१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सूर्यास्तमा बसयात्रा 

भूपिन

बसयात्रामा छु 

र, निर्मिमेष हेरिरहेछु रापतीमा अस्ताइरहेको रक्तिम घाम 

सूर्यास्तमा बसयात्रा 

सोच्दैसोच्दै कि

दिनभरि त

आँखै खानेगरी चम्किलो थियो, हेर्न सकिन ।

सडकमा कुदेझैँ बस

जिज्ञासाको बस कुद्छ मनको लचकदार सडकमा

‘हरेक कुरा

जवान भएको बेला सुन्दर देखिने संसारमा

घाम किन कमजोर भएको बेला मात्र सुन्दर देखिन्छ ?’


कतै मनको ब्रम्हाण्डबाट आउँछ एक आवाज–

‘किनकि घामलाई थाहा छ

दिनभरि पनि उदय र अस्तमा झैँ सुन्दर भएर बसिरह्यो भने

मानिसहरु उसलाई नै हेरेर लठ्ठिइरहने छन्

र, धरती भोकमरीले मर्ने छ ।’


लामो समय विचारशून्य यात्रा गर्नु सम्भव छैन बसयात्रामा

किनकि विचार सबैभन्दा बढी कुद्छ गतिशिलतामै ।

अचानक आकाशवाणीजस्तो अर्को आवाज फैलिन्छ हृदयाकाशमा–

‘मृत्यु सुन्दर हुन्छ

अस्ताउँदै गरेको यही घामजस्तै ।’


मलाई सताउन थाल्छ मृत्युको तलतलले

म पनि त यही घामजस्तै अस्ताउनु छ कुनैदिन÷कुनैक्षण...

सोच्छु–

पृथ्वीका लागि घट्नेछु एक भार जिन्दगी

त्याग्नेछु एक लत जिन्दगी...!


‘जीवनलाई प्रेम दिँदादिँदै

बारम्बार धोका दिनु जीवनको कुन विधानमा कोरिएको छ ?

प्रेमलाई जीवन दिँदादिँदै

छल गरिरहनु प्रेमको कुन दर्शनशास्त्रमा लेखिएको छ ?’


सोचको झ्यालमा हल्लेझैँ आफ्नै मृत्युको रिल

बसको शीशा झ्यालमा हल्लिरहन्छ–

रापतीमा अस्ताइरहेको साँझको रक्तकोष घाम,

किरणहरुले टिलपिल टिलपिल

पानीमा बनाईरहेको सुनौलो पेन्टिङ...

मुस्कुराउँदै सोच्छु–

आह ! मेरो मृत्यु यही घामजस्तै सुन्दर होस्... ।


(चुपचाप आउँछिन् एक युवती र बस्छिन् मेरो छेउमा !

के अनौठो भयो र ?

खाली सिटमा त जो पनि बस्न सक्छन् यी युवतीझैँ ।)


कल्पना गर्छु,

कि मेरो मृत्यु पनि

यही पेन्टर घामले

आकाशको शून्य फ्रेस्कोमा

सुनौलो रङ्ग पोतेर बनाएको सुन्दर स्ट्रोकजस्तो होस् ।

रापतीको यही अद्भूत पेन्टिङजस्तो होस् !


(छटपटिएको छु म, केवल एक मृत्युचुम्बनका लागि

तर, मेरो बगलमा बसिरहेकी युवती

किन यसरी बेचैन छिन् मेरो सोचमा बाधा बनेर ?)


बसको खुल्ला ढोकामा देखिन्छन्–

घामका तीन चार प्रतिच्छायाहरु छटपटाइरहेका,

तर, आकाशमा डुब्न लागिरहेको घाम त एउटै छ

र, मेरो मृत्यु पनि एउटै हुनेछ ।

जसरी अटल छ घाम

मेरो मृत्यु पनि

अस्ताइरहेको यही घामजस्तै अटल होस् !


सोचको एक कोमल झोक्काले छुन्छ मेरो हृदय–

कि बसको शिशामा हल्लिरहेको घामको कुनै एक प्रतिबिम्ब न हुँ म पनि

समयको पहरामा ठोक्किएको जीवनको कुनै प्रतिध्वनि न हुँ म पनि

कहिले कसैको मनको घुम्तीमा देखिन्छु

र कोही कसैको मनको घुम्तीमा बिलाएर जान्छु...

हेर्न चाहे दुश्मनका लागि समेत देखिन्छु

हेर्न नचाहे प्रेमको घुम्तीमा पनि छेकिन्छु...!


