३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भातदेखि भगवान्‌सम्म

भातको मुख्य प्रयोजन हो– पोषण । तर, नेपालमण्डलमा भात केवल खाना होइन । रैथानेहरू अनुष्ठानयोग्य प्राकृतिक उपहारका रूपमा भातको पूजा गर्छन् । संस्कार, संस्कृति, परम्परा र आस्था–अभिव्यक्त गर्ने एक महत्त्वपूर्ण माध्यम हो– भात ।
मल्ल के. सुन्दर

रातो मच्छेन्द्रनाथको आख्यानसँग परिचितलाई थाहा छ– खेतीपातीमा समस्या भएपछि राजा नरेन्द्रदेव सहितको टोली आसाम कामारूप कामाक्षसम्म पुगेर उनलाई नेपालमण्डल ल्याइपुर्‍याइएको थियो । त्यसै अर्थमा मच्छेन्द्रनाथलाई कृषिसँग जोडेर सहकालका देवता भनिन्छ ।

भातदेखि भगवान्‌सम्म

आख्यानअनुसार, उपत्यकामा रोपिएको धानका बालामा चामलको गेडा फलेन, फोक्टा रह्यो । समाधानका लागि धानबालीका ज्ञाताका रूपमा मच्छेन्द्रनाथलाई निम्त्याउन नेपालमण्डलका राजा–प्रजाबाट सो प्रयत्न गरिएको थियो । त्यो ईस्वी ६४३–६७९ को प्रसंग थियो । यो आख्यानबाट थाहा हुन्छ– त्यतिखेरै नेपालमण्डलमा धानखेतीको प्रचलन थियो । हाडीगाउँको एक जलद्रोणीमा संवत् १७४ (ई.सं. ७४९) को प्रियवर्माको संक्षिप्त अभिलेखमा ‘ॐ अन्दिग्रामे...’ (चामल पाइने ग्राम–वर्तमान हाडीगाउँ) वाक्य छ । त्यस वाक्यांशले आठौं शताब्दीतिरै खाद्यान्नका रूपमा चामल लोकप्रिय भइसकेको पुष्टि गर्छ ।

फेरि पनि धानबाली र खाद्यान्नका रूपमा चामलको सुरुवात नेपालमा कहिलेदेखि भयो ? हामिसँग कुनै प्रामाणिक इतिहास छैन । अध्येयता भन्छन्– धानखेतीको ज्ञान मूलतः चीनबाट विस्तारित भएको हो । लगभग ७ हजार ईसापूर्व मध्य तथा पूर्वी चीनको भूमिमा धानखेती सुरु भइसकेको थियो, त्यहीँबाट याङ्गत्से नदीको तटीय क्षेत्र भियतनाम, थाइल्यान्ड, म्यानमार हुँदै नागाल्यान्ड, मिजोरिम, आसाम हुँदै नेपाल आइपुग्यो ।

पृथक् सामाजिक स्वरूप, भौगोलिक अवस्था, रुचिअनुसार चामल अर्थात् भातलाई फरक–फरक शैलीमा उपभोग गरिन्छ । तर, सबैका लागि चामल/भातको प्रयोजन मूलतः पोषणकै लागि हो । तसर्थ भात/चामलको सर्वजनिन पहिचान एक खाद्य सामग्री नै हो ।

तर, नेपालमण्डलका रैथानेका लागि चामल केवल खाद्य पदार्थ होइन । धान वा चामल वा भात खाद्य प्रयोजनभन्दा पर संस्कार, संस्कृति, परम्परा र आस्था अभिव्यक्त गर्ने एक महत्त्वपूर्ण माध्यम बनेको छ यहाँ । त्यसैले यहाँका रैथानेहरू प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिनलाई धान्यपूर्णिमा मान्छन् र त्यस दिन उनीहरूका लागि एउटा सुखद् उत्सव/पर्व बन्छ । अनि धानलाई खाद्यान्न पदार्थभन्दा विशिष्ट र अनुष्ठानयोग्य प्राकृतिक उपहार ठानी त्यसको श्रद्धापूर्वक पूजा गरिन्छ ।

