कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’ सार्वजनिक भएको छ । यती समूहका अध्यक्षसमेत रहेका शेर्पाको पुस्तक आइतबार ठमेलस्थित छाया सेन्टरमा सार्वजनिक गरिएको हो । 

शेर्पाको आत्मवृत्तान्त ‘हिम्बु’

सन् १९५३ मा भएको पहिलो सफल सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्की, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, एसियाकै पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुङ शेर्पालगायतले पुस्तक लोकार्पण गरे ।

सातवटै महादेशका सर्वोच्च ७ हिमाल आरोहण गरेका ल्हाक्पा सोनाम निम्नस्तरबाट पर्यटन क्षेत्रमा प्रवेश गरेर ५ दशकदेखि क्रियाशील छन् । २०१६ जनवरीमा उनले अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जरो, अगस्टमा युरोपको माउन्ट अलब्रुस, नोभेम्बरमा इन्डोनेसिया र अस्ट्रेलियामा पर्ने माउन्ट कास्टन पारामिट आरोहण गरेका थिए । २०१७ जुलाईमा उत्तर अमेरिकाको माउन्ट डेनाली र डिसेम्बरमा अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गरेका उनले २०२२ जनवरीमा दक्षिण अमेरिकाको माउन्ट अङ्ककगोवा र २०२३ मेमा विश्वकै अग्लो शिखर सगरमाथा गरी ७ महादेशका ७ वटा उच्च शिखर आरोहण गरेका थिए ।

सोलुखुम्बुको पाङ्गोम गाउँबाट ५ दशकअघि काठमाडौं आएदेखि पञ्चायत, प्रजातन्त्र र गणतान्त्रिक व्यवस्थासम्मका आरोह–अवरोहलाई उनले पुस्तकमा समेटेका छन् । होटल, रिसोर्ट, एयरलाइन्सलगायत कम्पनी सञ्चालनमा भोगेका अनुभव, यती र तारा एयरलाइन्सको स्थापना, पर्यटन क्षेत्रका कठिनाइलगायत विषय पुस्तकमा उल्लेख छन् । सास ट्रस्टले प्रकाशन गरेको पुस्तकमा ल्हाक्पा सोनामले उनकी पत्नी तथा पहिलो आरोही पासाङ ल्हामुको सगरमाथा यात्रा र मदन भण्डारीसँगको सम्बन्धबारे खुलाएका छन् ।

प्रकाशित : फाल्गुन १५, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×