लामोलामो सास तान्छु र कामना गर्छु–

मृत्युको बेला बिल्कुल एक्लो भेटियूँ कुनै निर्जन जङ्गलमा

वा कुनै सुनसान नदी बगरमा

वा एक्लो यस्तै कुनै बस यात्रामा

वा हुँ बिल्कुल एक्लो...हिँडिरहेको बात मार्दै पहाडसँग÷हिमालसँग

मेरो अन्तको साक्षी केवल यही अस्ताउँदो घाम होस्...!


आफ्नै मृत्युबारे सोच्नु सबैभन्दा सुन्दर कुरा हो...!

झ्यालबाट देख्छु–

रापतीमा कमजोर हुँदै गएको किरणहरुको टिलपिल टिलपिल...

अब केही समयपछि

घाम ओर्लिने पहाडको माछीकाँडे स्टेसन आउने छ

त्यसपछि आउनेछ दुम्सीजस्तो

म ओर्लिने मानिसकाँडे बस स्टेसन ।


(बढिरहेछ बगलकी युवतीको छटपटीको तीव्रता

मानौँ खसेकी छिन् उनी कुनै गहिरो पीडाको गल्छीमा...

जसरी खसेको छु म– दुःखको गहिरो खोंचमा

र, फगत मृत्युको कामना गरिरहेछु !)


मृत्युको रहरशास्त्रका हरफहरु केहीबेर फ्रिज हुन्छन्÷ब्लर हुन्छन्

म सोध्छु युवतीलाई–

‘युवती, तिमी किन छटपटाइरहेकी छौ यसरी ?

म के मद्दत गर्न सक्छु तिमीलाई ?’


युवतीसँग कुनै जवाफ छैन सिवाय ‘ऐया ऐया !’

डन्डी समाएर उभिएका युवक बोल्छन्–

‘सर, उनी मेरी श्रीमती÷च्यापेको छ सुत्केरी बेथाले !’


मलाई जब्बर झड्का लाग्छ

जुरूक्क उठ्छु सिटबाट चट्याङ गतिमा

र, सम्हालिएर युवकलाई मेरो सिटमा बस्न निम्तो गर्छु

मलाई यति त होस् छ–

कि दुःखहरुलाई झेल्न

मानिसलाई मायालुको अडेसा धेरै जरूरी हुन्छ ।

बसको डन्डीमा झुन्डिँदै

म भर्खरै बितेकी आमालाई झल्झली सम्झिन्छु

सम्झिन्छु–

यस्तै वेदनापछि मेरी आमाले मलाई जन्माएकी थिइन् ।


आफैंप्रति खेद प्रकट गर्छु

कि बगलकै मानिसको दुःखप्रति बेखबर भएर

कसरी अहिलेसम्म म

आफ्नै मृत्युको आनन्ददायक कल्पनामा मग्न भएँ ?

लाजले खुम्चिँदै उभिन्छु

र, पहिलोपटक हेर्छु युवतीको उक्सिएको पेट

जुन रापतीको अस्ताचल घामभन्दा धेरै ठूलो थियो

र, थियो उत्तिकै सुन्दर...!


मनमनै कामना गर्छु सहज प्रसूतिको ।

ओहो ! मानिसका प्रथम चीत्कारहरुले भरिएको कुनै प्रसूति वार्डमा

केही समयपछि

अस्ताचल घामजस्तै सुन्दर

एक नयाँ घामको जन्म हुनेछ ।


मायादेवीको कोखबाट सिद्धार्थको जन्म भएझैँ...!

मरियमको कोखबाट येशुको जन्म भएझैँ...!


यो कस्तो जीवन लीला !

यहाँ कोही जन्माउनका लागि छटपटाइरहेछन्

र कोही मर्न !

यहाँ कोही उदाउनका लागि छटपटाइरहेछन्

र कोही अस्ताउन !


’मेरो मृत्यु

कहालीलाग्दो पहराबाट हाम फालिरहेको बर्खे झरनाजस्तो

बिल्कुल नहोस्,

जसलाई हेर्न, फोटो खिच्न

पर्यटकहरुको भीड लागोस्

मेरो मृत्यु

फूलको पत्रबाट खसेको हलुका शीतजस्तो होस् !’

युवतीलाई हेर्छु र कामना गर्छु÷कामना गर्छु र युवतीलाई हेर्छु

बेथाले छटपटाइरहेकी उनको कोखबाट हुने जन्म पनि

दुबोमा खसेको शीतजस्तै हलुका होस्...।


मृत्यु सुन्दर हुन्छ

अस्ताउँदै गरेको घामजस्तै...!

जीवन झनै सुन्दर हुन्छ

उदाउँदै गरेको घामजस्तै...!

प्रकाशित : फाल्गुन १२, २०८० १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?