पोषण र परिकारका रूपमा विकसित हुँदै गएको ज्ञानको व्यावहारिक प्रस्तुतिस्वरूप रैथानेहरू धान कुटेर चामल मात्रै तयार गर्दैनन्, त्यसको पीठोबाट स्वादिलो परिकार ‘योमरी’ नै पस्किन्छन् । अनि चाकु र तीलसहित एकखाले रसिलो–पोसिलो रोटी–योमरी आहारको रूपमा ग्रहण गर्छन् । चामलको पीठोबाट बनाइएको योमरी नै रैथानेका लागि आस्था र आराधनाको प्रतीक बन्छ, अनि धान्यलक्ष्मी मानेर धनसारभित्र विधिपूर्वक प्रतिस्थापना गरी तिनको पूजा गरिन्छ ।

सम्प्रदाय र अनुशीलनका आधारमा कसैका लागि योमरीको आकृति बौद्ध चैत्यको प्रतिमूर्ति हो, कसैका लागि सौभाग्य र सम्पन्नताका प्रतीक पूर्णकलश ! अनि बालबालिकाको जन्मदिनको पूजामा योमरी दीर्घायुको संवाहक बन्छ, तसर्थ सम्बन्धित व्यक्तिको वर्ष गन्तीअनुसार योमरी उनेर माला पहिर्‍याइन्छ । अर्कोतिर ज्येष्ठ उमेरमा गरिने बूढो पासनी अभिषेकका लागि त फूल, फल, अक्षता, लाभाभन्दा बढी योमरी शुभ लाक्षणिक सामग्री ठहरिन्छ ।

चामलकै पीठोबाट बनाइने अर्को परिकार हो– चतांमरी ! तावामा सुख्खा सेकिने चतांमरीमा स्वाद विशेषका लागि मासु, अण्डा वा मास आदि थपेर तयार गरिन्छ । त्यो बनाउने थरीथरी विधि छन् । तर, मानवीय उपभोग भन्दा पर जब चतांमरी संस्कार, परम्परा तथा रीतिमा विस्तारित हुन्छ त्यो खाद्य वस्तुभन्दा आस्थाको प्रतीकमा रूपान्तरण हुन्छ । बिहाबारी वा अन्य महत्त्वपूर्ण संस्कारगत क्रममा सम्पन्न गरिने थाय्भु (विशेष आकारको काँसको थाली, जसमा चौरासी ब्यञ्जन भोजन गराइन्छ) खुवाउने अवसरमा चौरासी ब्यञ्जन परिकारको शीर्षभागमा सजाइने आसनको रूपमा राखिन्छ चतांमरी, जसमाथि समयबजी पनि राखिन्छ, त्यो वास्तवमा पृथ्वीको प्रतीक हो । अनि समयबजीलाई छोपिने अर्को चतांमरी भने आकाशतत्त्व हो । तन्त्र विधानमा त चतांमरीलाई नवदुर्गाहरूमध्ये एक कुब्जिकेश्वरीका रूपमा पनि लिइएको छ ।

गुठीलगायत सबैजसो शुभकार्यका लागि आवश्यक छ, चतांमरी । तर, मच्छिन्द्रनाथको रथ यात्रा, विस्केट जात्रा वा अन्य महत्त्वपूर्ण पर्व, महोत्सवमा भने देवदेवीका सम्मानमा गरिने अभिषेकहरूमा चतांमरी सहितको आकाश वर्षा अनिवार्य हुन्छ । त्यसले सहकाल, शुभसंकेतको बोध गराउने विश्वास छ ।

धानबाटै बन्ने च्युरा नेपालमण्डलभित्र मात्रै होइन भारतीय समाजकै पनि खाद्यान्न हो । यद्यपि नेपालमण्डलभित्र विशेषत थिमि, टिकनी गाउँ र चित्रपुरमा राजथलाहरूले च्युरा उत्पादन गर्ने विधि तथा गुण र स्वाद फरक छन् । भोजभतेरको बाहुल्यता हुने रैथाने नेवार समुदायमा पनि च्युरा प्रमुख खाद्य वस्तुका रूपमा अत्याधिक उपभोग हुन्छ, यो विदितै कुरा हो । तर, धेरैलाई जानकारी नहोला, नेवार समाजका अनेकन संस्कारगत विधि र रीति सम्पन्न गर्न च्युराको प्रयोजन अति महत्त्वपूर्ण छ ।

