राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ सहयोग

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरे ।

नेपाल प्रहरीले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेदकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
कार्यकममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधव खतिवडा लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति थियो । बैंकको हाल ७७ वटै जिल्लामा कुल २६५ वटा शाखा कार्यालय सञ्चालनमा छन् । ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।