कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पोखराका सहकारी पीडितले दिए लामिछाने र पुनविरुद्ध जाहेरी

गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी ऋण प्रवाह हुँदा लामिछाने प्रबन्ध निर्देशक रहेको र उनको नाममा समेत कारोबार भएको संघर्ष समितिको दाबी
दीपक परियार

पोखरा — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी दिएका छन् । महानगरपालिकाको जाहेरीका आधारमा यसअघि मुद्दा दर्ता भइसकेकाले यही विषयमा पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । 

पोखराका सहकारी पीडितले दिए लामिछाने र पुनविरुद्ध जाहेरी

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाका अनुसार लामिछाने, पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बास्तोला र १४ संस्थाविरुद्ध पूरक जाहेरी परेको हो । ‘यसअघि सहकारीका सञ्चालक १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेका छौं । तर पीडितहरूले थप सूचनासहित पूरक जाहेरी लिएर आउनुभएको छ,’ एसपी थापाले भने, ‘यो ठगी प्रकरणमा अनुसन्धान जारी नै थियो । पीडितहरूले ऋण लैजानेहरूमाथि पनि अनुसन्धान गर्नुपर्‍यो भन्ने जाहेरी दिनुभएको हो । अब थप अनुसन्धान गर्नेछौं ।’

जीबी राई समूहले खोलेका सबैजसो सहकारीबाट गैरकानुनी रूपमा आफ्ना कम्पनी, साझेदार तथा विभिन्न संस्थाहरूमा ऋण प्रवाह भएको विवरण भेटिएका छन् । प्रहरीका अनुसार गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्व प्रालि, नेचर नेस्ट प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ वुड रियल स्टेट एन्ड हाउजिङ प्रालि, चोनी क्यापिटल प्रालि, ग्रिजी स्पुन प्रालि, गोर्खा ग्रुप इन्भेस्टमेन्ट प्रालि, जीबी ग्रुप अफ कम्पनी प्रालि, गोर्खा आयुर्वेदिक प्रालि, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सानोपाइला बचत तथा ऋण सहकारी, साहारा बहुद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारीविरुद्ध पूरक जाहेरी परेको हो ।

पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ । सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यलाई मात्र हुन्छ । लामिछाने स्वयंले यो सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आएका छन् । तर उनले ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोडको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘कृत्रिम पुलेसो खाता खडा गरी खाता नम्बर ४९–००७७० मार्फत एक करोड पेस्की फर्छ्योट गरिएको छ,’ महानगरको प्रतिवेदनमा भनिएको छ । तर, फर्छ्योट गरेको भनिए पनि उक्त रकम सहकारीका नाममा आएको नदेखिएको महानगरपालिकाको अध्ययन प्रतिवेदन तयार गर्ने अधिकारीहरूले बताएका छन् । जाहेरी लिएर गएको दुई सातापछि मात्रै दर्ता भएको पीडित संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार प्रहरीले तीन पटक जाहेरी फर्काइदिएको थियो । चौथो पटक जाहेरी लिएर जाँदा सोमबार भने प्रहरीले दर्ता गरिदिएको हो । ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुनः अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । ‘हामीले पीडितको हस्ताक्षर गरेर जाहेरी बुझाएका हौं । त्यसमा थप अनुसन्धान गर्ने पाटो प्रहरीको हो,’ उनले भने ।

लामिछानेले ऋण लिएको प्रतिवेदन सार्वजनिक भए पनि अन्य १७ व्यक्ति तथा संस्थाको विषयमा अनुसन्धानपछि मात्रै थाहा हुने एसपी थापाले बताए । ‘यो सहकारीबाट करिब ६/७ सयले ऋण लगेको देखिन्छ । यो पूरक उजुरीसँगै ती ऋणीमाथि पनि अनुसन्धान सुरु गरिनेछ,’ उनले भने, ‘अनुसन्धानपश्चात् पूरक अनुसन्धान प्रतिवेदन तयार गर्ने र त्यसैका आधारमा दोषी देखिएमा अन्यलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरिनेछ ।’ कास्की कारागारमा रहेका सहकारीका आईटी अफिसरलाई झिकाएर अनुसन्धान थालिसकेको उनको भनाइ छ ।

ग्यालेक्सी टीभीका अध्यक्ष रहेका जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पीडित बचतकर्ताले गत साउनमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायरसमेत भइसकेको छ । अहिलेसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पक्राउ परेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । पोखरा, चितवन, वीरगन्ज, वुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी रकम योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : माघ २३, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×