथिको लेखापरीक्षण प्रतिवेदन ०७९ अनुसार नेपालमा आत्महत्याबाट मृत्यु हुने दर प्रति एक लाख जनसंख्यामा २३ छ । सरकारले सन् २०३० भित्रमा दिगो विकास लक्ष्य अनुरुप ९ जनामा झार्ने लक्ष्य राखेको भएपनि यो दर उच्च हुनुमा लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्यायोजना, सोको कार्यानवयन गर्न सबै तहका स्वास्थ्य निकायबीच समन्वय, आवधिक मुल्यांकन तथा प्रभावकारी नियमनको अभाव रहेको महालेखाले औंल्याएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?