दाह संस्कार सम्पन्न गरेर मसानघाटबाट परिवारजन तथा मलामी सिधै घर–आँगन प्रवेश गर्दैनन् । चौबाटो वा बस्ती छिर्ने मूल नाकामा रोकिएर अरू विधिका अतिरिक्त च्वकाबजी अर्थात् मसिना च्युरा जीउ वरपर छर्किने गरिन्छ । बलिंपिगु भनिने यो एक प्रकारको शुद्धीकरणको प्रक्रिया हो । मसानका दुष्ट आत्माले पछ्याउने काम नहोस् भन्ने सतर्कतामा यसो गरिनुपर्छ भनिन्छ । च्वकाबजी (मसिना च्युरा) मा दुरात्माबाट प्रतिरक्षा गर्ने क्षमता हुन्छ भन्ने सामाजिक आस्था हो ।

नेवार भोजमा पाहुनाहरू ठूलै संख्यामा हुन्छन् । घर बाहिरको खुला चोक वा बहालहरूमा लामो सुकुल बिछ्याएर बस्ने व्यवस्था गरिन्छ । एक चरणको भोज सकिएपछि सोही ठाउँमा अन्य पाहुना बसाउन सरसफाइ आवश्यक हुन्छ, पानीको प्रयोगले त्यो भिजेर हिलो हुन्छ, त्यो व्यावहारिक हुन्न । तर, बिटुलो स्थान वरपर च्युरा छर्किएपछि सो ठाउँ शुद्धीकरण गरिएको ठहरिन्छ र निःसंकोच त्यहाँ अर्को चरणको भोजका लागि पाहुना बस्छन् । कतिको वैज्ञानिकता छ यसमा ? यो प्रचलनको पछाडिको युक्ति के होलान् ? त्यो खोजीको विषय हो ।

नेवार पूजा विधानमा प्रायः प्रयोग हुने अर्को एक महत्त्वपूर्ण सामग्री हो – ग्वःजा (तोरमा) । बज्रयानी संस्कारमा ग्वःजा अनिवार्य छ, तर यो पनि च्युरा मुछेर बनाइन्छ । हरेक पक्षलाई धर्म, संस्कृति र जीवन दर्शनसँग गाँसेर अनुशीलन गर्ने नेवार समुदायको प्रवृत्ति हो । शाक्त, कौलिक वा बज्रयानी तान्त्रिकहरू आफ्नो सामीप्यतामा रहेका जल, जमिन, जंगल, जीव–जन्तु मात्रै होइन प्राकृतिक रूपमा उपलब्ध खाद्य वस्तुमा पनि देवत्व रहेको विश्वास गर्छन् । अनि पूजा–पाठ, विधि–संस्कार, रीति–परम्पराका क्रममा प्रयोग गरिने सामग्रीबाट समेत दैविक गुणहरू प्रतीकका रूपमा प्रतिनिधित्व होस् भन्ने अपेक्षा राख्छन् । तसर्थ नेवार समुदायका लागि दर्शन र आस्थाका कोणबाट कालो भटमास– महाकाल, अदुवा – महाकाली, माछा– कालभैरव, लप्सीको अमिलो– रुरु भैरव, सानो केराउको अचा – रुद्रायणी, मुलाको चाना– गणेश, अमला/बयर– कुमार, हरियो साग– वैष्णवी आदि हुन् । खाद्य सामग्री केवल शारीरिक ऊर्जा र पौष्टिकताको स्रोत होइन ।

