धम्क्याएर ७ करोड माग्ने ७ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — एक व्यवसायीलाई धम्क्याएर ७ करोड रुपैयाँ मागेको कसुरमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये तीन जना पत्रकार रहेको खुलेको छ । ती व्यवसायीसँग मागेको रकम नदिए ‘जे पनि हुने’ भन्दै धम्की दिएर उनीहरुले एक महिनाअघिदेखि नै रकममा बार्गेनिङ गरिरहेका थिए ।

फोन र प्रत्यक्ष रुपमा भेटेर ‘मागेको रकम नदिए परिवार नै सिध्याइदिने’ सम्मका धम्की आएपछि ती व्यवसायीले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीपछि धम्की दिने व्यक्तिको निगरानी गर्ने क्रममा उनीहरुलाई बिहीबार उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ बस्दै आएका कालीकोटका टेकबहादुर विक नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट भएको खुलेको छ । त्यस्तै एबीसी टेलिभिजनको प्रेस कार्डधारी सुजन आचार्य, नेपाल तारा डटकमको कार्डधारी धर्मराज थापा, कारोबार मिडिया (एड एजेन्सी)का उमेश भण्डारी, ग्लोबल टेलिभिजनको कार्ड वाहक बसन्ता खनाल, कम्प्युटर मर्मतसम्बन्धी प्राविधिक श्रवण कार्की र सुरज शर्मा छन् ।

उनीहरूको साथबाट विभिन्न मिडियाको नाममा प्रेस पास भेटिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरू ती मिडियामा कार्यरत हुन् वा हैनन् भन्ने बारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

‘एक जना व्यक्तिलाई ७ करोड माग्दै केही समयदेखि उनीहरूले धम्की दिँदै आएका रहेछन् ।पीडितले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा धम्की दिने ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ,’ एसपी आचार्यले भने, ‘उनीहरुले पीडित व्यक्तिलाई फोन, सामाजिक सञ्जाल र प्रत्यक्षरुपमै भेटेर धाकधम्की दिने र नमाने जे पनि हुनसक्ने भन्दै त्रसित बनाएको पनि खुल्यो ।’

प्रहरीले पीडित व्यक्तिको पहिचान गोप्य राखेको छ । स्रोतले बताएअनुसार पीडित व्यक्तिका व्यक्तिगत कमजोरीलाई टेकेर आरोपितहरूले ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको खुलेको छ । ती व्यक्ति उच्च घरानियाँका व्यवसायी भएको र उनैले यसबारे आफ्नो पहिचान नखुलाउन आग्रह गरेको स्रोत बताउँछ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

जबरजस्ती करणीको आरोपमा पूर्ववडाध्यक्ष पक्राउ

रूपा गहतराज

नेपालगन्ज — बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जबरजस्ती करणी गरेको आरोपमा नेपाली कांग्रेस कोहलपुरका नेता नीमबहादुर चलाउनेलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका १० का पूर्ववडाध्यक्षसमेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख ऐन बहादुर मल्लले बताए ।

चलाउनेलाई पक्राउ गरी हिरासतमा राखिएको र थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप गरिएको मल्लले बताए ।

केही समयअघि कोहलपुरकै एक महिलाले आफूमाथी जबरजस्ती करणी गरेको भन्दै चलाउनेविरुद्ध ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×