डेढ अर्ब लागतमा सेरामिक्स टायल्स उद्योग खुल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सिमरामा एक अर्ब ५० करोड रुपैयाँ लागतमा पशुपति सेरामिक्स उद्योग स्थापना गरिने भएको छ । गुणस्तरीय सेरामिक्स, भिट्रिफाइड, फ्लोर र वाल टायल्स उत्पादन गर्ने गरी ५० प्रतिशत संरचनाको कार्य सम्पन्न भइसकेको कम्पनीका सञ्चालक तुलसी साहले जनाए ।

कम्पनी भारतमा २५ वर्षदेखि सेरामिक्स उत्पादनमा ख्याति कमाएको अकुरीति एन्ड नमोको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको बताइएको छ । वार्षिक ५ अर्ब रुपैयाँ बराबरको उत्पादनको लक्ष्यसहित कम्पनी स्थापना गरिएको साहले जनाए । यो नेपालको सबैभन्दा ठूलो सेरामिक्स टायल्स कम्पनी हुने उनको दाबी छ ।

कम्पनीले सकेसम्म धेरै नेपाली कच्चापदार्थ प्रयोग गर्ने र आफना उत्पादनलाई विदेशमा समेत बिक्रीवितरणका लागि निर्यातसमेत गर्नेछ । कम्पनीले आफ्ना उत्पादन अक्टोबर २०२३ बाट बजारमा ल्याउने उद्योगले जनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय क्रिकेटका कप्तान पौडेल गृह नगरमा सम्मानित

रासस

नवलपरासी — आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा सानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्तीका स्थायी बासिन्दा कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले मंगलबार सम्मान गरेको हो।

पौडेललाई गृहजिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । लिग २ को खेलमा उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाईसम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने प्रतिक्रिया दिए । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनको भनाइ थियो ।

गृहजिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ/संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् । नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायत संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।

प्रकाशित : चैत्र ७, २०७९ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×