कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्राफिक प्रहरीको नयाँ चुनौती ‘लापसे’

काठमाडौँ — मादक पदार्थ सेवन (मापसे) जाँचलाई प्रभावकारी रुपमा संचालन गरेको ट्राफिक प्रहरीका सामु लागूपदार्थ सेवन (लापसे) अनुगमन गर्नुपर्ने नयाँ चुनौती थपिएको छ । गत शुक्रबार मात्र नागढुङ्गामा गरिएको चेकिङका क्रममा लापसे गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

ट्राफिक प्रहरीको नयाँ चुनौती ‘लापसे’

ट्राफिक प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ना ५ ख ६००७ नम्बरको ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–११ का ३३ वर्षीय अनिल तामाङ, बा ५ ख २४ ६५ नम्बरको निशान गाडीका चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ का २३ वर्षीय नवराज बुढाथोकी, बा १० च ४०२० नम्बरको बलेरो जिप चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २७ वर्षीय सुनिल कुमार बुढाथोकी, प्रदेश ३–०२–०३ प ८२ ४२ नम्बरको मोटरसाइलका चालक पर्साको कालिकामाई गाउँपालिका–४ का २८ वर्षीय जितेन्द्र गिरी र लु ४६ प २७ ९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ का २१ वर्षीय श्रीधर सुवेदी छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, लागूऔषध नियन्त्रण ब्यूरो, प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त समन्वयमा नियन्त्रणमा लिएका सवारी चालकहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार २० वटा सवारी साधनका चालकलाई चेकजाँच गर्दा ५ जनाले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चालुआर्थिकवर्षको साउन ९ बाट सुरु गरेको लापसे जाँचका क्रममा १३९ जनालाई लागुपदार्थ सेवन मुद्धा कसुरमा कारबाही गरिसकेको छ । ‘लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम बढ्छ,’ एसएसपी भट्टले भने,‘नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई सचेत गराउनकै लागि अभियान थालेको हो ।’

लापसे जाँच गर्न मापसे जाँच गरे जस्तो सहज भने नभएको ट्राफिक प्रहरी बताउँछन् । ‘मापसे जाँचका लागि कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरीले ‘ब्रेथलाइजर’ प्रयोग गरे पुग्थ्यो/पुग्छ,’ एसएसपी भट्टले भने, ‘लापसे जाँच टीएचसी किट मार्फत्, पिसाब परीक्षणपछि मात्र लागुपदार्थ सेवन गरे/नगरेको पत्ता लाग्छ ।’ लागुपदार्थ सेवन गरी सवारी चलाएको शंका लागेका व्यक्तिलाई एउटा सानो डब्बामा पिसाब गर्न लगाएर किटमा राख्ने र किटले पोजेटिभ/नेगेटिभ (सेवन गरे/नगरेको) पत्ता लगाउने उनी बताउँछन् । लापसे जाँच मापसे भन्दा खर्चिलो भएको समेत प्रहरीको भनाई छ ।

लापसे जाँच ट्राफिक प्रहरी एक्लैले गर्न पनि सम्भव छैन । लापसे गरे/नगरेको पत्ता लगाउन ‘टीएससी किट’ मार्फत नेपाल प्रहरी अस्पतालको प्राविधिक, लागूऔषध नियन्त्रण ब्यूरोको प्रतिनिधिको समन्वयमा मात्र ट्राफिक प्रहरीले जाँच गर्न सकिने कार्यालयले जनाएको छ । टीएससी किट सीमित छ । ट्राफिक प्रहरीले लापसे जाँचलाई अभियानकै रुपमा अघि बढाएपछि सीमित किटका कारण अझै प्रभावकारी ढंगले अघि बढाउन भने नसकेको बताउँछन् ।

‘टीएससी किट सीमितताका कारण हाललाई चेतना दिने किसिममा मात्र लापसे जाँच अभियान अघि सारेका छौं,’ उनले भने । एउटा किटले एक जनाको मात्र जाँच गर्न सकिन्छ । प्रहरीले लागूपदार्थ सेवन गरेको प्रमाणित भएका व्यक्तिहरुलाई लागूऔषध सेवनमा मुद्दा चलाउने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग टीएससी किट क्षमता कति छ र आगामी आर्थिक वर्षको लागि कति किट खरिद गर्ने लक्ष्य छ भन्ने प्रश्नको स्पष्ट जवाफको भने ट्राफिक प्रहरीसँग छैन ।

लापसे गरी सवारी साधन चलाउने चालकमध्ये, भाडाका सवारी साधनका चालकको संख्या बढिरहेको पाइएको एसएसपी भट्ट बताउँछन् । पछिल्लो घटनाक्रमलाई नियाल्दा लागूपदार्थ बेचबिखन तथा ओसारपसार, लागूपदार्थ सेवन गर्ने क्रम बढेको देखिएको प्रहरीको भनाइ छ । ‘यात्रु बोक्ने जस्तो संवेदनशील सवारी चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य हो, यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने गरेको छ,’ उनले यात्रुलाई समेत सचेत हुन आग्रह गर्दै भने, ‘आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरिदिनु होला ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसका साथै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाहीको दायरामा पनि ल्याउँदै आएको छ । काठमाडौं उपत्यकामा हाल दैनिक ३ हजारभन्दा बढी चालक ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीमा पर्ने गरेको तथ्यांक छ ।

प्रकाशित : असार ११, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?