कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ल्हाक्पा सोनाम शेर्पाको आत्मवृतान्त 'हिम्बु' सार्वजनिक

काठमाडौँ —  पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाको आत्मवृतान्त हिम्बु (हिमालको छोरो) आइतबार सार्वजनिक भएको छ । यति समूहका अध्यक्षसमेत रहेका  शेर्पाको आत्मवृतान्त हिम्बु आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

ल्हाक्पा सोनाम शेर्पाको आत्मवृतान्त 'हिम्बु' सार्वजनिक

सन् १९५३ मा भएको पहिलो सफल सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि पूर्वराजदूत अर्जुन कार्की, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, एसियाकै पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पा लगायतले पुस्तक विमोचन गरेका थिए ।

सातवटै महादेशका सर्वोच्च ७ हिमाल आरोहण गरेका ल्हाक्पा सोनाम निम्नस्तरबाट पर्यटन क्षेत्रमा प्रवेश गरेर विगत ५ दशकदेखि निरन्तर क्रियाशील छन् । उनले २०१६ जनवरीमा अफ्रिकाको तान्जानियामा रहेको माउन्ट किलिमन्जरो, अगस्टमा युरोपको माउन्ट अलब्रुस, नोभेम्बरमा इन्डोनेशिया र अष्ट्रेलियामा पर्ने माउन्ट कास्टन पारामिट आरोहण गरेका थिए । २०१७ मा जुलाईमा उत्तर अमेरिकाको माउन्ट डेनाली र डिसेम्बरमा अन्टारटीकाको माउन्ट भिन्सन आरोहण गरेका थिए । त्यस्तै सन् २०२२ जनवरीमा दक्षिण अमेरिकाको माउन्ट अङ्ककगोवा र २०२३ मेमा विश्वकै अग्लो शिखर सगरमाथा गरी ७ महादेशका ७ वटा उच्च शिखर आरोहण गरेका थिए ।

सोलुखुम्बुको पाङ्गोम गाउँबाट ५ दशकअघि भागेर काठमाडौं आएदेखि पञ्चायत,प्रजातन्त्र,गणतन्त्र व्यवस्थासम्मका आरोह अवरोहरूलाई ३४ वटा शीर्षकमा पुस्तकमा समेटेका छन् ।

पुस्तकमा उनले अहिलेसम्म पदयात्रा कम्पनीदेखि, होटल, रिसोर्ट, एयरलायन्सलगायतका कम्पनी सञ्चालनका क्रममा सँगै गरेका ४० जना पर्यटनमन्त्रीसँगको अनुभव, यति र तारा एयरलायन्सको स्थापना, पर्यटन क्षेत्रका कठिनाई समेटेका छन् । सास ट्रस्टले प्रकाशन गरेको पुस्तकमा ल्हाक्पा सोनामले उनकी पत्नी तथा पहिलो सगरमाथा आरोही पासाङ ल्हामुको सगरमाथा यात्रा र मदन भण्डारीसँगको सम्बन्धबारे विस्तारमा खुलाएका छन् । पुस्तकमा सगरमाथा आरोहण गरेर फर्किंदै गरेकी पासाङ ल्हामु र दासढुंगा दुर्घटनामा निधन भएकमा मदन भण्डारीको एकैदिन रंगशालाबाट भएको शव यात्रा बिदाइको कथाले भावुक बनाउँछ । ल्हाक्पा सोनामले आत्मवृतान्त बिक्रीबाट आएको रकम सोलुखुम्बुको स्कुल, डोल्पा र ताप्लेजुङमा वितरण गर्ने घोषणा गरेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×