१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

कतारी राजाको सम्मानमा एक दिन सार्वजनिक बिदा

काठमाडौँ — राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कतारी राजाको सम्मानमा एक दिन सार्वजनिक बिदा

मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिनसार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् । नेपालस्थित कतारी राजदूत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । उनी बुधबार बेलुका नै कतार फर्कने छन् । कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् ।

प्रकाशित : वैशाख १०, २०८१ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?