कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माओवादी नेतृत्वमा रहेका पालिकाले दिए फागुन १ मा सार्वजनिक बिदा

काठमाडौँ — सर्वोच्च अदालतले 'जनयुद्ध दिवस'को बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले  फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

माओवादी नेतृत्वमा रहेका पालिकाले दिए फागुन १ मा सार्वजनिक बिदा

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

नेपाल सरकारको २०७९ माघ २९ को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको थियो । तर उक्त आदेशमा संघ र प्रदेश सरकारबारे मात्र बोलिएको भन्दै माओवादी नेतृत्वमा रहेका केही जिल्लाका पालिकाहरुले भनेबिदा दिएका छन् ।

दाङको बंगलाचुलीमा बिदा

दाङको बंगलाचुली गाउँपालिकाले बिदा दिने निर्णय गरेको छ । सोमबार सूचना जारी गर्दै गाउँपालिकाले फागुन १ गते मंगलबार विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गाउँपालिका कार्यालयका साथै मातहतका सबै सरकारी कार्यालय र शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । बंगलाचुली गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीराम पुन मगर छन् ।

कालिकोटका ५ पालिकामा बिदा

कालिकोटका ५ स्थानीय तहले फागुन १ गते बिदा दिने घोषणा गरेका छन् । जिल्लाका ९ मध्ये रास्कोट र खाँडाचक्र नगरपालिका, महाबै, पचालझरना र पलाता गाउँपालिकाले फागुन १ गते पालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् ।

रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयहरुको बीचमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको भूमिका विषयक बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने नगर प्रमुख धर्मराज शाहीले बताए । उनले आइतबार जारी गरेको विज्ञप्तिमा नगर भित्रका सम्पूर्ण कार्यालयलाई सार्वजनिक बिदा दिने उल्लेख छ । 'जनयुद्धकै योगदानले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,'उनले भने, 'जनता जगाउन र सहिदलाई सम्झिन फागुन १ लाई उत्सवका रुपमा मनाउन लागिएको हो ।'

उनले जनताले बलिदानी गरेको दिवस मनाउन पाउनु अधिकार भएको दाबी गरे । उनले देशमा ३ तहका स्वायत्त सरकार भएकाले सर्वोच्च अदालतले संघीय सरकारलाई जनयुद्ध दिवसको बिदामा रोक लगाए पनि स्थानीय सरकारलाई नभनेको तर्क गरे ।

तर, नेपाली कांग्रेसबाट निर्वाचित रास्कोट-४ का वडाध्यक्ष दिनेश सन्ज्यालले सर्वोच्चको आदेश विपरीत जानु अदालतको मानहानी गर्नु भएको बताए ।

त्यस्तै, पलाता गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले प्रेस नोट जारी गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, सरकारी तथा गैहृ सरकारी कार्यालयलाई सार्वजनिक बिदा दिने उल्लेख छ । उनले माघ २७ गतेको गाउँकार्यपालिकाको निर्णयअनुसार बिदा दिन लागिएको बताए ।

खडाचक्र नगरपालिकाको माघ २८ गतेको कार्यपालिका बैठकमा जनयुद्ध दिवको अवसरमा बिदा दिने घोषणा गरेको छ ।

त्यस्तै, पचालझरना र महाबै गाउँपालिकाले पनि जनयुद्ध दिवसलाई रचनात्मकरुपमा मनाउन बिदा दिइएको जनाए महाबै गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इ. प्रकाश शाहीले जारी गरेको विदा सम्बन्धी सार्वजनिक सूचनामा गाउपालिकाको कार्यालय अर्न्तगतका सम्पूर्ण विद्यालय, सरकारी, गैहृ सरकारी कार्यालय, बैक, वित्तीय संस्थामा बिदा दिने उल्लेख छ ।

एमालेले भने महाबैमा बिदा दिने निर्णयमा आफ्नो पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरु सहमत नभएको जनाउदै विज्ञप्तिमार्फत फिर्ता लिन माग गरेको छ । महाबैमा उपाध्यक्षसहित ७ मध्ये ३ वडाध्यक्ष एमालेका छन् । पूर्व गाउँपालिका उपाध्यक्ष मनराज शाहीले विज्ञप्तिमार्फत सर्वोच्चको फैसला विपरीत घोषणा गरिएको बिदा फिर्ता लिएर कार्यालय, विद्यालय, संघसंस्था सुचारु गर्न अनुरोध गरेको छ ।

नेपालको कानूनअनुसार सर्वोच्चको फैसला विपरीत चल्ने छुट कसैलाई नभएको कालीकोटका प्रजिअ गणेश नेपालीले बताए । सर्वोच्च अदालतले गरेको फैसला सबैले कार्यान्वयन गर्नुपर्छ,'उनले भने,'कार्यान्वयन नगरे कसैले अदालतमा मानहानीको मुद्दा हाले सजायको भागीदार बन्नुपर्छ ।' उनले बिदा दिनेबारे कालिकोटका स्थानीय तहले आफूसँग समन्वय नगरेको जानकारी दिए ।

गोरखाका चार पालिकामा बिदा

गोरखाका चार वटा पालिकाले सर्वाजनिक बिदा दिएका छन् । बारपाक, सुलिकोट, अजिरकोट, र गण्डकी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै फागुन १ गते (मंगलबार) जनयुद्ध दिवसको अवसरमा बिदा दिने जनाएका छन् । भिमसेन थापा गाउँपालिकाले भने वार्षिक कार्यपात्रोमा सार्वजनिक बिदा समेटेको छ ।

‘नेपालको संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि २०५२ साल फागुन १ गते बाट संचालित जनयुद्धको स्मरण र यस क्रममा सहादत प्राप्त गर्नुहुने तमाम अमर सहिदहरुको सम्झनामा’ सार्वजनिक बिदा दिएको बारपाक सुलिकोट गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । गाउँपालिका भित्रका सरकारी कार्यालय, विद्यालय, संघ संस्था, वैंक तथा वित्तीय संस्थालाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाहरुको सूचनामा उल्लेख छ । माओवादीबाट प्रमुखमा जितेका चार पालिकामा सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित : माघ २९, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×