कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रमिला दमाईको हत्या आरोपमा दोलखाका कुमार श्रेष्ठ पक्राउ

काठमाडौँ — गत माघ २७ गते  काठमाडौंको एक होटलमा मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखाको वैद्येश्वर गाउँपालिका-७ घर भई हाल काठमाडौंमा डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

प्रमिला दमाईको हत्या आरोपमा दोलखाका कुमार श्रेष्ठ पक्राउ

सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले प्रमिलाको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलाएको हो । माघ २७ गते काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिलाको शव फेला परेको थियो ।

जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी दिए ।

विवाहित प्रमिलाका श्रीमान् रामेछापको लिखु तामाकोशी गाउँपालिका-५ का नसे दमाई हुन् । उनीहरु काठमाडौं महानगरपालिका-९ भीमसेनगोलामा डेरा गरी बस्दै आएका थिए । तर विवाहेत्तर सम्बन्धमा रहेकी प्रमिलाले कुमारसँग एक रेडियो कार्यक्रममार्फत् चिनाजानी गरेको र त्यसपछि निरन्तर सम्पर्कमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

‘माघ २७ गते गौशालाको रुन्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा प्रमिला दमाईको शव भेटिएको थियो । लिखु तामाकोशी गाउँपालिका -५ घर भई अहिले भीमसेनगोलामा निजको श्रीमान नसे दमाईंसँग डेरा गरेर बस्दै आउनुभएको रहेछ,' एसएसपी खत्रीले भने, 'उहाँले दोलखाको एउटा रेडियोको 'मेरो साथी' भन्ने कार्यक्रमबाट चिनजान भएपछि कुमार श्रेष्ठसँग सम्बन्धमा रहेको देखिन्छ । त्यही सम्बन्धमा तलमाथि भएपछि हत्या भएको खुलेको छ । थप अनुसन्धान गरिरहेकै छौँ ।'

एसएसपी खत्रीले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रकाशित : माघ २९, २०८० १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×