धानको चामल अनि चामल पकाएर बनाइने मुख्य खाद्य परिकार भात नै हो नेपालमण्डलका रैथानेहरूको भने – शारीरिक तुष्टिका लागि भन्दा पर भातमा देवत्व नै खोज्छन् उनीहरू । बनेपा सहरभित्रको एक ऐतिहासिक स्थल स्वधाःहिति (तीनधारा) जहाँ दक्षिणकालीको मन्दिर पनि छ, त्यसै परिसरमा प्रत्येक वर्ष भदौ पूर्णिमा (याद्यापुन्हि) का दिन एउटा मूर्ति प्रदर्शनमा राखिन्छ– हातमा खड्ग लिएको योद्धाको आकृतिमा । बलशाली त्यो योद्धा वा रक्षककै अर्थमा बनाइएको मूर्ति हो । उनबाट नगरवासीलाई असुरगणको आक्रमणबाट सुरक्षा प्रदान हुनेछ भन्ने जनविश्वास छ । दिनभरि पूजाआजाका लागि प्रदर्शन गरिएपछि त्यस मूर्तिलाई खोलामा लगेर विसर्जन गरिन्छ । नगरवासीहरू सँगसँगै मलामी जान्छन् । वास्तवमा उक्त मूर्ति जीवन्त आकारमा ल्याउन प्रयोग हुने सामग्री हो पाकेको भात, तसर्थ उक्त मूर्तिलाई स्थानीय जालुद्यः अर्थात् भातबाट बनाइएको भगवान् भन्छन् । यस्तै प्रचलन केही वर्ष अगाडिसम्म पनौती बजारमा पनि थियो । रैथाने नेवार समुदायले पनौती सहरका कोलाछें, वलाछें र पमादि टोलहरूमा भाद्र पूर्णिमाका दिन यस्तै खाले जालुद्यः सजाउँथे ।

भातदेखि भगवान्सम्मको यस यात्राका सम्बन्धमा स्थानीयहरू माझ आ–आफ्ना लोककथन छन् । भात र भगवान्को सम्बन्ध र रैथानेहरूमा अद्यावधि रहेको प्रचलनमध्येको अर्को सांस्कृतिक अनुष्ठान हो– ललितपुर सहरभित्रको पूर्णचन्दी मन्दिरमा गरिने पुन्चली भुज्याः । भाद्र पूर्णिमाकै दिन राजोपाध्याय पुजारीहरूबाट तान्त्रिक विधिमा भातको प्रतिमूर्ति बनाइन्छ । बाह्रवटा हुन्छन् यस्ता मूर्ति, जो एकएक मुरी चामलको भातबाट बनाइन्छ, मानिसकै उचाइमा । गुह्य साधनापछि सर्वसाधारणका लागि पूजा–अराधना गर्न खुला गरिन्छ ।

विसर्जनपछि त्यसै मूर्तिको भात शुभप्रसादका रूपमा स्थानीयले घरघर लिएर जान्छन् । पितृमोक्षको कामनामा विधि अपनाएर गरिने संस्कार पिण्ड तर्पण हो । सामान्यतया पिण्डका लागि गहुँको पीठो, तील आदि प्रयोगमा ल्याइने सामग्री हुन् । नेपाल र भारतमा यस्तै प्रचलन छ । नेपालमण्डलभित्र भने विशेषतः बौद्ध धर्म अनुयायीहरू एकातिर पुरोहितका रूपमा बज्राचार्यबाट अनुष्ठान गराउँछन् अर्को पितृ तर्पणका लागि पिण्डका रूपमा भातको प्रयोग गरिन्छ । अन्त्यमा बौद्ध विहार अगाडि बनाइएका पिण्ड पात्रहरूमा लगेर त्यसको विर्सजन गरिन्छ ।

त्यसो त सबैखाले धार्मिक आस्था राख्ने नेवारमा एउटा मिल्दोजुल्दो अर्को मृत्यु संस्कार पनि छ, त्यो हो न्हयन्हुमा (सात दिने कर्म– यद्यपि कुनै कुनै जात विशेषमा पाँच दिनमा पनि यो कर्म गरिन्छ) । यस कर्मकाण्डको भिन्न प्रक्रिया भन्नु नै अनुष्ठानका लागि प्रमुख सामग्री भातकै प्रयोग हो । नाथ/कौलतन्त्रका कनफट्टा वा नेवार समुदायका कुस्ले (दर्शनधारी) यसका लागि पुरोहितको भूमिकामा हुन्छन् ।

