कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

एक्लो हुनुको शक्ति

घनश्याम खड्का

दीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात् अलग्याइए । सबैभन्दा ठूलो त, सइदाबाट उनको स्वतन्त्रता हटाउन खोजियो ।

एक्लो हुनुको शक्ति

धेरै पटकको जेल, अतिवादी धार्मिक नेताहरूबाट भएको दर्जनौं पटकको आक्रमण अनि सामाजिक सञ्जालमा दुराशययुक्त चित्तले फैलाइएका उनीविरुद्धका अफवाहले सइदालाई सधैँ घेरिरहे । अनि आफन्त, शुभेच्छुक र परिवारजनले सोधी नै रहे, ‘यत्रो खतरा मोलेर आखिर किन लड्नुपर्‍यो धर्म निरपेक्षताका लागि, किन ?’

कट्टरवादले घेरिएर आफैंलाई दाउमा राखेर एक्लै भिडिरहेकी सइदालाई भेटेपछि मैले पनि यही प्रश्न गरेँ, ‘आखिर त्यस्तो के कारण छ, जसले उनलाई यति एकोहोरो र एक्लो हुने गरी आन्दोलित पारिरहेको छ ?’ काठमान्डुमा यसै साता सम्पन्न विश्व सामाजिक मञ्चमा ‘अर्को विश्व सम्भव छ’ भन्न आएकी सइदाले उत्तर दिनुअघि हुस्सु फाटेर भर्खर लागेको पारिलो घामतिर पुलुक्क हेरिन् । भृकृटीमण्डपमा संसारैभरिबाट आएका अनेक मानिसमाझ पर्श्वगीत झैं एकनाशले आइरहेको कल्याङमल्याङ आवाजबीच एक दीर्घ सास लिइन् अनि एउटा संछिप्त मौनता निम्त्याउँदै आँखा चिम्लिन् । ‘मसँग यसको जवाफ स्पष्ट र एउटै छ,’ दृढ निश्चय ध्वनित हुने उनको आवाजमा एउटा सरल प्रतिज्ञा थियो, ‘म सत्य र न्यायका लागि लड्छु, चाहे एक्लै हुन परे पनि र मारिनै परे पनि ।’

धर्मनिरपेक्षता केवल एक शब्द नभई कसरी यो आमरूपले शान्त जीवनको आधारशिला हो ? र, कसरी यसमा महिला मुक्तीको कुञ्जी छ ? भन्ने आफ्नो तर्क पुष्टि गर्न सइदाले लामो संवाद गरिन्, उत्कण्ठाका साथ ।

‘धार्मिक राज्यले वैयक्तिक स्वतन्त्रताको हत्या गर्छ भन्ने त जोकोहीले पनि सजिलै बुझ्न सक्छ,’ पाकिस्तान राजनीतिदेखि अर्थतन्त्र र लैंगिक सम्बन्धसम्म इस्लामले तय गरेको लामो पृष्ठभूमि बताइसकेपछि सइदाले प्रश्नजनित उत्तर फिराइन्, ‘जहाँ वैयक्तिक स्वतन्त्रता हुँदैन, त्यहाँ हिंसा अनिवार्य रूपले उपस्थित हुन्छ । किनभने स्वतन्त्रताको गला निमोठ्ने हिंसा नै अविकल्प बाटो हो ।’

यौन र प्रेमझैं धर्म पनि नितान्त निजी मामिला भएकाले यसको सार्वजनिक प्रदर्शन गर्नु हुँदैन भन्ने बुझाइ भएको समाजमा मात्रै धार्मिक कट्टरताको अन्त्य हुने र त्यसका कारण जन्मिने हिंसाको पनि नाश हुने आफ्नो विश्वासमा अरुको पनि विश्वास मिलाउन सइदाले हजार तरिकाबाट हजारौंपटक पाकिस्तानका सडकमा जुलुस निकालिन्, बस्ती–बस्ती पुगेर गोष्ठिहरू गरिन् र घरघर पुगेर मानिसलाई झक्झक्याइन् । दस वर्ष अमेरिकाको बसाइपछि सन् ९० को दशकमा पाकिस्तान फर्किँदा सइदाले एक खुला समाज र बन्द समाजको तुलनात्मक भिन्नता देखेपछि कट्टरता अनि त्यससँग छायाँझैं जोडिएर आउने हिंसाको दिगो समाधान धर्मनिरपेक्ष राज्य नै हो भन्ने निश्चय गरेकी रहिछन्् । व्यक्तिगत कामनाका सबै सपना थाती राखेर आफ्नो पूरा जवानी अनि जाँगरलाई उनले धर्मनिरपेक्ष राज्यको स्थापनाका लागि लगाउने निर्णय गरिन् र अभियान छेडिन् । यति पुनित काम गरेबापत सइदाको वाहवाही हुनुपर्ने हो । तर, धार्मिक कट्टरताले भरिएको समाजमा उल्टै उनको उछितो काढ्ने काम भयो ।

