कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'लेस्बियन'को पहिलो विवाह दर्ता

रुपा गहतराज

नेपालगन्ज — बर्दियाको बढैयाताल गाउँपालिका -२ ले पहिलोपटक समलिंगी (लेस्बियन) जोडीको विवाह दर्ता गरेको छ । बढैयाताल-२ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र गण्डकी बन्दीपुर गाउँपालिका -५ बस्ने सुप्रिता गुरुङको विवाहलाई वडाले कानूनी मान्यता दिएको हो । ३३ वर्षीया दीप्ति र ३३ वर्षीया सुप्रिता पाँच वर्षदेखि सम्बन्धमा थिए ।

'लेस्बियन'को पहिलो विवाह दर्ता

यसअघि लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटस्थित वडा कार्यालयले पहिलोपटक समलिंगी पुरुष जोडीको विवाह दर्ता गरेको थियो ।

मुलुकी देवानी संहिता २०७४ ले व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने व्यवस्था गरेको छ ।

असार २१ म सर्वोच्च अदालतले यौनिक तथा लैंगिक पहिचानसहित नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्ने, प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता रहेको र कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था भएकाले विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु/गराउनू भनी अन्तरिम आदेश दिएको थयो ।

दीप्ति र सुप्रिता सामाजिक सञ्जाल फेसबुकमार्फत जोडिएका थिए । महिलाको रुपमा जन्मिएपनि दिप्तीलाई पुरुषसँग कुनै आकर्षण थिएन । एसएलसीको पढाईपछि उनीले आफूभित्रको फरकपनाबारे बिस्तारै अनुभव गर्न थालेका थिए । भनिन्, ‘म अरुभन्दा फरक छु भन्ने महसुस हुँदै गयो । पुरुषसँग मेरो कहिल्यै आर्कषण नै भएन ।’

परिवारले छोरी ठानेर केटासँग उनको विवाह गर्ने तयारी थालेपछि उनलाई घर नै छोडेर हिँडनुपर्ने अवस्था आईपरेको थियो । दिप्तीले सुनाईन, ‘म भागेर एक्लै बस्न थाले । पछि भने परिवारका सदस्यले ममाथी विश्वास गर्न थाल्नुभयो ।’

३३ वर्षीया सुप्रिताले पनि आफ्नो फरक परिचय स्थापित गर्न खुबै संघर्ष गर्नुपर्‍यो । आमा र दाइसँगै बेलायतमा बस्दै आएकी उनीसँग आफ्नो पहिचान स्थापित गर्न गरेको संघर्ष लामो छ । सुनाईन्, ‘हुर्किँदै जाँदा मैले मेरो फरकपना थाह पाए । विपरीत लिंगीसँग मेरो आर्कषण छैन भन्ने बुझे । तर घरमा भने मेरो बिहेको कुरा चलाउन थालियो । त्यतिबेला म निकै डराए ।’ समयक्रममा घरले उनको पहिचान स्वीकार्यो । उनले सुनाईन, ‘बिस्तारै आफनो भावना आफै बुझेपछि दीप्तिसँग नजिकन पुगेँ ।’

विवाहपछि उनीहरू दुवैले विवाह भनेकोसँगै बस्ने प्रतिबद्धता मात्रै नभएर एक अर्काको भावना बुझेर एकअर्काप्रति सहयोगी हुनु भएको बताए । सुप्रिताले भनिन्, ‘विवाहको जिम्मेवारीको बोझ होइन । साझेदारी हो । एकअर्कालाइ माया, हेरचाह, सम्मान गरेर हामी बाँकी जीवन बिताउँछौं ।’

सोमबार विवाह दर्तापछि उनीहरु नेपालगञ्जस्थित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालको कार्यालयमा पुगेर खुसी साटासाट गरे । संस्थाकी कार्यक्रम संयोजक परिना चौधरीले भनिन्, ‘आज हाम्रो लागि एउटा उत्सवको दिन हो । आज प्रेम गर्नेहरुको जित भएको छ । पहिचान लुकाएर बसेका साथीहरुलाइ हौसला बढेको छ ।’

स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारीअनुसार विवाह दर्ता गरिएको बताए । ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’ नेपालीले भने, ‘समलिंगी महिलाको विवाह दर्ता भएको यो पहिलो हो ।’

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको एवं पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिंगी) जोडी भएको बताए ।

दीप्ति र सुप्रिताले विवाह दर्ताका लागि लामो समयदेखि प्रयासरत थिए । उनीहरुले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए ।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । पहिलो विवाह दर्ता गर्न राय दिएको पञ्जीकरण विभागले दीप्ति र सुप्रिताको विवाह दर्तामा भने राय दिन समय लियो । विभागको राय अनुसार विवाह दर्ता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

प्रकाशित : माघ २९, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×