नाथ परम्पराअनुसार, मृतकको घरको मूलढोका बाहिर परालको आसन बनाएर त्यसमाथि तीनवटा माटोको घ्याम्पामा जाँड, रक्सी आदि राखिन्छ । त्यसपछि सबैखाले आमेष परिकारसहित भातले मन्साएर पितृ चोख्याउने विधि गरिन्छ । त्यसै दिन साँझ खर्पनभरि विविध परिकार सजाइएको भातको आहार र त्यसमाथि बत्ती बालेर मृतकको आत्मा आह्वान गर्दै तर्पणका रूपमा घरको बलोसी बाहिर झुन्ड्याइन्छ, पाखाजा भनिने पितृशुद्धिको यस क्रममा पनि प्रमुख सामग्री भातै हुन्छ ।

रैथानेहरूको शुद्धीकरणको विधि तन्त्रयान अनुसार, प्रतीकात्मक अर्थमा भातलाई नै मुख्य तत्त्व मानेर गरिने अर्को संस्कार बलिपूजा पनि एक हो । घर शुद्धीका लागि होस, रोगब्याधि, महामारी प्रकोपबाट बच्न वा अन्य शुभकार्य आरम्भ गर्नुपूर्व अनपेक्षित बाधा अवरोध हटाउन बलिपूजा वा बौवायेगुको प्रचलन छ । गुह्य साधनाअन्तर्गत कुण्डलिनी जागरणको चरण पूरा गर्न पशु बलि दिइन्छ । त्यसैको भित्री अंश आन्द्रा आदिलाई मूलधार चक्रको स्वरूपमा सजाएर करवीर फूल, जाँडाको छोक्रा, पशुको रगतसहित उसिनेको भातले भरिएको तामाको खरखन्डो नोलमा दुईतिर बोक्दै बाजागाजा सहित नगर परिक्रमा गराइन्छ । त्यसैक्रममा बाटोभरिका मन्दिर, देवस्थल, चौबाटो आदिमा शुद्धीकरण र शक्तिआर्जनको मनोकांक्षा स्वरूप सोही भात छर्दै पूजा गरिन्छ ।

शुद्धीकरणका लागि भात छर्ने संस्कारको अर्को चाखलाग्दो दृष्टान्त हो– रातो मच्छिन्द्रनाथको भोटो जात्राको सन्दर्भ । रथ तान्दै जाउलाखेल पुर्‍याइसकेपछि भोटोजात्राको तयारी स्वरूप मच्छिन्द्रनाथका पुजारी पाञ्जुहरूबाट विशेष साधनापछि रथवरपर भात छरिन्छ, शुद्धीकरणका लागि । त्यसरी रथलाई बीचमा राखेर वरपर भात अर्थात् ‘जा’ छरी ह्वलेगु अनुष्ठान गरिने विशेष चउर भएकैले त्यस स्थान जाह्वलाख्यः – जाउलाखेल (भात छरिने खेल) को रूपमा चिनियो । त्यस्तै नेपालमण्डलको आफ्नै पृथक् पहिचान हो– कुमार–कुमारी पूजा । प्रत्येक वर्ष बनेपामा हजारौंका संख्यामा बालबालिका यसरी नै पुजिन्छन् । घोडेजात्राका दिनमा उपत्यकाका विभिन्न पीठहरूमा पनि यसखाले पूजा सम्पन्न गरिन्छ, जसलाई मह्रःजा खुवाउने अर्थमा लिइन्छ । उल्लेख्य कुरा त्यस अवसरमा पनि कुमार–कुमारी पुजिने मुख्य सामग्री भातकै हुन्छ ।

यसरी भातलाई खाद्य सामग्रीभन्दा पनि विधिविधानका लागि एक पवित्र पदार्थको हैसियतमा गरिँदै आएको प्रयोग सारमा जीवन र जगत्सम्बन्धी रैथानेमा रहेको गाम्भीर्य चिन्तनको सूचक हो । धानबाली तथा धान्य प्रधान विविध सामग्रीको प्रयोगमा अन्यत्रको चलनचल्तीका थुप्रै दृष्टान्त होलान्, तर खाद्यान्नको परिधिमा मात्रै परिसिमन नरही यसलाई संस्कार, संस्कृति, रीति, परम्परा र आस्थाको स्तरसम्म प्रयोजन विस्तारित गर्नु नेपालमण्डलमा विकसित सभ्यताकै द्योतक मान्न सकिन्छ ।

प्रकाशित : पुस ७, २०८० ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?