‘धार्मिक गुरुहरू आए र ममाथि हमला गरे,’ सइदाले आफूविरुद्ध भएको ज्यादतीको फेहरिस्त सुनाइन्, ‘तिनले कति पटक बीच सडकमा लछारपछार गरे, कति पटक मलाई भरि बजारमा निर्वस्त्र पार्न खोजे र कति पटक पुलिस लगाएर जेल कोचे त्यसको हिसाबै छैन ।’

जति नै ज्यादती भए पनि सइदाको इरादा डगमगाएन । जन्मेपछि मर्नु त यसै पनि छ, त्यसै पनि छ– किन सत्यको बाटोमा नहिँड्ने भन्ने भावले उनलाई झुक्न दिएन । एक्लै हिँडेर ज्यादा फरक पार्न सकिन्न भनेर उनले एउटा संस्था खोलिन्– ‘इन्स्टिट्युट फर पिस एन्ड सेकुलर स्टडिज’ अनि केही युवा जम्मा गरिन् । यो थियो सन् १९९५ को कुरा । त्यसपछि उनका विरोधीलाई के चाहियो र ? समाज भाँडेको र विश्वास खलबल्याएको भन्दै दर्जनौं मुद्दा साइदाविरुद्ध दायर भए । एक्लै सइदालाई कोर्ट, कचहरी र चौकी धाउन बाध्य पारेर हत्तुहैरान खेलाउने कट्टरतावादीको कृत्यलाई उनले कत्ति पनि नडगमगाई सामना गरिन् । सइदाको अभियान त रोकिएन, बरु उल्टै अन्तर्राष्ट्रिय मिडियामा उनको कभरेज बढ्यो । हेर्दाहेर्दै, सइदाको ख्यातिले पाकिस्तानको सिमाना नाघ्यो । अरू त अरू, भारतीय अखबारले पनि उनको पक्षमा लेख्न थाले ।

एक्लै उभिए पनि सइदाको आवाज र काम विश्वभर फैलियो । यो सबै देखेपछि उनलाई एक्लो हुनुमा झन् शक्ति रहेछ भन्ने लाग्नुमा अन्यथा कसरी भन्ने ?

अन्यायविरुद्ध बोल्दा एक्लो हुनाले मिलेको यही शक्तिले सइदालाई विश्वभरको मञ्च दिलाएको छ । दक्षिण एसियाका मानवअधिकारवादी र पत्रकारको सञ्जाल नै खडा गरेर सइदा कट्टरतालाई यस क्षेत्रबाट लखेट्न अन्य देशका लेखक, पत्रकार र अभियन्तासँग पनि सम्पर्क बढाउँदै छिन् । यही उपक्रममा उनी १० वर्षअघि काठमाडौं आएकी रहिछन्, पहिलो पटक ।

‘त्यसबेला काठमाडौंबाट पाकिस्तानमा सिधा उडान थियो र जम्मा ९० मिनेटमा म यहाँ आएकी थिएँ,’ सइदाले दशक पुरानो सम्झना सुमसुम्याइन्, ‘मलाई काठमाडौं आएपछि कुनै दिन रेलै चढेर भारत हुँदै इस्लामावाद पुगिनेछ भन्ने लागेको थियो ।’ भूमण्डलीकरणको प्रभावले दक्षिण एसियाली देशको आपसी सम्बन्ध र कटेक्टिभिटी बढ्ने स्वभाविक आकलनका साथ सइदाले त्यस्तो अपेक्षा गरेकी थिइन् । तर, त्यस्तो हुन पाएन । रेल र सडकले जोडिनु त परै जाओस्, भइरहेको दुई देशबीचको सिधा उडान पनि अहिले छैन । त्यसैले, यसपालि पहिलेको ९० मिनेटको उडानबाट आइपुग्ने काठमाडौंमा पाइला टेक्न दुबई हुँदै सात घण्टाको हवाई यात्रा तय गरी हजार डलर खर्चनुपर्‍यो ।

आउजाउमा सहजता बढ्दै जानुपर्ने ठाउँमा उल्टो जटिलता थपिन पुगेको मामिलालाई सइदा पाकिस्तानमा उल्टै बढिरहेको कट्टरतासँग जोडेर हेर्छिन् । पढेलेखेको नयाँ पुस्ता स्वाभाविक रूपले कट्टरताको विरोधमा उभिनुपर्ने हो । त्यसमाथि, तीन दशकदेखिको सइदाको प्रयासले इस्लामावादको हावामा केही बदलाव ल्याउनुपर्ने हो । तर, उल्टै युवाहरू नै धार्मिक रूपले कट्टर भएर उघ्र हिंसामा उत्रिन तत्पर छन् । ‘यो सब सामाजिक सञ्जालको दुरुपयोगले गर्दा हो भन्ने म ठान्छु,’ सइदाले पुर्पुरोमा हात राखिन्, ‘निहित स्वार्थ भएको समूहले सामाजिक सञ्जालमा भ्रामक सूचना आकर्षक र उत्तेजक ढंगले प्रसार गरिरहेका छन् र त्यसले युवाहरूको ब्रेनवास गरिरहेको छ । यो त बर्बादीपूर्ण अवस्था हो ।’

