कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्धमा वातावरणमैत्री खादा र लुङ्दार

काठमाडौँ — बौद्धनाथ स्तुपमा शनिबार पुराना लुङ्दार र दर्जुहरू हटाइए । वातावरणमैत्री फराइयो । यसको अगुवाइ गरिन् आङ डोल्मा शेर्पाले । बौद्ध धर्मालम्बीहरूले प्रयोग गर्ने खादा, दर्जु र लुङ्दारहरू वातावरणीय दृष्टिकोणले उपयुक्त हुनुपर्ने अभियानमा उनी आबद्ध छिन् । 

बौद्धमा वातावरणमैत्री खादा र लुङ्दार

बौद्धनाथबाट नै अभियानलाई अगाडि बढाइएको आङ डोल्माले बताइन । ‘बौद्ध युनेस्कोमा सूचीकृत सम्पदा क्षेत्र हो । यहाँ थुप्रै स्वदेशी विदेशी पर्यटकको चहलपहल हुन्छ, उनीहरूलाई बायोडिग्रेबल (नष्ट हुने) लुङदारले उत्सुक बनाओस् भनेर यहाँ राख्न लागेका हौं,’ उनले भनिन्, ‘खादा र लुङ्दार बनाउने काम गरिरहनुभएका व्यक्ति, व्यवसायीहरूमार्फत पनि वातावरण जोगाउन आफ्नो ठाउँबाट मद्दत पुगोस् भन्ने हाम्रो लक्ष्य हो ।’

बजारमा पाइने प्लास्टिक र पोलिस्टरका खादा र लुङ्दार कुहिने–सड्ने हुँदैन । तिनलाई डढाएर नष्ट गर्दा दूषित धुवाँ निस्कन्छ । यसले वातावरणीय असर पुर्‍याउने भएकाले सड्ने–मक्किने खादा र लुङ्दारको प्रयोगको अभ्यास थालिएको उनले बताइन् । सजिलै नष्ट हुने र वातावरणमा असर नगर्ने खादा र लुङ्दार आफन्त, साथीभाइ तथा विदेशीहरूले मन पराउन थालेपछि यसलाई बौद्धधर्म अनुयायीहरूको माझमा लैजानुपर्छ भन्ने ध्येयले अगाडि बढेको उनले सुनाइन् ।

बौद्ध धर्म सम्प्रदायमा शुभपर्व तथा कार्यको स्वागतका लागि मालाको रूपमा खादाको प्रयोग गरिन्छ । घर तथा परिवारमा सुख, शान्ति तथा समृद्धिका लागि भने लुङ्दार र दर्जुको लगाउने चलन भने पराम्परागत रूपमा चलिआएको गुरु पूर्वा लामा बताउँछन् । लामो डोरी वा धागोमा टाँगिएको स–साना चार पाटे झन्डालाई लुङ्दर/लुङदा भनिन्छ भने लामो बाँस वा काठमा बाँधेर झुन्ड्याइने ठाडो झन्डालाई दर्जुका रूपमा चिनिन्छ । यसले घरपरिवारमा बाधा अड्चनहरू आउन नदिने जनविश्वास छ ।

‘ह्वाइट’ गुम्बा, फर्पिङ, नमोबुद्ध, दामनलगायतका स्थानमा आङ डोल्माले उत्पादन गरेको लुङ्दार लगाइसकिएको छ । आरोहणमा जाने, पर्वतीय गतिविधिमा संलग्न र चिनेजानेकाहरूले पनि उनले उत्पादन गरेको खादा र लुङदार प्रयोग गर्न थालेका छन् । अभियानलाई व्यावसायिक रूपमा समेत अगाडि बढाउनुपर्छ भन्दै उनले उत्पला क्राफ्ट स्थापना गरेकी छन् ।

खादा र लुङ्दार पनि स्वदेशमै उत्पादन र उपयोग गर्न सके यही अर्थोपार्जनको सम्भावना उनले देखिन् । बौद्ध गुरुहरूसँग सल्लाह मागिन् । धार्मिक आस्था र अभ्यासलाई तोडमोड नगरी बायोडिग्रेबल कपडा प्रयोग गरेर बनाउने उनको प्रयास देखेर सबैले प्रशंसा गरे । अहिले उनले गुम्बाहरूसँग सहकार्य गरेर काम अगाडि बढाएकी छन् ।

प्रकाशित : पुस ४, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?