कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/qatar-amir-2242024024817-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।
विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ ।
सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।
कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्त्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्त्वपूर्ण देश हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)