काठमाडौंका मेयर साहको घोषणा- 'फोहोर व्यवस्थापन नभएसम्म खुसीयाली मनाउँदैनौं'

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुसीयाली नमनाउने घोषणा गरेका छन् । सोमबार महानगरपालिकाको मेयरको शपथपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर साहले काठमाडौंवासीले गरेको 'पाप'को भागिदार सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुसीयाली नमनाउने घोषणा गरेका हुन् ।
‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा माला लगाएर सेलिब्रेसन गर्दैनौं । हामीले गरेको पापको भागिदार सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ,’ मेयर साहले भने ।
त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हकहित र सहज जीवनयापनका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताइन् ।
‘आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हकहित र काठमाडौंवासीको जीवन सहज होस् भन्नका लागि हामीले पाइला चालेका हौं । सोहीअनुसार काम हुनेछ । अब हामी सबैले टिमवर्कमा रहेर काम गर्नेछौं,’ उपमेयर डंगोलले भनिन् ।
काठमाडौं नगर कार्यपालिकाको बैठक सोमबार अपराह्न ४ बजे बस्ने तय भएको छ । साथै उक्त पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने बताइएको छ ।