मिथ्या सूचनाको बाढीले असल मानिस ओझेलमा पर्ने र खराबहरू सत्तासीन हुने अवस्था आइलागेको उनले आफ्नै आँखाले देखिन् । जस्तो कि, अभूतपूर्व चुनावी जित हासिल गरी प्रधानमन्त्री हुन पुगेका पूर्वक्रिकेटर इमरान खान जोस–जाँगर भएको सुधारवादी नेता भन्ने पूरै विश्वलाई परेको छ । ‘तर, इमरान त स्त्रीद्वेषी, ऐयासी र धार्मिक कट्टरताले भरिएका मानिस हुन्, जो अरू देशका मानिसलाई त परै जाओस्, पाकिस्तानकै लाखौं युवालाई थाहै छैन,’ सइदाका आँखा आश्चर्य र हैरानीले एकसाथ तिलमिलाए, ‘किनभने, इमरानले ठूलो धनराशी खर्चेर आफ्नो छवि राम्रो हो भन्ने पार्न मिथ्या सूचना फैलाउन दक्ष ठूलो समूहलाई स्थायी रुपले परिचालन गरिरहेका छन् ।’

सत्तामा पुगेको साढे तीन वर्षमै देशलाई वैदेशिक ऋणको ठूलो भारी बोकाएका इमरानको शासनकालमा पाकिस्तान यति आर्थिक संकुचनमा पुग्यो कि लाखौं मानिस भोकमरीमा पर्ने खतराबाट गुर्ज्रन बाध्य छन् । शान्ति कि भोजन भनेर रोज्न लगाए पाकिस्तानमा भोजन भनेर मत खसाल्नेको संख्या अत्यधिक हुन पुगेको सइदालाई लाग्छ । इमरानबाट पार नलाग्ने देखेपछि उनलाई सत्तामा चढ्ने बेला धाम मारेको सैन्य नेतृत्वले नै भ्रष्टाचारको अभियोग लगाएर जेल हाल्यो । जेलैबाट चुनावी नेतृत्व गरेका इमरानको दल पिटिआईले चुनावमा भारी मत ल्यायो । तर, उनी फेरि सत्तामा आए झनै गडबड हुने आकलन गरेर देशको असली ‘किङ मेकर’ पाकिस्तानी सेनाले परिणाम फेरबदल गरेको दाबी उनका समर्थकले गरिरहेका छन् । विश्व सामाजिक मञ्चमा बोलिसकेपछि फर्कने बेला पाकिस्तानमा के भइरहेको होला भन्ने दुविधापूर्ण प्रश्नले सइदालाई अत्याइरहेको थियो ।

पाकिस्तानमा चार प्रतिशतको हाराहारीमा भएका अल्पसंख्यक सुमदाय हिन्दु, शिख, इसाइ र अन्य धर्मावलम्बीका लागि लडिरहेकी सइदा नेपालको संवैधानिक व्यवस्थाकी प्रशंसक रहिछन् । ‘हेर्नुस्, तपाईंको देशमा धर्म निरपेक्षता छ, यो कति ठूलो उपलब्धि हो हामी नभएकाहरूलाई बढी थाहा छ,’ सइदा भन्छिन्, ‘यो जोगाइराख्नुस् है !’ भारतमा नरेन्द्र मोदीले हिन्दुत्वको राजनीतिलाई चर्को पारेपछि पाकिस्तानमा इस्लामिक कट्टरता झनै बढ्ने आकलनले सइदाको अनुहार मलिन छ । पूरा दक्षिण एसियामै मोदीको अतिवादी राजनीतिले कट्टरता बढाउला कि भन्ने डरसमेत उनलाई रहेछ ।

‘दक्षिण एसियामा आज नेपाल मात्रै एउटा यस्तो देश छ, जहाँ अन्यत्रको अपेक्षा धर्म निरपेक्षता र मानवअधिकारको कुरा गर्दा सास दबाउनुपर्दैन,’ बिदाइको हात हल्लाउनुअघि सइदाले प्रार्थनावत् हात जोडिन्, ‘भारत र पाकिस्तानको कट्टरतावादी आँधीले यहाँको दियो ननिभोस्, बरु यो प्रदीप्त बनेर हाम्रो अँध्यारोलाई जितोस् ।’ सइदा त फर्केर पाकिस्तान पुगिसकिन्, तर उनले जानुअघि फुसफुसाएको यो मन्त्रवत् ध्वनि मेरा कानमा अझै गुनगुनाइरहेकै छन् ।

प्रकाशित : फाल्गुन १२, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×